
सल्यान : कृषि विकास कार्यालय सल्यानले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका कार्यक्रमको प्रगति समीक्षा तथा तथ्यांक भ्यालिडेसन गोष्ठी स्थानीय तहका सरोकारवालाको सहभागितामा बुधबार कार्यालयको सभाहलमा सम्पन्न भएको छ ।
गोष्ठीमा कार्यालयले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै जिल्लाको कृषि क्षेत्रको उपलब्धि, चुनौती र आगामी प्राथमिकताबारे छलफल गरेको हो ।
कार्यक्रममा कृषि विकास कार्यालयका प्रमुख महेश आचार्यले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै कार्यालयले ७७.८८ प्रतिशत वित्तीय तथा ९९.७३ प्रतिशत भौतिक प्रगति हासिल गरेको जानकारी दिए । उनका अनुसार १२ करोड ४० लाख ८८ हजार विनियोजित बजेटमध्ये ९ करोड ६६ लाख ४४ हजार ८ सय रुपैयाँ खर्च भएको छ ।
तथ्यांकअनुसार चालु आर्थिक वर्षमा सल्यानबाट तरकारी, सुन्तला, अदुवा, आलु, महलगायत कृषि उपज गरी रु. १ अर्ब ६३ करोड ३६ लाख १६ हजार बराबरका उत्पादन दाङ, नेपालगञ्ज, सुर्खेत, पोखरा र काठमाडौंलगायतका बजारमा निर्यात भएका छन् ।
गत आर्थिक वर्षको तुलनामा निर्यात रकम ५६ लाख ४८ हजार ८ सय ८८ ले घटे पनि निर्यातको परिमाण भने १ हजार ६ सय ३९ मेट्रिक टनले वृद्धि भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
गोष्ठीमै उत्कृष्ट कृषि उद्यम सञ्चालन गर्ने कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार प्रदान गरिएको थियो। बागचौर नगरपालिका–७ का तारादेव वली प्रथम, सोही वडाका शोभाराम वली द्वितीय तथा त्रिवेणी गाउँपालिका–४ का पोषणराज रावत तृतीय घोषित भएका हुन् । तारादेव वलीले अदुवा खेती र ब्रोइलर कुखुरापालनबाट वार्षिक करिब ८० लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् भने शोभाराम वलीले नर्सरी तथा फलफूल खेतीबाट करिब ३४ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।
पोषणराज रावत व्यावसायिक तरकारी खेती र कुखुरापालनमार्फत जिल्लामा उदाहरणीय कृषकका रूपमा परिचित छन्। कार्यालयका अनुसार सुन्तलाजात बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रमअन्तर्गत ६१ हेक्टर क्षेत्रमा विस्तार गरिएको छ ।
साना सिँचाइ कार्यक्रममार्फत १३७ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइएको छ भने २३ वटा सिँचाइ कुलो निर्माण सम्पन्न भएका छन् ।
किवी, स्याउ–ओखर बगैंचा स्थापना, कृषि यान्त्रिकीकरण, सिताके च्याउ उत्पादन प्रदर्शन तथा नर्सरी स्रोत केन्द्र स्थापना लगायतका कार्यक्रम पनि सञ्चालन गरिएको कार्यालयले जनाएको छ । यद्यपि, सहकारीमार्फत ब्याज अनुदान तथा स्रोत बीउ उत्पादक सहयोगजस्ता केही कार्यक्रम कृषकबाट अपेक्षित आवेदन नआएका कारण कार्यान्वयन हुन नसकेको कार्यालयले जनाएको छ । गोष्ठीमा सहभागी स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाले प्रस्तुत तथ्यांकको भ्यालिडेसन गर्दै आगामी वर्ष कृषकको सहभागिता बढाउने, उत्पादनलाई बजारसँग जोड्ने र प्रभावकारी कार्यक्रम सञ्चालनमा जोड दिएका थिए ।