
काठमाडौं : आर्थिक वर्ष २०८२-८३ मा ७ लाख ९२ हजार १ सय ८७ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को तुलनामा गत आर्थिक वर्ष वैदेशिक रोजगारीमा जानेको संख्यामा ४७ हजारले कमी आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा वैदेशिक रोजगारीमा जान विभागबाट ८ लाख ३९ हजार २ सय ७० जनाले श्रम स्वीकृति लिएका थिए । प्रतिशतका हिसाबले अघिल्लो वर्षको तुलनामा गत वर्ष वैदेशिक रोजगारीमा जानेको संख्या ५.६० प्रतिशतले घटेको छ ।
विभागको तथ्यांकअनुसार संस्थागत अर्थात् म्यानपावर कम्पनीमार्फत जाने कामदारको संख्यामा अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८२÷८३ मा २५ प्रतिशतभन्दा बढीले गिरावट देखिएको छ । अघिल्लो आर्थिक वर्ष ३ लाख ५९ हजार ६ सय ७५ जना गएकोमा गत वर्ष २ लाख ६८ हजार ९ सय ९० जना गएका छन् । उक्त संख्या संख्यात्मक रूपमा ९० हजार ६ सय ८५ र प्रतिशतका हिसाबले २५.२१ प्रतिशतले कम हो ।
गत आर्थिक वर्ष व्यक्तिगत नयाँ प्रक्रियामार्फत १ लाख २८ हजार ५ सय २० जना, रिइन्ट्रीमार्फत ३ लाख ८५ हजार ७ सय ८३ जना, जिटुजीमार्फत ८ हजार १ सय ९७ जना र वैधानीकीकरणका माध्यमबाट ६ सय ९७ जना गएका छन् । सबै प्रक्रियाअन्तर्गत प्रतिदिन औसतमा २ हजार १ सय ७१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।
विभागको तथ्यांकअनुसार गत वर्ष १ हजार ९ वटा म्यानपावर कम्पनीले कम्तीमा एक जनादेखि अधिकतम ४ हजार ७ सय ८२ जनासम्म कामदार पठाएका छन् । संस्थागत रूपमा १९ मुलुकमा मात्रै कामदार गएका छन् । त्यसमध्ये युएईमा ७१ हजार १ सय ५६ जना, मलेसियामा ६७ हजार २ सय १० जना, साउदी अरबमा ४९ हजार ८ सय १५ जना, कतारमा ३१ हजार ५४ जना, कुवेतमा २२ हजार ६ सय २७ जना, साइप्रसमा ८ हजार १ सय ९६ जना, ओमानमा ६ हजार ९ सय ३४ जना, बहराइनमा ४ हजार ३ सय ४१ जना, मौरिससमा २ हजार ५ सय ८४ जना, जोर्डनमा २ हजार ५ सय ४५ जना, जापानमा २ हजार २ सय जना, हङकङमा ९ जना, संयुक्त अधिराज्य (बेलायत)मा १५ जना, मकाउमा २५ जना, मंगोलियामा ५८ जना, माल्दिभ्समा ८३ जना र अल्जेरियामा ९८ जना गएका छन् ।