
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह बालेनले असार २५ गते नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग सिंहदरबारमा छलफल गरे । उक्त भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई बोलाएनन् । बरु व्यवसायीसमेत रहेकी सांसद विदुषी राणालाई छलफलमा सँगै राखे ।
झन्डै दुईतिहाइ बहुमतको सरकार बने पनि निजी क्षेत्र उत्साहित नभएपछि प्रधानमन्त्री शाह शृंखलाबद्ध भेटघाटमा व्यस्त छन् । उद्योगी व्यवसायीसँग छलफल गरेपछि उनले असार २६मा निर्माण व्यवसायीसँग भेट गरे । लगत्तै, ऊर्जा क्षेत्रका प्रतिनिधि व्यवसायी, स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान)का अध्यक्षसहित पदाधिकारीलाई बोलाए । तर, यी कुनै पनि भेटघाटमा अर्थमन्त्री वाग्लेलाई राखेनन् । यसले प्रधानमन्त्री र अर्थमन्त्रीबीच दूरी बढेको संकेत गरेको छ ।
प्रधानमन्त्री शाहको यो शैली अर्थमन्त्री वाग्लेलाई चित्त बुझेको छैन । उनले पार्टी सभापति रवि लामिछानेलाई पनि यसबारे गुनासो गरिसकेका छन् । २८ असारमा बुढानीलकण्ठस्थित आफ्नै निवासमा आएका शाहसँग सभापति लामिछानेले यसबारे सोधेका थिए । रास्वपा स्रोतका अनुसार, शाहले उल्टै पर्फमेन्स देखाउन नसकेका केही मन्त्रीहरू हटाउनुपर्ने प्रस्ताव गरेका थिए । त्यसरी हटाउन चाहेका मन्त्रीहरूमा अर्थमन्त्री डा.वाग्लेको पनि नाम सुनेपछि लामिछानेले उक्त प्रस्ताव अस्वीकार गरे । उल्टै, उनले प्रधानमन्त्रीको सचिवालयका केही सदस्य हटाउन सुझाव दिए ।
व्यवसायी पृष्ठभूमिबाट आएकी सांसद विदुषी राणलाई व्यवसायीसँगको भेटमा सँगै राखेर प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई तर्साउन खोजेको चर्चा रास्वपाभित्रै छ । सांसद राणाले प्रधानमन्त्रीसँगको निजीक्षेत्रको भेट निकै फलदायी भएको र प्रधानमन्त्रीसँगको छलफलले उद्योगी व्यवसायी उत्साहित भएको बताएकी थिइन् ।
अर्थमन्त्री वाग्लेसँग प्रधानमन्त्री बालेनले कुरा नमिलेको सुरुकै दिनदेखि हो । सरकार गठनलगत्तै उनले वाग्लेको पहिलो विदेश भ्रमण नै रोकिदिएका थिए । अमेरिकाको वासिङ्टन डिसीमा भएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को स्प्रिङ मिटिङमा मन्त्रीस्तरीय सहभागितासम्बन्धी अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्रीले स्वीकृत गरिदिएनन् । त्यतिबेला बजेट निर्माणमा व्यस्त हुनुपर्ने भन्दै भ्रमण रोकिदिएका थिए । अर्थमन्त्रीको सट्टामा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मालाई अमेरिका पठाइएको थियो । यो प्रकरणले अर्थ मन्त्रालयमा प्रधानमन्त्रीको हस्तक्षेप बुझिनेगरी देखिएको थियो ।
बितेका साढे तीन महिनामा बालेन–स्वर्णिम सम्बन्ध हार्दिक नरहेको सिंहदरबारस्रोत बताउँछ । बालेनले दोस्रो वरीयताका अर्थमन्त्री वाग्लेसँग खासै संवाद गर्ने गरेका छैनन् । बजेट निर्माणदेखि नै उनीहरूको सम्बन्ध चिसिएको स्रोत बताउँछ । प्रधानमन्त्री बालेन धराशायी भएका सरकारी उद्योगहरूलाई नेपाली सेनाको मातहतमा राखेर सञ्चालन गर्ने सोचमा थिए । अर्थमन्त्री वाग्लेले त्यसमा पर्याप्त ध्यान दिएनन् । प्रधानमन्त्री र अर्थमन्त्रीबीच अर्थनीतिमै मतभेद भएपछि सम्बन्ध चिसिएको छ । त्यसैबीच प्रधानमन्त्रीको कार्यालयले बजेटको पूर्वसन्ध्यामा कोरोला नाकाबाट भित्र्याइएका ७७२ बिवाइडी गाडी रोकिदियो । त्यसले प्रधानमन्त्री कार्यालय र अर्थमन्त्री वाग्लेबीचको विवाद सतहमै ल्यायो ।
बजेट भाषणपछि करका दर हेरफेर हुनेगरी अर्थमन्त्री वाग्लेले संशोधन गरेको भन्दै संसद् र सडकमा विपक्षीले आरोप लगाएपछि प्रधानमन्त्री बालेन उनीप्रति नकारात्मक भए । सो विवादमा प्रधानमन्त्रीसँग सम्बन्ध बिग्रिएकै कारण अर्थमन्त्री वाग्लेले संसदीय समिति, संसद् र सार्वजनिक रूपमै मिडिया एवं विपक्षीमाथि अस्वाभाविक आक्रोश पोखेका थिए । करको दर चुहाएर पहिल्यै गाडी भित्र्याएको र बजेट संशोधन गरेर अर्थ मन्त्रालयबाट कमजोरी भएको प्रधानमन्त्री कार्यालयको दाबीले वाग्ले निरास भए । अर्थमन्त्रीले अर्थतन्त्रमा उत्साह ल्याउन र व्यवसायीलाई आश्वस्त पार्न नसक्दा नयाँ सरकार आए पनि निजी क्षेत्रले लगानी गर्न हिच्किचाएको प्रधानमन्त्री बालेनको बुझाइ छ । विगतमा नयाँ सरकार र निजी क्षेत्रले पत्याएको अर्थमन्त्री आउँदा सेयर बजारले स्वागत गथ्र्यो । यसपटक तीन महिनासम्म सेयरबजार निरन्तर ओरालो यात्रामा छ । यसले पनि प्रधानमन्त्री बालेनलाई बिच्काएको छ । विगतको पपुलर छवि कायम राख्नुपर्नेमा अर्थमन्त्री उल्टै विवादमा तानिएपछि उनले वाग्लेको कार्यसम्पादनमाथि गम्भीर प्रश्न उठाउँदै मन्त्री फेर्न सभापति लामिछानेसँग सहमति खोजेका थिए । तीन महिनामै अर्थमन्त्री हटाउँदा राजनीतिक रूपमा नकारात्मक सन्देश जाने भन्दै लामिछानेले रोकेका थिए ।
सरकारभित्रै कार्यशैली र समन्वयका विषयमा असन्तुष्टि बढेपछि रास्वपाको शीर्ष तहसम्म पुगेको यो प्रकरणबारे रास्वपाका नेताहरूले औपचारिक रूपमा बोल्न सकेका छैनन् । यद्यपि उनीहरूले अनौपचारिक रूपमा भने प्रधानमन्त्रीकै कार्यशैलीबाट पार्टी र सरकारमाथि केही समस्या आएको बताए । रास्वपाका एक पदाधिकारीले भने, ‘डा.वाग्लेले अर्थमन्त्री चलाउने नसक्ने भए के विदुषी राणाले चलाउन सक्लिन त ?’ उनको यो प्रश्नले पनि प्रधानमन्त्री शाहले विदुषीलाई अर्थमन्त्रीका रूपमा भित्र्याउन चालेको संकेत गर्दछ ।
अर्थमन्त्री वाग्लेले भने आफूलाई अनावश्यक रूपमा विवादमा तानिएको गुनासो पार्टी सभापति लामिछानेसँग राखेका छन् । वाग्लेले बजेटसँग सम्बन्धित केही प्राविधिक विषयलाई स्वाभाविक र कानुनी प्रक्रियाबाट समाधान गर्न सकिने अवस्थामा प्रधानमन्त्रीनिकट केही व्यक्तिले आफूलाई लक्षित गर्दै नकारात्मक प्रचार गरेको उनको गुनासो छ । ‘अर्थमन्त्रीले आफ्नो असन्तुष्टि सभापतिसमक्ष राख्नुभएको थियो । त्यसपछि सभापतिले पनि प्रधानमन्त्रीसँग यसबारे कुरा गर्नुभएको होला,’ सभापति लामिछानेनिकट एक पदाधिकारीले मध्यान्हलाई बताए ।
प्रधानमन्त्री कार्यालयको एउटा समूहले अर्थमन्त्रीले सरकारी कामभन्दा बाहिरका कार्यक्रममा बढी समय खर्च गर्ने र सरोकार नभएका व्यक्तिसँगको हिमचिम बढाएको आरोप लगाउँदै आएको छ । अर्थमन्त्री वाग्ले पक्षले भने नियोजित रूपमा यस्ता सूचना बाहिर ल्याएर प्रधानमन्त्रीनिकट केही व्यक्ति आफूविरुद्ध लागेको गुनासो गरेका छन् । अर्थ मन्त्रालयको कार्यक्षेत्रमा प्रधानमन्त्री कार्यालयबाट हस्तक्षेप भएको र आर्थिक निर्णयमा बालेनले अर्थमन्त्रीलाई जानकारी नै नदिई एकलौटी निर्णय गर्ने गरेको वाग्लेनिकट स्रोत बताउँछन् । यसले सरकार र सिंगो मुलुकको आर्थिक अवस्था सुधारमा सहयोग नगर्ने अर्थमन्त्रीको सचिवालयले भन्यो ।
सभापति लामिछानेले प्रधानमन्त्री र अर्थमन्त्रीबीच संवादहीनता तोड्ने प्रयास गरेका थिए । साथै, अर्थनीतिमा दुई फरक शक्ति केन्द्र देखिनुका कारणबारे प्रधानमन्त्रीसँग सोधेका थिए । जवाफमा प्रधानमन्त्री शाहले अर्थमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनलाई फेर्नुपर्ने बताएका थिए । सभापति लामिछानेनिकट अर्का एक नेताले भने, ‘वाग्ले अर्थमन्त्री मात्रै नभई रास्वपाको पहिलो उपसभापति भएकाले उहाँलाई हटाउने निर्णय सामान्य मन्त्रिपरिषद् पुनर्गठनजस्तो सजिलो छैन ।’
निर्माण क्षेत्रमा देखिएका समस्या, लगानीको वातावरण र नीतिगत सहजीकरणका सवालमा प्रधानमन्त्रीले अर्थमन्त्रीबिनै संवाद गरेपछि दुई नेताबीचको सम्बन्धमा केही सन्देह पैदा भएको उनले बताए । प्रधानमन्त्रीले राखेको अर्थतन्त्रसँग सम्बन्धित कतिपय महत्वपूर्ण छलफलमा अर्थमन्त्रीको अनुपस्थितिलाई रास्वपाभित्र अर्थपूर्ण रूपमा हेरिएको नेताहरूले स्वीकार गरेका छन् । यी घटनाक्रमले प्रधानमन्त्री बालेन र अर्थमन्त्री डा.स्वर्णिमबीच पछिल्ला सम्बन्धमा चिसोपना बढ्दै गएको देखाउँछ । रास्वपाले औपचारिक रूपमा यो विवादलाई स्विकारेको छैन । बाहिर आएका सबै हल्ला बेकार भएको महामन्त्री विपीन आचार्यको दाबी छ । उनले मध्यान्हसँग भने, ‘यो सबै सार्वजनिक हल्ला मात्रै हुन् । रास्वपा र सरकारभित्र कुनै त्यस्तो समस्या पनि आएको छैन र मन्त्री हेरफेरको विषयमा कुनै छलफल भएको छैन् ।’