२०८३ कार्तिक ३ गते सोमवार / Oct 19 , 2026 , Monday
२०८३ कार्तिक ३ गते सोमवार

विश्वकपको ‘ड्रिम फाइनल’

Nada
दिवाकर अधिकारी
२०८३ साउन २ गते ०८:२०
Shares
विश्वकपको ‘ड्रिम फाइनल’

काठमाडौं : विश्व फुटबलको सर्वोच्च मञ्चमा एउटा यस्तो ‘हाइभोल्टेज’ भिडन्त तय भएको छ, जसको प्रतीक्षा सारा संसारले गरिरहेको थियो । आइतबार न्युयोर्कको न्यु जर्सी स्टेडियममा साबिक विजेता तथा दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीच फिफा विश्वकप २०२६को ऐतिहासिक उपाधिका लागि महाभिडन्त हुँदै छ ।
यस टकरावमा एकातिर विश्वका महानतम खेलाडी लियोनल मेस्सी आफ्नो विरासतलाई थप उचाइमा पु¥याउन खोज्दै छन् भने अर्कोतिर युवा जोस र आधुनिक फुटबलको लय समातेको स्पेन २०१० पछि पुनः विश्वकप उपाधि जित्ने दाउमा छ ।

ncell

यो केवल एउटा खेल मात्र हुने छैन, यो मेस्सीका लागि त्यो देश (स्पेन)विरुद्धको परीक्षा पनि हो, जहाँबाट उनले फुटबलको कखरा सिकेर विश्वभर नाम कमाए । न्युयोर्कको आकाशमुनि हुने यो खेलले फुटबल इतिहासमा एउटा नयाँ स्वर्णिम अध्याय थप्ने निश्चित छ ।

नेपाली समयअनुसार सोमबार बिहान पौने १ बजे सुरु हुने यो फाइनल खेलका लागि न्युयोर्कको न्यु जर्सी स्टेडियम पूर्ण रूपमा तयार रहेको छ । यो रंगशालामा यसअघि २०२५को फिफा क्लब विश्वकपको फाइनलसमेत आयोजना भइसकेको छ ।

दक्षिण अमेरिकी च्याम्पियन अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीचको बहुप्रतीक्षित भेट यसअघि नै हुने तय थियो । कतारको दोहामा मार्च अन्त्यतिर ‘फाइनलिसिमा’मा यी दुई टोली भिड्दै थिए । फाइनलिसिमा एक यस्तो म्याच हो, जसमा दक्षिण अमेरिकी विजेता र युरोपेली च्याम्पियनबीच प्रतिस्पर्धा हुन्छ ।

तर, मध्यपूर्व क्षेत्रमा बढ्दो अस्थिरता र सुरक्षा चिन्ताका कारण उक्त खेल अन्तिम समयमा रद्द गरियो । अमेरिका र इजरायलले गरेको हवाई आक्रमणको प्रतिकारस्वरूप इरानले छिमेकी देशहरूमाथि आक्रमण तीव्र बनाउँदा क्षेत्रीय तनाव चुलिएको थियो । जसका कारण ‘फाइनलिसिमा’ रद्द हुँदा यी दुई टोलीको भेट हुन पाएन । अन्ततः चार महिनापछि यी दुई टोली आमनेसामने हुँदै छन्– विश्वकप फाइनलमा । जसका कारण पनि यस फाइनल खेललाई फुटबल समर्थकहरूले ‘ड्रिम फाइनल’का रूपमा व्याख्या गरेका छन् ।

लियोनल स्कालोनीको प्रशिक्षणमा रहेको साबिक विजेता अर्जेन्टिना सातौंपटक विश्वकपको फाइनलमा पुगेको हो । मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले समूह चरणका सबै खेल जितेर उत्कृष्ट सुरुवात गरेको थियो । नकआउट चरणमा इजिप्टविरुद्ध २–०ले पछि परेको अवस्थामा ३–२को ऐतिहासिक पुनरागमन गर्दै र सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ले पराजित गर्दै अर्जेन्टिनाले फाइनलको यात्रा तय गरेको हो ।

अर्जेन्टिनाका कप्तान मेस्सीले यस प्रतियोगितामा ८ गोल गरिसकेका छन् । मेस्सी फ्रान्सका किलियन एमबाप्पेसँगै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छन् । गोल संख्यामा एमबाप्पेसँग बराबरी भए पनि मेस्सीले ४ वटा असिस्ट उपलब्ध गराएका छन्, जसले उनलाई गोल्डेन बुटको दौडमा अगाडि राखेको छ । फिफाको नियमअनुसार गोल बराबर भएमा असिस्ट संख्याका आधारमा विजेता तय गरिन्छ ।

मेस्सीले यसै संस्करणमार्फत विश्वकप इतिहासकै ‘अल टाइम टप स्कोरर’को ऐतिहासिक कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् । विश्वकपमा उनको कुल गोल संख्या २१ पुगेको छ ।

यता लुइस डे ला फुएन्टेको प्रशिक्षणमा रहेको स्पेन २०१० पछि पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो । स्पेनले सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई उत्कृष्ट प्रदर्शन गर्दै पाखा लगाएको थियो । नकआउट चरणमा पोर्चुगल र बेल्जियमजस्ता टोलीलाई पराजित गर्न मिकेल मेरिनोको अन्तिम समयका गोलहरू निर्णायक बनेका थिए ।
विश्वकपको इतिहासमा यी दुई टोलीबीच हालसम्म एकपटक मात्र भेट भएको छ । सन् १९६६को विश्वकपमा अर्जेन्टिनाले स्पेनलाई २–१ले पराजित गरेको थियो । समग्रमा यी दुई टोलीबीच १३ मैत्रीपूर्ण खेल भएका छन्, जसमा स्पेनले ६ र अर्जेन्टिनाले ५ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएका छन् । सन् २०१८को मैत्रीपूर्ण खेलमा भने स्पेनले अर्जेन्टिनालाई ६–१को फराकिलो अन्तरले हराएको थियो ।

फाइनल खेल लियोनल मेस्सीका लागि विशेष हुनेछ, किनकि उनले आफ्नो व्यावसायिक फुटबलको उचाइ स्पेनकै क्लब बार्सिलोनाबाट प्राप्त गरेका थिए । अब उनै मेस्सी स्पेनविरुद्ध आफ्नो करियरको अर्को एउटा ऐतिहासिक उपाधि जित्ने दाउमा हुनेछन् । स्पेन भने आफ्नो दोस्रो विश्वकप ट्रफी उचाल्दै इतिहास दोहो¥याउन चाहन्छ ।

मेस्सी–यामल अनौठो संयोग

सन् २००७, बार्सिलोनाको क्याम्प नाउ रंगशालाको एउटा ड्रेसिङ रुम । २० वर्षका लजालु स्वभावका लियोनल मेस्सीले पाँचमहिने शिशुलाई निलो बाटामा राखेर मुस्कुराउँदै नुहाइदिइरहेको दृश्य । अहिले यही तस्बिरले विश्वभर चर्चा कमाइरहेको छ । 

कसले सोचेको थियो, करिब दुई दशकपछि त्यही शिशु फुटबलको सबैभन्दा ठुलो मञ्च– विश्वकपको फाइनलमा मेस्सीकै अगाडि ऐतिहासिक चुनौती बनेर उभिनेछ ? आइतबार हुने अर्जेन्टिना र स्पेनबीचको विश्वकप फाइनल केवल दुई राष्ट्रबीचको भिडन्त मात्र होइन, यो फुटबल इतिहासकै सबैभन्दा दुर्लभ र भावुक संयोगको मिलनविन्दु पनि बन्ने भएको छ । एकातिर ३९ वर्षका भेट्रान सुपरस्टार लियोनल मेस्सी छन् भने अर्कोतिर उनकै पदचाप पछ्याउँदै बार्सिलोनाको दायाँ विङमा तहल्का मच्चाइरहेका १९ वर्षीय लामिन यामल छन् ।

उक्त ऐतिहासिक तस्बिर खिच्ने फोटोग्राफर जोआन मोन्फोर्ट यसलाई ‘नियतिको साँचो चमत्कार’ र अप्रत्याशित सुखद संयोग मान्छन् । मोन्फोर्ट भन्छन्, ‘यदि तपाईंले यो कथा कुनै फिल्ममा लेख्नुभयो भने पनि सायद कसैले पत्याउने थिएन ।’

सन् २००७को कुरा हो, जतिबेला क्याटलान पत्रिका ‘स्पोर्ट’ र युनिसेफले एउटा परोपकारी अभियानका लागि चिट्ठा आयोजना गरेका थिए । यसमा छानिने परिवारका बच्चाले बार्सिलोनाका खेलाडीसँग तस्बिर खिचाउन पाउने अवसर थियो ।

लामिन यामलको परिवार भाग्यशाली ठहरियो र संयोगवश उनीहरूको जोडी त्यतिबेलाका युवा स्टार मेस्सीसँग मिल्यो । मोन्फोर्टका अनुसार, त्यतिबेलाका मेस्सी निकै अन्तर्मुखी र लजालु स्वभावका थिए । ‘मेस्सी ड्रेसिङ रुममा आए र अचानक एउटा सानो बच्चालाई नुहाइदिनुपर्ने भयो । उनलाई बच्चा कसरी समात्ने भन्नेसमेत थाहा थिएन, उनको अनुहारको भाव हेर्नलायक थियो,’ मोन्फोर्ट सम्झन्छन् ।

 तर, यामल निकै खुसी र हँसिला बच्चा थिए, जसले गर्दा मेस्सीले छिट्टै परिस्थिति सम्हाले र ती अविस्मरणीय तस्बिरहरू जन्मिए ।यामलको यहाँसम्मको यात्रा निकै संघर्षपूर्ण छ । मोरक्कोमा जन्मेका बुबा मुनिन नास्राओई र इक्वेटोरियल गिनीकी आमा सिला एबाना क्याटालोनिया आएपछि उनीहरूको भेट भएको थियो । यामलको परिवार निकै गरिब थियो ।
‘लामिन यामल’ वास्तवमा उनको पहिलो नाम हो, जुन उनका बुबाले आर्थिक संकटका बेला सहयोग गर्ने दुई साथीहरूको सम्मानमा राखिदिएका थिए । अरबी भाषामा ‘लामिन’को अर्थ इमानदार र ‘यामल’को अर्थ सुन्दरता हुन्छ ।

यामल बार्सिलोनाको गरिब बस्ती ‘रोक्काफोन्डा’मा हुर्किए । आज पनि उनी गोल गरेपछि औंलाले ‘३–०–४’को इसारा गर्छन्, जुन सोही क्षेत्रको पोस्टकोड हो । उनी भन्छन्, ‘आमाबुबाले मेरा लागि जे गर्नुभयो, त्यो म कहिल्यै तिर्न सक्दिनँ । पैसा नहुँदा बच्चालाई फुटबल खेलाउनु निकै कठिन हुन्छ, तर उहाँहरूले त्यो सम्भव बनाउनुभयो ।’१९ वर्षको उमेरमा मेस्सी र यामलको तुलना गर्दा तथ्यांकले सबैलाई चकित पार्छ । मेस्सी १९ वर्षको हुँदा उनले ११ गोल गरेका थिए भने यामलले अहिले नै ५६ गोल गरिसकेका छन् । मेस्सीले जस्तै यामलले पनि बार्सिलोनाको प्रतिष्ठित १० नम्बरको जर्सी विरासतमा पाइसकेका छन् ।

यी दुवैका साक्षी फोटोग्राफर मोन्फोर्टका लागि यो फाइनल निकै कठिन मोड हो । बार्सिलोनाका फ्यान उनी भन्छन्, ‘मेरो मन दुई टुक्रामा बाँडिएको छ । मेस्सीले दोस्रोपटक विश्वकप जितेर आफ्नो खेल जीवनको सुखद अन्त्य गरेको हेर्न चाहन्छु, तर स्पेन र लामिन पनि निकै राम्रो लयमा छन् ।’

यस फाइनल खेलले एउटा चक्र पूरा गर्दै छ । एकातर्फ मेस्सी आफ्नो करियरको दोस्रो विश्वकप जितेर बिदा हुन चाहन्छन् भने, अर्कोतर्फ यामल आफ्नो पहिलो विश्वकप जितेर नयाँ युगको सुरुवात गर्न चाहन्छन् । यो भेटले फुटबलप्रेमीहरूलाई एउटा अविस्मरणीय क्षण प्रदान गर्ने निश्चित छ ।

uae

सम्बन्धित खबर