२०८३ कार्तिक ७ गते शनिवार / Oct 24 , 2026 , Saturday
२०८३ कार्तिक ७ गते शनिवार

जीवन जिउन झमक कुमारीबाट सिक्ने कि !

म त बाँच्न चाहन्छु, तपाईं किन हार मान्दै हुनुहुन्छ ?

Nada
भावना पाठक
२०८३ साउन ७ गते १५:२१
Shares
जीवन जिउन झमक कुमारीबाट सिक्ने कि !

काठमाडौँ : साहित्यकार झमककुमारी घिमिरेले जुलाई १५ मा सामाजिक सञ्जालमा एउटा स्टाटस लेखिन् । उनले लेखेको लामो स्टाटसको सन्देश थियो जीवन चिन्ताले हैन चिन्तनले चल्छ । 

ncell

उनले सामाजिक सञ्जाल फेसबुकमा यो स्टाटस लेख्दा देशमा आत्मदाहको घटनाका बारेमा प्रचार भइरहेको थियो । संग्ला मानिसहरूले आफ्नो सुन्दर अंग जलाएको उनलाई कति पनि मन परेन । उनले यस्तो जिन्दगी भोगेकी छन्, जुन आम मानिसले कल्पना गर्न सक्दैनन् । सामान्य मानिसले कल्पना गरेभन्दा बाहिरको कठिन जीवन बाँचेकी झमकको लागि आफूलाई जलाएर, ढलाएर जिन्दगी नास गरेको कसरी मन पर्थ्यो र ?

जन्मजात शारीरिक अपांगताले उनलाई हिड्न, बोल्न र कुराकानी गर्न सक्ने अवस्थाको अनुभव गर्न दिएन । २०३७ साल असार २१ मा धनकुटामा जन्मिएकी उनी जन्मजात सेरेब्रल पाल्सीबाट पीडित छिन् । उनले आफ्नो आत्मकथा ‘जीवन काँडा कि फूल’ मा आफूले शारीरीक अशक्तताकै कारणले भोगेको पीडा पोखेकी छन् । 

परिवार र समाजबाट उपेक्षा तथा विभेद भोग्दै हुर्किएकी उनी खुट्टाका औँलाले लेखेर नेपाली साहित्यको सर्वोच्च सम्मानमध्ये एक मदन पुरस्कार प्राप्त गर्ने स्रष्टाका रूपमा आफूलाई दर्ज गराएकी छन् । उनको आत्मकथात्मक कृति ‘जीवन काँडा कि फूल’ ले २०६७ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

सेरेब्रल पाल्सीले उनका हातखुट्टा सामान्य रूपमा चल्न सकेनन् र बोल्न पनि कठिन भयो । गाउँघरमा अपांगताप्रतिको चेतनाको कमीले उनी बाल्यकालदेखि नै दया, उपेक्षा र विभेदको सामना गर्न बाध्य भइन् । विद्यालय जाने अवसरसमेत सीमित बनेपछि उनले आफ्नै प्रयासबाट अक्षर चिन्न र पढ्न सिकिन् । भाइ बहिनी पढ्न स्कुल जाँदा उनी भने खुट्टाले कलम समाउन सिक्दै थिइन् । 

बाल्यकालमा परिवारका सदस्यहरू व्यस्त हुँदा आफूले अपेक्षित माया, साथ र हौसला नपाएको अनुभूति उनले आफ्ना संस्मरण र आत्मकथामा व्यक्त गरेकी छन् । समाजले अशक्तताको दृष्टिले हेर्दा उनको आत्मसम्मानमा चोट पुगे पनि त्यही पीडाले उनीभित्र सिर्जनाको ऊर्जा जन्माएको देखिन्छ । घरआँगन, प्रकृति र आफ्नै जीवनका भोगाइ उनका प्रारम्भिक लेखनका आधार बने ।

युवाअवस्थामा पुग्दा घिमिरेले खुट्टाका औँलाले अक्षर कोर्ने अभ्यासलाई निरन्तरता दिइन् । हात प्रयोग गर्न नसक्ने उनले खुट्टाकै मध्यमबाट कविता, कथा, निबन्ध र संस्मरण लेख्न थालेकी थिइन् । निरन्तर अभ्यासले उनको लेखन परिपक्व बन्दै गयो । किशोर उमेरदेखि नै साहित्यमा सक्रिय उनी २०५५ सालमा प्रकाशित ‘संकल्प’ कविता सङ्ग्रहबाट औपचारिक रूपमा साहित्यिक क्षेत्रमा परिचित भइन् । त्यसपछि उनका कविता, कथा, निबन्ध र आत्मकथासहित अनेक कृतिहरू प्रकाशित भए ।

घिमिरेले साहित्यमा आफ्नो व्यक्तिगत पीडा मात्र होइन, समाजका सीमान्तकृत वर्ग, महिला, अपांगता भएका व्यक्ति र मानव अस्तित्वका विषयहरू सशक्त रूपमा उठाइएकी छन् । 

मदन पुरस्कारपछि घिमिरेको परिचय नेपालमा मात्र सीमित रहेन । उनका कृतिहरू विभिन्न भाषामा अनुवाद भएका छन् । विश्वविद्यालय तहमा उनका साहित्य र जीवनमाथि अध्ययन तथा अनुसन्धान हुने गरेको छ । अपांगता अधिकार, महिला सशक्तीकरण र समान अवसरका विषयमा उनको जीवनलाई उदाहरणका रूपमा प्रस्तुत गरिन्छ ।

जन्मेदेखि बोल्न नसक्ने, हात नचल्ने, हिँड्न नसक्ने र अहिले पनि स्नायु समस्यासँग जुधिरहेकी झमकले ‘म त बाँच्न चाहन्छु, तपाईं किन हार मान्दै हुनुहुन्छ ?’ भनेर गरेको प्रश्नले नै मानिसको जीवन कति अमूल्य छ भन्ने पुष्टि गर्छ । 

सिर्जनामा शक्ति पोख्ने झमक 

झमकले जुन जिन्दगी बाँचिरहेकी छन्, त्यो सामान्य मानिसलाई विचरा लाग्न सक्छ । सुत्न, उठ्न र सजिलोसँग खानसमेत उनलाई सकस छ । तर यो सकस नै उनको आत्मवल हो ।  उनले कमजोरीलाई ताकत बनाएकी छन् ।  

उनले बाँच्नका लागि गरेको संघर्ष उनको पुस्तकमा देखिन्छ ।  उनले आफूमाथिको विभेद र हिँसा पुस्तकमा लेखेकी छन् ।  तर त्यो लेखनमा उनले आफ्नो कमजोरीलाई शक्ति बनाएकी छन् । अरूलाई असहज लाग्ने जीवन उनले हाँसी-हाँसी बिताउने संकल्प गरेकी छन् ।  बाँच्नका लागि शरीर हैन चेतना बलियो हुनुपर्छ भन्ने सन्देश उनले आफ्ना हरेक पुस्तकमार्फत दिएकी छन् । उनका कविताहरू संकल्प,आफ्नै चिता अग्नि शिखातिर, मान्छे भित्रका योद्धाहरू, झमक घिमिरेका कविताहरू, क्वाँटी सङ्ग्रहलगायत थुप्रै कवितामा उनले जीवन बाँच्ने कला देखाएकी छन् । 

उनको लेखेको आत्मकथा जीवन काँडा कि फूलमा त उनले लेखेका, देखेका र भोगेका सबै कुरा छर्लंग नै छ । आफ्नो जिन्दगी असहज भयो भन्दैमा सिर्जना नै विरही बनाउनुपर्छ भन्ने मान्यता उनी राख्दिनन् ।  म यसरी पनि बाँचिरहेकी छु, तपाईं किन बाँच्न सक्नुहुन्न ? भनेर उनी हिम्मत बाँड्ने गर्छिन् । जीवन जिउने कला सिकाउने उनी जीवन नास गरेको देखेर विरक्त मान्दै सामाजिक सञ्जालमा लेख्छिन्,‘जीवनमा जसका पनि अप्ठ्यारा मोडहरू आउँछन् । त्यो कुरा सामना गर्न नसकेर भाग्ने होइन । कसैले पनि आफ्नो जीवन मात्रै अप्ठ्यारोमा परेको नसोच्नुहोस् । कुनै गलत कदम नउठाउनुहोस् । आफ्नो माया गर्नुहोस् । दिमागभरि नकारात्मक कुराहरू नपाल्नुहोस् । सकेसम्म सकारात्मक कुरा ल्याउनुहोस् । साना-साना कुरामा रमाएर जीवन बाँच्नुहोस्। सोच्नुहोस्, जीवन खतम नगरे पनि एक दिन खतम भएरै जाने छ। धेरै हतार नगर्नुहोस् ।’

चिन्ताले होइन, चिन्तनले बदलिन्छ जीवन 
चिन्तनले कसरी जीवन बदलिन्छ त्यो झमकलाई हेरे पुग्छ । उनले आफ्नो आत्मकथामा कसरी आफूमाथि हिँसा हुन्थ्यो भनेर उल्लेख गरेकी छन् । उनले भोगेको शारीरिक हिँसा त छँदै थियो, तैले केही गर्न सक्दिनस् भनेर परिवार र समाजले लगाएको वचनले उनलाई बिझाउँथ्यो । किशोरी अवस्था लाग्दै गर्दा शरीरमा भएका प्राकृतिक परिवर्तन र त्यसमाथि आँखा लगाउनेसँग बच्न उनलाई कठिन थियो । उनले ‘मलाई यस्तो -यस्तो नजरले हेर्छन्’ भनेर परिवारलाई सुनाउँदासमेत ‘तँ जस्तोलाई कसले हेर्छ’ भनेर आफ्ना कुरा नजरअन्दाज गरेको पीडा उनले आजसम्म पनि भुल्न सकेकी छैनन् । 

उनले आफूमाथि प्रौढ उमेरका पुरुषले गलत नजरले हेर्ने गरेको र त्यो अवस्था हुँदा पनि आफूले केही गर्न नसकेकोप्रति दिक्दार भएको आत्मकथामा लेखेकी छन् ।  यी सबैका बाबजुद पनि उनले आफूलाई मर्न दिइनन् । उनी आफू पनि बाँचिनन् र सिर्जनालाई पनि जन्माइन् ।  त्यही सिर्जनाले आज उनी संसारभर चिनिएकी छन् । 

चल्न नसक्ने शरीरले उनी संसार घुमेकी छन् । आफू यसरी बाँचिरहँदा सद्दे ज्यान भएकाहरू हार मानिरहेको दृश्य उनले देख्न सकिनन् । उनले सामाजिक सञ्जालमा आफ्नो जीवन पढ्न त्यसै अनुरोध गरेकी हैनन् । उनको भाषामा, अर्थमा मर्ने एउटा कारण हुन सक्ला बाँच्ने हजार, लाख कारण छन् ।  

उनले जीवनमा आइपर्ने समस्या र चुनौतीलाई लिएर निरन्तर चिन्ता गर्नुको सट्टा सकारात्मक चिन्तन गर्नुपर्ने सन्देश दिएकी छन् । सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त विचारमा उनले अनावश्यक चिन्ताले मानिसलाई मानसिक रूपमा कमजोर बनाउने भन्दै परिस्थितिलाई सकारात्मक दृष्टिकोणबाट हेर्न आग्रह गरिन् ।

अरूको प्रगति देखेर ईर्ष्या गर्नु वा ‘मैले किन गर्न सकिनँ’ भन्ने सोचमा डुब्नुले व्यक्तिलाई अगाडि बढ्न नदिने उनको धारणा छ ।  सफल व्यक्तिबाट प्रेरणा लिएर आफूलाई कसरी सक्षम बनाउने, आफ्ना विचारलाई कसरी सकारात्मक र शुद्ध बनाउने भन्ने विषयमा सोच्नुपर्ने उनको सुझाव छ ।

जीवनभर चिन्ताको भारी बोकेर हिँड्नुभन्दा राम्रो विचार, सकारात्मक सोच र रचनात्मक चिन्तनलाई जीवनशैली बनाउनु नै सुख, शान्ति र सफलताको मार्ग भएको उनी बताउँछिन् ।

ताजा खबर

सम्बन्धित खबर