२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

यातायात कार्यालय मलङ्गवाद्वारा छ करोड बढी राजस्व सङ्कलन

ADV
मध्यान्ह
२०८१ साउन २९ गते १०:३९
यातायात कार्यालय मलङ्गवाद्वारा छ करोड बढी राजस्व सङ्कलन

सर्लाहीः यातायात व्यवस्था कार्यालय मलङ्गवाले गत आर्थिक वर्ष २०८०/८१ मा रु. छ करोड बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा यस कार्यालयले रु. छ करोड ३६ लाख ५८ हजार ९१ बराबरको राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राकेशकुमार यादवले जानकारी दिए । उनका अनुसार यस कार्यालयमा भाडाका सवारीबाट आयकरबापत रु. १४ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन भएको छ । 

यस्तै पटके, रुट परमिटलगायत कारबाहीबाट रु दुई लाख ९२ हजार आठ सय ४०, चालक अनुमतिपत्र र सवारी दर्ता किताब नवीकरणबापत रु. एक करोड ४६ लाख ३८ हजार तीन सय १५ सङ्कलन भएको कार्यालय प्रमुख यादवले बताए । सवारीसाधन करबाट रु. चार करोड ७३ लाख ११ हजार चार सय ३६ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको हो । 

कार्यालयले गत आवको चैत मसान्तको एक दिनमा रु. ७० लाख बढी राजस्व सङ्कलन गरेको थियो । समयमै सवारी किताब नवीकरण नगरेका तथा सवारी कर नतिरेका सेवाग्राहीलाई मधेस प्रदेश सरकारले जरिवाना रकम मिनाहा गरेको थियो । जरिवाना मिनाहासम्बन्धी ढिला गरेर जानकारी पाएका सेवाग्राहीको राति १२ बजेसम्म मलङ्गवा कार्यालयमा भीड लागेको थियो । उक्त दिन रु. ७० लाख बढी राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख यादवले बताए ।

‘हामीले चैत मसान्तमा एकै दिन रु ७० लाखसम्म राजस्व सङ्कलन गरेका थियौँ’, उनले भने, ‘राति १२ बजेसम्म कार्यालयमा बसेर सेवा दिएका थियौँ । जेठ ४ गतेबाट चालक अनुमतिपत्र परीक्षा (ट्रायल)समेत शुरु गरेका छौँ । यसले सेवाग्राहीलाई थप सुविधा पुगेको छभने राजस्व सङ्कलन दायरा फराकिलो भएको छ ।’ विसं २०८० साल मङ्सिर २७ गते स्थापना भई यस कार्यालयले सेवा प्रारम्भ गरेको हो । हरिवन नगरपालिका–३ निवासी रमा कोइरालाले यातायात सेवा कार्यालयको सेवा प्रभावकारी भएको जानकारी दिए । यसभन्दा अगाडि यातायातसम्बन्धी सेवाका लागि यहाँका सेवाग्राहीलाई वीरगञ्ज, जनकपुर, बर्दिबाससम्म धाउनुपर्ने बाध्यता थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise