
काठमाडौं : प्रथम महाधिवेशन सकिएको झन्डै दुई महिनापछि सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठनात्मक गतिविधिलाई गति दिएको छ । गत असार ७–१२ मा चितवनमा भएको महाधिवेशनपछि एकपछि अर्को विवाद, अन्तरविरोध र चुनावी हारजितको ह्याङओभरले तालमेल बिग्रेको थियो । पदाधिकारी तथा केन्द्रीय सदस्यमध्ये केही नेतालाई मनोनीत गरेर सभापति रवि लामिछानेले पार्टीलाई लयमा फर्काउने कोसिस गरेका हुन् ।
सभापति लामिछानेको प्रस्तावमा शुक्रबार केही पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत भए । महाधिवेशनबाट विधानतः शक्तिशाली बनेका लामिछानेले १५१ सदस्यीय केन्द्रीय समितिमा ५१ जना मनोनीत गर्दै छन् । ९९ जना केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाटै निर्वाचित भएका थिए । रास्वपाको विधानले सभापतिलाई शक्तिशाली भूमिका दिएको छ । सभापति लामिछानेलाई पार्टीको संसदीय दलको नेता हटाउनेसम्मको अधिकार छ ।
विधानले सभापतिलाई दिएको अधिकार प्रयोग गर्दै पहिलो चरणमा केन्द्रीय पदाधिकारी, प्रवक्ता र सदस्यहरू मनोनीत गरिएको नेता मनीष झाले बताए । ‘अझै मनोनयन बाँकी छन्, पहिलो चरणमा सभापतिले पार्टी प्रवक्तासहित केही पदाधिकारी र केन्द्रीय समितिमा मनोनीत गर्नुभएको छ,’ उनले भने । नयाँ कार्यसमितिले पार्टीलाई थप व्यवस्थित, सुदृढ, वैचारिक तथा संगठनिक हिसाबले बलियो बनाउने उनको दाबी छ । ‘हिजो हामी नयाँ थियौं, तर अब सधैं नयाँ भन्ने अवस्था रहँदैन,’ उनले मध्यान्हसँग भने, ‘पार्टीलाई थप व्यवस्थित, सुदृढ, वैचारिक तथा संगठनिक हिसाबले बलियो बनाउन नयाँ ऊर्जासहित आएको केन्द्रीय कार्यसमितिले काम गर्नेछ ।’
रास्वपा केन्द्रीय समितिले पूर्णता पाइसकेको भने छैन । केन्द्रीय समितिलाई पूर्णता दिने काम पाँच वर्षभरिमा गर्न पाउने पार्टी सभापति रवि लामिछानेले बताइसकेका छन् । उनले भनेका छन, ‘हामीलाई केन्द्रीय समितिमा मनोनीत गर्ने समय पर्याप्त छ । पाँच वर्षसम्म पनि गर्न सकिन्छ । बिस्तारै जिम्मेवारी दिँदै जाने हो, यसमा कुनै हतार छैन ।’
लामिछानेले यसो भने पनि वरिष्ठ नेता वालेन्द्र शाहले आफ्नो कोटामा परेका पदाधिकारी र केन्द्रीय सदस्यको नाम नपठाएका कारण कमिटीले पूर्णता पाउन नसकेको रास्वपास्रोत बताउँछ । शुक्रबार मनोनीत भएका अधिकांश पदाधिकारी सभापति लामिछानेनिकट छन् । केन्द्रीय समितिमा ल्याइएका गृहमन्त्री सुधन गुरुङ, भौतिकमन्त्री सुनिल लम्साल र पूर्वमहामन्त्री भूपदेव शाह भने प्रधानमन्त्री शाहनिकट मानिन्छन् । उनीहरू तीनैजना पदाधिकारी मनोनीत हुने सहमतिअनुसार गत महाधिवेशनमा उम्मेदवारी नदिई बाहिर बसेका थिए ।
रास्वपा स्रोतका अनुसार, भूपदेव शाह महामन्त्री, सुनील लम्साल र सुधन गुरुङमध्ये एकजना उपसभापति र एकजना सहमहामन्त्री बन्ने सहमति भएको थियो । सोही्अनुसार उनीहरूलाई केन्द्रीय सदस्य मनोनीत गरिएको एक नेताले बताए । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहसँगको परामर्शमा उनीहरूलाई पदाधिकारी बनाउने सभापति लामिछानेको तयारी रहेको उनले बताए । ‘उनीहरूलाई शुक्रबार नै पदाधिकारी नबनाउनुको कारण बालेनले आफ्नो टिमबाट पठाउने नेताहरूको लिस्ट नदिनु पनि हो,’ उनले भने, ‘प्रधानमन्त्री शाह मुस्ताङ भ्रमणबाट फर्किएपछि सल्लाह गरेर अर्को बैठकमा बालेन टिमका पदाधिकारी मनोनीत हुन सक्छ ।’
सामान्य प्रशासनमन्त्री प्रतिभा रावललाई भने सहमहामन्त्री बनाउने चर्चा छ । सभापति लामिछानेनिकट मानिएकी रावलको ‘पर्फमेन्स’ राम्रो रहेको नेताहरूको विश्लेषण छ । पार्टी संरचनालाई पूर्णता दिँदै लयमा फर्काएर आगामी स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन सजिलो भएको नेताहरूले बताएका छन् । पार्टी संरचनालाई केन्द्रदेखि भूगोलसम्म व्यवस्थित र चुस्त र चलायमान बनाएर आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीमा जुट्न शीर्ष नेताहरूले निर्देशन दिएको सहमहामन्त्री निशा डाँगीले बताइन् ।
पार्टीलाई एउटा लयमा लगेर आगामी स्थानीय तह र प्रदेशको निर्वाचनमा जित्ने बनाउन संगठनलाई भूगोलसम्म बलियो बनाउनुपर्ने निष्कर्ष रहेको उनले बताइन् । ‘हामी अहिले सत्तामा छौं, तर स्थानीय र प्रदेश सरकारले संघीय सरकारको स्प्रिटअनुसार काम गरेन भने केन्द्रीय सरकारले मात्रै काम गर्न सक्दैन,’ उनले भनिन्, ‘नागरिकको अपेक्षाअनुसार काम गर्न पनि स्थानीय र प्रदेशमा रास्वपाले जित्नुपर्ने निष्कर्षसहित पार्टीलाई एउटा लयमा लैजानुपर्ने हुन्छ । त्यसका लागि केन्द्रदेखि स्थानीय तहसम्मको संगठनलाई बलियो बनाउन नयाँ समितिले काम गर्नेछ ।’
तर मधेश प्रदेशअन्तर्गतका अधिकांश जिल्ला, प्रदेश र अन्य जिल्लाहरूमा समेत अधिवेशन हुन सकेको छैन । आन्तरिक विवादका कारण अधिवेशन हुन नसकेका जिल्ला र प्रदेशसमेत केन्द्रीय नेताहरू खटाउने पार्टीको तयारी छ । सोहीअनुसार मधेश प्रदेश अधिवेशनमा पार्टी सभापति रवि लामिछाने नै जाने तयारीमा छन् ।
बैठक छाडेर मुस्ताङतिर बालेन
रास्वपा केन्द्रीय समिति बैठक काठमाडौंमा चलिरहँदा पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह मुस्ताङ भ्रमणमा निस्किए । प्रधानमन्त्री भइसकेपछि पहिलोपटक शुक्रबार मुस्ताङको यात्रा तय गरेका बालेन काठमाडौंबाट धादिङ पुग्दासम्म नेपाली सेनाबाहेक सुरक्षा निकायका कुनै अधिकारीलाई थाहै थिएन । धादिङको गजुरीस्थित नेपाली सेनाको भैरव गणमा केहीबेर रोकिएका प्रधानमन्त्री शाह शुक्रबार दिउँसै पोखरा पुगेर अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसे ।
सुरक्षा संयन्त्रलाई समेत बिनाजानकारी भ्रमणमा निस्किएका बालेनको भ्रमणलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले निजी भ्रमण भनेको छ । प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले प्रधानमन्त्री निजी भ्रमण नै भएकाले उनको बारेमा थप जानकारी लिनुपरे निजी सचिवालयबाट लिँदा उपयुक्त हुने बताएका छन् । ‘सम्माननीयको यो भ्रमण निजी हो । अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ,’ उनले भने ।
पोखरा हुँदै मुस्ताङ भ्रमणमा निस्किएका उनको भ्रमण निजी भनिए पनि सरकारी तथा निजी सवारीको लावालस्कर र अगुवा–पछुवासहित हुइँकिएका छन् । काठमाडौंमा पार्टीको बैठक चलिरहँदा वरिष्ठ नेताको जिम्मेवारीमा रहेका प्रधानमन्त्रीको उपत्यकाबाहिर जानुले रास्वपाभित्र गुटगत राजनीति मैलाउँदै गएको संशय बढेको नेताहरूले बताएका छन् । ‘प्रधानमन्त्रीज्यू आफैं प्रधानमन्त्री बन्नुभएको होइन, उहाँलाई पार्टीले नै वरिष्ठ नेता, संसदीय दलको नेता र प्रधानमन्त्री बनाएको हो,’ रास्वपाका एक केन्द्रीय सदस्यले भने, ‘पार्टीको नीति, नेतृत्व र राजनीतिक गतिविधिमा उहाँको सहभागिता पार्टीले खोजेको छ । तर, उहाँ प्रायः पार्टीका बैठकमा आउने गर्नुभएको छैन, उहाँले कमजारी सच्याउनु होला ।’ रास्वपा केन्द्रीय समितिको बैठकमा नगएका उनी यसअघिका पार्टी तथा संसदीय दलको बैठकमा समेत सहभागी छैनन् ।
प्रतिनिधिसभा निर्वाचनपूर्व रास्वपामा प्रवेश गरेका बालेन र सभापति रवि लामिछानेबीच पार्टी र सत्ता सञ्चालनको भागबन्डा भएको थियो । पार्टी रविले र सरकार बालेनले चलाउने र एकले अर्कोलाई हस्तक्षेप नगर्ने सहमति भए पनि प्रधानमन्त्री पार्टी बैठकमै नआउने भन्ने सहमति नभएको नेताहरूले बताएका छन् । पार्टीका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री शाहले पार्टी बैठक निरन्तर छल्दै आएका छन् । रास्वपा वरिष्ठ नेता भएर पनि उनी रास्वपाका कुनै पनि औपचारिक वा अनौपचारिक बैठक तथा राजनीतिक गतिविधिमा संलग्न छैनन् । संसदीय दलको बैठकसमेत पार्टी सभापति लामिछानेले नै सञ्चालन गर्दै आएका छन् । अघिल्लो बैठकले उनलाई वरिष्ठ नेता मनोनीत ग¥यो । तर, अहिलेसम्म शपथसम्म लिएका छैनन् ।
प्रवक्तामा जगदीश, अरू को–को भए मनोनीत ?
रास्वपा केन्द्रीय समितिको शुक्रबारको बैठकले प्रवक्तासहित पाँच पदाधिकारी, ९ केन्द्रीय सदस्य मनोनयन गरेको छ । त्यस्तै, १० जनालाई सचिवालय सदस्यको जिम्मेवारी तोकेको छ भने ६ वटा विभागका जिम्मेवारीसमेत तोकिएको छ । पार्टीको प्रवक्तामा पूर्वसञ्चारमन्त्री एवं सांसद जगदीश खरेललाई तोकिएको छ ।
सहमहामन्त्री पुरुषोत्तम यादव, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, सहप्रवक्तामा डा.नमिता यादव र सुरेन्द्र चौधरी मनोनीत भएका छन् । त्यस्तै, केन्द्रीय सदस्यहरूमा भूपदेव शाह, सुधन गुरुङ, सुनिल लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, सुरेन्द्र चौधरी, भक्तबहादुर राई, डा. मनोहर प्रधान रहेका छन् । शुक्रबारकै बैठकले सचिवालय सदस्यमा शिशिर खनाल, गणेश पराजुली, कवीन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनीष झालाई जिम्मेवारी दिएको छ ।
त्यस्तै, विभागीय जिम्मेवारीअन्र्तगत संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुख विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुख डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुख निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुख शिशिर खनाल र अर्थ विभाग प्रमुख लिमा अधिकारीलाई तोकिएको छ ।