
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री भएपछि पहिलो पटक भ्रमणमा निस्किएका छन्। प्रधानमन्त्रीको कार्यभार सम्हालेको करिब पाँच महिनापछि उनी मुस्ताङ पुगेका हुन् ।
प्रधानमन्त्री शाहको मुस्ताङ यात्राले उनको व्यक्तिगत रुचि र प्रधानमन्त्री पदको सार्वजनिक जिम्मेवारीबीचको सम्बन्धलाई चर्चामा ल्याएको छ । प्रधानमन्त्री कार्यालयले उनको मुस्ताङ भ्रमणलाई निजी भनेको छ । पोखराबाट मुस्ताङ पुगेका शाहको मुख्य कार्यक्रम मुक्तिनाथ दर्शन रहेको छ ।
प्रधानमन्त्री भएपछि बालेन देशभित्रै पहिलो पटक यात्रामा निस्किएका हुन् । यसलाई धार्मिक भ्रमणका रूपमा मात्रै हेरिएको छैन । पछिल्लो समय उनको सार्वजनिक जीवनमा देखिएको फरक शैली, निजी समयलाई दिएको प्राथमिकता र औपचारिक राजनीतिक गतिविधिभन्दा बाहिरको उनको रुचिसँग जोडेर कतिपयले टिप्पणी गरेका छन् ।
मुस्ताङ आफैंमा धार्मिक, पर्यटकीय र प्राकृतिक दृष्टिले महत्वपूर्ण गन्तव्य हो। मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीका लागि समान रूपमा आस्थाको केन्द्र हो ।
तर प्रधानमन्त्रीको भ्रमण भएकाले प्रश्न पनि उठेका छन् । निजी भ्रमण भए पनि उनको सुरक्षा र यात्राका क्रममा राज्यका संयन्त्र परिचालित हुन्छन् । त्यसैले प्रधानमन्त्रीको निजी भ्रमण कति निजी रहन्छ भन्ने बहससमेत सुरु भएको छ।
यद्यपि, मुस्ताङ भ्रमणलाई कुनै राजनीतिक भेटघाट वा विशेष राजनीतिक उद्देश्यसँग जोड्ने आधिकारिक आधार अहिलेसम्म सार्वजनिक भएको छैन । अहिलेका लागि यसलाई बालेनको निजी समय, धार्मिक आस्था र मुस्ताङप्रतिको आकर्षणका रूपमा हेर्न सकिन्छ ।
रास्वपा केन्द्रीय समिति बैठक काठमाडौंस्थित चमतीमा चलिरहँदा उनी मुस्ताङ भ्रमणमा निस्किएकाले पनि विभिन्न कोणबाट विश्लेषण भइरहेको छ। उनको भ्रमणलाई लिएर पार्टी र सरकारले समेत आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । यद्यपि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनको भ्रमण नितान्त व्यक्तिगत भएको जनाएको छ ।
कुनै सुरक्षा संयन्त्रलाई आधिकारिक जानकारी नगराई नेपालको हिमाली जिल्ला मुस्ताङ भ्रमणमा निस्किएका बालेनको भ्रमण निजी भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताए । ‘सम्माननीयको यो भ्रमण निजी हो। अन्य बुझ्न परे उहाँको सचिवालयमा बुझ्न सकिनेछ,’ उनले भने ।
शाहले पार्टी बैठक निरन्तर छल्दै आएका छन् । रास्वपाका वरिष्ठ नेता भएर पनि उनी रास्वपाका कुनै पनि औपचारिक वा अनौपचारिक बैठक तथा राजनीतिक गतिविधिमा संलग्न छैनन् । संसदीय दलको बैठकसमेत पार्टी सभापति लामिछानेले नै सञ्चालन गर्दै आएका छन् । रास्वपाले वरिष्ठ नेता मनोनीत गरेका उनले अहिलेसम्म शपथसमेत लिएका छैनन् ।
काठमाडौंँबाट धादिङ पुग्दासम्म नेपाली सेनाबाहेक अन्य सुरक्षा निकायका कुनै अधिकारीलाई समेत थाहा थिएन । धादिङको गजुरीस्थित नेपाली सेनाको भैरव गणमा केहीबेर रोकिएका प्रधानमन्त्री शाह शुक्रबार दिउँसै पोखरा पुगेर अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका थिए ।
शनिबार उनी पोखराबाट मुस्ताङ लागेका हुन् । उनको यो भ्रमण देशको आन्तरिक शान्ति, सीमा सुरक्षा र पर्यटकीय प्रवर्द्धनसँग जोडेर समेत हेरिएको छ । मुस्ताङ भ्रमणलाई लिएर सामाजिक सञ्जालमा समर्थन र विरोध दुवै छन् । मुस्ताङमा विश्वप्रसिद्ध लक्जरी रिसोर्टहरू (जस्तैः शिन्ता मणि मुस्ताङ/मोक्ष) सञ्चालनमा छन् । प्रधानमन्त्री रिसोर्टप्रेमी भएकाले कार्यव्यस्तताबाट केही समय विश्राम लिन र प्राकृतिक सुन्दरताको आनन्द लिन त्यसतर्फ गएको एकथरीले टिप्पणी गरेका छन् ।
सीमावर्ती पालिकाहरू–लोमान्थाङ गाउँपालिका र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका केही दुर्गम क्षेत्रमा चिनियाँ पक्षले केन्द्र सरकारलाई पूर्वजानकारी नै नदिई राहत सामग्री वितरण गर्ने गरेको गुनासो आउने गरेको छ । सोही गतिविधिको वस्तुस्थिति बुझ्न प्रधानमन्त्रीको मुस्ताङ भ्रमणले सकारात्मक सन्देश दिएको कतिपयको भनाइ छ । त्यस्तै, नेपाल–चीन सीमा क्षेत्र (कोरला नाका नजिक) मा रहेका पिल्लर नम्बर २४ र पिल्लर नम्बर ३३ आसपासका क्षेत्रका सीमा स्तम्भको निरीक्षणसमेत हुने अनुमान छ । उनको भ्रमण निजी भनिए पनि सरकारी तथा निजी सवारीको लावालस्कर र अगुवा–पछुवासहित हुइँकिएको विषयलाई लिएर फरक–फरक टीकाटिप्पणी भइरहेको छ ।