
काठमाडौं : नेकपा एमालेका नेता ठाकुर गैरेले पार्टीको निर्वाचन समीक्षा तथा पुनर्गठनसम्बन्धी प्रतिवेदन सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई विधि र प्रक्रियाअनुसार अघि बढाउनुपर्ने बताएका छन् । उनले उक्त प्रतिवेदन सञ्चार माध्यममार्फत अध्ययन गर्ने अवसर पाएको जनाउँदै सरसर्ती हेर्दा प्रतिवेदन राम्रो र आशाजनक देखिएको प्रतिक्रिया दिएका हु न्।
गैरेका अनुसार उक्त दस्तावेजमाथि केन्द्रीय कमिटीमा गम्भीर छलफल आवश्यक छ । “प्रतिवेदनलाई अझ समृद्ध बनाउँदै पारित गरेर प्रभावकारी कार्यान्वयन गर्न सकिए पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित र सुदृढ बनाउन निकै फलदायी हुन्छ,” उनले बताएका छन् ।
उनले तत्काल कार्यदलको बैठक बोलाउन, त्यसपछि सचिवालयबाट आवश्यक निर्णय गर्न र यथाशीघ्र केन्द्रीय कमिटी बैठक आयोजना गर्नुपर्नेमा जोड दिएका छन् । “विधि, प्रक्रिया र सामूहिक निर्णयमार्फत अघि बढ्नु नै अहिलेको सही बाटो हो,” उनले स्पष्ट पारे ।
नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन मंगलबार बाहिरिएको थियो । उक्त कार्यदल एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठन गरिएको थियो, जसले सातै प्रदेशका नेता तथा कार्यकर्तासँग छलफल गरेर प्रतिवेदन तयार पारेको हो ।
कार्यदलका सदस्य सचिव तथा एमाले महासचिव शंकर पोखरेल लाई प्रतिवेदन लेखनको जिम्मा दिइएको थियो । प्रतिवेदनमा पार्टी कमजोर बन्नुमा नेतृत्व तहले जिम्मेवारी लिनुपर्ने सुझावसमेत समेटिएको छ, जसमा अध्यक्ष केपी शर्मा ओली को भूमिकामाथि पनि प्रश्न उठाइएको बताइएको छ ।
साथै, प्रतिवेदनले पार्टीको संगठनात्मक संरचना मात्र होइन, नेतृत्व तहको समेत पुनर्गठन गर्नुपर्ने सिफारिस गरेको छ । तर कार्यदलले अन्तिम रूप दिन बाँकी रहेको प्रतिवेदनलाई अध्यक्ष ओलीले पुनर्लेखन गर्न निर्देशन दिएपछि प्रक्रिया अलमलमा परेको छ ।