–नारायण गाउँले
काठमाडौं–१ मा माओवादी केन्द्र र एमाले मिल्दासमेत ११ हजार भोट ल्याएका प्रकाशमान सिंहले अहिलेको निर्वाचनमा जम्मा ७ हजार मत ल्याए, समाजवादी र माओवादी मत कता गयो ? काठमाडौं–२ मा २६ हजारभन्दा धेरै मत ल्याएर तत्कालीन एमाले नेता माधव कुमार नेपाल विजयी भएका थिए । अहिले एमाले उम्मेदवारले १२ हजार मत पनि पाएनन् । १४ हजार मत कता हरायो ? के त्यो माओवादी मत थियो ? त्यो मत अहिले किन ओनसरी घर्ती मगरले पाइनन् ? माधव कुमार नेपालको समाजवादी मत खोइ ?
काठमाडौं–५ मा कांग्रेस र माओवादी मतभन्दा एमाले मत धेरै थियो, प्रदीप पौडेलसँग ईश्वर पोखरेल कसरी पराजित भए ? काठमाडौं–६ मा एमाले र माओवादी मिल्दा समेत १६ हजार बढी मत ल्याएर विजयी भएका भीमसेन दास प्रधान यसपालि माओवादी र समाजवादीसँग मिल्दा पनि किन तेस्रो भए । आधाभन्दा बढी मत कता गयो ? काठमाडौं–५ मा एमाले र माओवादी मिल्दासमेत गगन थापाको मत २१ हजार ५ सय मत थियो । अहिले माओवादीसँग मिल्दा र घण्टीको उम्मेदवार नहुँदासमेत उनको एक मत पनि किन बढेन ?
एमालेको गढ मानिने काठमाडौं–७ मा अघिल्लो निर्वाचनमा १८ हजार बढी मत ल्याएर रामवीर मानन्धर विजयी भएका थिए । कांग्रेसले सघाएको राप्रपाले जम्मा १० हजार भोट पाएको थियो । अहिले एमालेको सात हजार भोट पनि आएन । ११ हजार भोट के भयो ?
काठमाडौं–८ मा अघिल्लो पल्ट कांग्रेस एक्लैले १२ हजार बढी भोट ल्याएको थियो । यसपालि एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेस मिलेर लड्दा जम्मा ४ हजार भोट आयो । माओवादी र कांग्रेसको मत कता गयो ?
काठमाडौं–९ मा माओवादीसँग मिल्दा एमालेका कृष्ण गोपाल श्रेष्ठले २२ हजार मतका साथ जितेका थिए । त्यसमा आधा मत माओवादीको थियो, यसपालि उनले ११ हजार मत ल्याएरै पनि विजयी भए । माओवादी उम्मेदवार कल्पना धमलाले ६ हजार मतमात्रै किन पाइन् ? कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको मत कता गयो ? जबकि माओवादीको मात्रै १० हजार बढी मत हुनुपर्ने हो ।
चितवनको कुरा गर्ने हो भने क्षेत्र नम्बर १ मा एमाले र माओवादी मिल्दा सुरेन्द्र पाण्डेले ५० हजार बढी मत पाएर विजयी भए । कांग्रेसको मत ३६ हजार थियो । अहिले कांग्रेस उम्मेदवार विश्व पौडेलले २० हजार मत पनि ल्याउन सकेनन् । कांग्रेसकै १६ हजार मत र माओवादी केन्द्र र एकीकृत समाजवादीको हजारौं मत कता गयो ? त्यहाँ एमालेकै २० हजार बढी मत कता गयो ? कसरी चितवन एमाले र कांग्रेसमुक्त बन्दै गयो ?
चितवन–२ मा एमाले र माओवादी मिल्दासमेत २७ हजार मत ल्याएको कांग्रेसले अहिले माओवादीसँग मिलेर समेत त्यति मत ल्याउने सम्भावना छैन । चितवन–३ मा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले ४८ हजार मत ल्याएका थिए । त्यसमध्ये आधा मत त माओवादीको हुँदो हो । त्यही आधा मत ल्याए पनि उसका उम्मेदवारले जित्नुपर्ने हो ।
प्रत्यक्षमा त एउटा दलले अर्को दललाई सिध्याउन घण्टीमा मत हालिदिए अरे, एकछिन पत्याऊँ पनि । तर, संगठनसम्म बनाउन र प्रदेशमा पार्टी दर्ता गर्नसम्म नभ्याएको घण्टी दलले समानुपातिकमा तेस्रो स्थानमा कसरी प्रतिष्पर्धा गर्दै छ ? निर्वाचनअघि पनि ‘तँ’ र ‘त्यो केटो’ भनेर हेप्दै एउटा सिट पनि नआउने भविष्यवाणी गरेका थिए । अब एक–अर्को दल या आफ्नै पार्टीभित्र अन्तर्घात भएर उछिट्टिएको बाछिटा मात्रै हो भनेर घण्टीको व्याख्या हुनेछ । कतिले त आफ्ना अर्गानिक दल हराउन युरोपियन युनियनले नयाँ दल बनाएको र घरघरै गएर भोट हाल्न लगाएको भनिसके । जनता दल दास मात्रै हुँदैनन् र परिवर्तन चाहन्छन् भन्ने स्वीकार गर्न ठूलो मुटु चाहिन्छ, जुन दलहरूसँग छैन ।
अघिल्लोपल्ट कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको शर्मनाक हारको जिम्मा आफूले लिएनन्, बाम–गठबन्धनलाई दिए । आफू हारेको नभई अरू जितेकाले पछि परेको उनको व्याख्या रह्यो । केपी शर्मा ओलीको नेतृत्वमा झण्डै दुई तिहाई बहुमत ध्वस्त हुनु, पार्टी छिन्नभिन्न हुनु र स्थानीय चुनावमा कमजोर नतिजा हासिल हुनु सबैको दोष प्रचण्ड र माधव नेपाललाई दिए, आफूले एक सुका दोष लिएनन् । अब माओवादीले घण्टीबाट खेदिनुको दोष कांग्रेस या कुनै अर्को पार्टीलाई दिनेछ र आफूलाई चोखो बनाउनेछ । हिजो एक्लै बहुमत ल्याउने कांग्रेस आज आधा सिटमा मात्रै उठ्न सक्ने बन्दा पनि दोष लिन चाहन्न । अब पचास वर्ष आफ्नै सरकार बन्ने भाषण गर्ने ओलीले आफ्ना सबै जसो सहकर्मीले गुल्टिङ् खाए पनि हामीले जितेकै हो भन्ने नयाँ टुक्का निर्माण गर्नेछन् । र, परजीवी नभई कतै नजित्ने अवस्थामा पुग्दासमेत प्रचण्डले कुन टाउकोमा टाँसिँदा बढी फाइदा हुन्छ भन्नेमा दिव्य ज्ञान बाँड्नेछन् । दलहरूको यो दोषारोपण गर्ने र आफू ऐनाअघि नउभिने संस्कार रहिरहे न नयाँ दलले ठाउँ लिने हुन् !
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies