२०८३ असोज २८ गते बुधवार / Oct 14 , 2026 , Wednesday
२०८३ असोज २८ गते बुधवार

कांग्रेसको प्रधानमन्त्रीलाई सुझाव: ‘इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्ब उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस्’

Nada
२०८३ भदौ १३ गते १३:५७
Shares
कांग्रेसको प्रधानमन्त्रीलाई सुझाव: ‘इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्ब उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस्’

काठमाडौँ : नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकमा आइलागेको प्राकृतिक विपत्तिको सामना गर्न सरकारलाई आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग र सद्भाव रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ncell

शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँग भेट गरी उनले प्रभावित क्षेत्रको वस्तुस्थिति र तत्काल गर्नुपर्ने सुधारका कार्यहरूबारे ध्यानाकर्षण गराएका हुन् ।

भेटका क्रममा नेता आङ्देम्बेले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकनका क्रममा देखिएका समस्याहरू प्रधानमन्त्रीसमक्ष राखे । उनले आयुर्वेदिक अस्पतालमा राखिएका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था, त्यहाँ शय्या, औषधि र जनशक्तिको अभावका विषयमा जानकारी गराए । विपद्को यस घडीमा सरकारी संयन्त्रले मात्र सबै कार्य गर्न कठिन हुने भएकाले निजी क्षेत्र र इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्ब उद्धार तथा राहत कार्यमा सहभागी गराउन उनले सुझाव दिए ।

जवाफमा प्रधानमन्त्रीले निजी क्षेत्र र वैदेशिक सहयोगका लागि सरकारले अनुमति दिइसकेको जानकारी दिए। छिमेकी मुलुक चीनबाट आउन लागेको सहयोग टोली प्रतिकूल मौसमका कारण रोकिएको र अन्य मुलुकहरूबाट पनि सहयोग आउने क्रम जारी रहेको प्रधानमन्त्रीको भनाइ छ ।

नेता आङ्देम्बेले विशेष गरी नुवाकोटलगायतका क्षेत्रमा बाढीपहिरोपछिको दुर्गन्धका कारण महामारी फैलिन सक्ने जोखिम बढेको भन्दै यसतर्फ सचेत रहन आग्रह गरे ।

उनले भने, ‘दुर्गन्धका कारण भयावह अवस्था सिर्जना भई ठूलो महामारी फैलिन सक्ने खतरा छ, त्यसैले त्यो भूगोल र त्यहाँका जनतालाई सुरक्षित राख्न सरकारले तत्काल कदम चाल्नुपर्छ ।’

उद्धार कार्यका लागि हेलिकोप्टरको प्रयोग र व्यवस्थापनका विषयमा पनि उनले जोड दिए । नुवाकोटका विभिन्न स्थानमा सडक र पुल भत्किएका कारण आवतजावत ठप्प भएको र परिवारका सदस्यहरू अलग–अलग स्थानमा अलपत्र परेकाले उनीहरूको मानसिक अवस्थालाई मध्यनजर गर्दै थप हेलिकोप्टर परिचालन गरी सहज पहुँच बनाउन उनले माग गरे ।

नेपाली कांग्रेसको आन्तरिक तयारीका बारेमा जानकारी दिँदै नेता आङ्देम्बेले पार्टीले संस्थागत रूपमै राहत कोष खडा गरेको र हेल्पलाइनमार्फत सहयोग कार्य सुरु गरिसकेको बताए । उनका अनुसार आगामी सोमबार पार्टीका सभापति गगनकुमार थापा नेतृत्वको टोली प्रभावित क्षेत्रको भ्रमणमा जाने कार्यक्रम रहेको छ ।

विपद्को यस समयमा प्रतिपक्षको भूमिका सहयोगी रहने स्पष्ट पार्दै उनले सरकारलाई दृढताका साथ अगाडि बढ्न र जनतालाई छिटोभन्दा छिटो सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरे ।

ताजा खबर

सम्बन्धित खबर