
काठमाडौं : अन्तर्राष्ट्रिय दातृ निकाय तथा संस्थाहरूले नेपालमा आएको हालैको भीषण बाढीपछि विपद् प्रभावित क्षेत्रका श्रमिक, युवा तथा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको पुनस्थापनाबारे चासो देखाएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयमा सोमबार भएको छलफलमा उनीहरूले प्रभावित समुदायलाई तत्काल रोजगारीका अवसरसँग जोड्दै द्रुत रोजगार सहायता कार्यक्रम सञ्चालन गर्न जोड दिएका छन् ।
श्रममन्त्री रामजी यादवको अध्यक्षतामा भएको बैठकमा अन्तर्राष्ट्रिय श्रम संगठन, विश्व बैंक, एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रतिनिधि सहभागी रहेका थिए ।
छलफलमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रहरूमा तत्काल राहत, पुनर्निर्माण र रोजगारीका अवसरहरू सिर्जना गर्न द्रुत रोजगार सहायता कार्यक्रम सञ्चालन गर्ने, प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि आवश्यक पर्ने तत्कालीन तथा दीर्घकालीन सीप विकासका तालिमहरू सञ्चालन गर्ने, प्रभावित परिवारका लागि अल्पकालीन रोजगारी सिर्जना गर्दै उनीहरूको जीविकोपार्जनलाई थप सुरक्षित बनाउनेलगायतका विषयमा छलफल गरिएको थियो ।