
काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)मा आबद्ध ऊर्जा उद्यमीले भोटेकोशी नदीमा आएको बाढीप्रभावितको उद्धार, राहत र पुनर्निर्माणका लागि १३ करोड एक रुपैयाँ सहयोग गरेका छन् । इप्पानमा आबद्ध ऊर्जा उद्यमीका तर्फबाट संस्थाका अध्यक्ष मोहनकुमार डाँगीसहितका पदाधिकारीले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई सो रकमबराबरको चेक हस्तान्तरण गरे ।
सहयोग रकम हस्तान्तरण गर्दै इप्पान अध्यक्ष डाँगीले भोटेकोशी महाविपत्तिमा निजी क्षेत्रका विद्युत आयोजनाहरू आफैँ ठुलो क्षतिमा परेको अवस्थामा समेत इप्पान र आवद्ध विद्युत कम्पनीहरूले पीडित नागरिकका लागि उदारतापूर्वक सहयोग गरेको बताए ।
‘विपद्को समयमा निजी क्षेत्रका आफ्नै विद्युत आयोजनाहरू बगेर ठुलो क्षति भएको अवस्थामा पनि हामीले आफ्नो पीडालाई केही समयका लागि बिर्सेर अझ ठुलो पीडामा रहेका नागरिकको उद्धार, पुनःस्थापना र पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरेका हौं । राष्ट्रमाथि संकट परेको बेला सरकारसँग सहकार्य गर्नु निजी क्षेत्रको दायित्व हो । यस्तो विपदमा सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोग गर्न इप्पान र निजी ऊर्जा क्षेत्र तयार छ,’ उनले भने ।
यो सहयोग केवल आर्थिक सहयोग नभई आफ्नै आयोजना गुमाएका ऊर्जा उद्यमीहरूको संवेदना, सहकर्मी तथा कामदार गुमाएका कम्पनीहरूको पीडा र विपद् परेका नागरिकप्रतिको मानवीय दायित्व भएको बताए । सहयोग रकम ग्रहण गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी महाविपत्तिपछि सरकार उद्धार, पुनःस्थापना तथा पुनःनिर्माणको काममा निजी क्षेत्रसँग समेत सहकार्य गरेर अघि बढिरहेको बताए । मन्त्री श्रेष्ठले इप्पान र यससँग आबद्ध विद्युत कम्पनीहरूले आफ्नै आयोजनाहरूमा ठुलो क्षति व्यहोरेको अवस्थामा समेत पीडित नागरिकका लागि गरेको सहयोग प्रशंसनीय रहेको बताउँदै इप्पानबाट प्राप्त सहयोगले सरकारको उद्धार, पुनःस्थापना र पुनःनिर्माणको अभियानमा थप मनोबल बढेको उल्लेख गरे ।
उनले विपद्बाट प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सरकारको एक्लो प्रयास पर्याप्त नहुने भएकाले निजी क्षेत्रलगायत सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म ८ वटा सञ्चालनमा रहेका र ४ वटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका छन् भने अन्य आयोजनासमेत प्रभावित हुँदा करिब ४ सय ३१ मेगावाट विद्युत क्षमता नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण ग्रिडबाट विच्छेद भएको इप्पानले जनाएको छ ।