
काठमाडौं : बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) र यससँग आबद्ध ग्रुप कम्पनीहरू तथा बीपीसी कर्मचारीहरूको तर्फबाट रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि ५१ लाख ४१ हजार ९ सय ८६ रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गरेको छ ।
गत भदौ १० गते आएको बाढीले जनधनको ठुलो क्षति पु¥याएपछि सरकारले गरिरहेको खोज, उद्धार तथा राहतको प्रयासमा ऐक्यबद्धता जनाउँदै कम्पनीले उक्त रकमको चेक इप्पान मार्फत आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
यस विषम परिस्थितिमा निजी क्षेत्रको तर्फबाट मानवीय सेवाका लागि यो सहयोग उपलब्ध गराइएको हो । यस सामूहिक सहयोग रकममा बुटवल पावर कम्पनी र यसका कर्मचारीहरूको तर्फबाट मात्रै ३३ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ संकलन गरिएको छ, जसमा कम्पनीको २२ लाख र व्यवस्थापन तथा कर्मचारीहरूको ११ लाख ३६ हजार ९ सय ८६ रुपैयाँ योगदान रहेको छ ।
त्यसैगरी, समूह अन्तर्गतको न्यादी हाइड्रो पावर लिमिटेडले ५ लाख ५० हजार, हिमाल पावर लिमिटेडले ५ लाख, हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले ५ लाख ५ हजार र खुदी हाइड्रो पावर लिमिटेडले २ लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन् ।