
काठमाडौँ : गण्डकी प्रदेश सरकारमा मन्त्रालयको जिम्मेवारी हेरफेर गरिएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटालाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
यसअघि उक्त मन्त्रालय सम्हाल्दै आएका नन्दप्रसाद न्यौपानेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
देवकोटा २१ जेठ २०८१ मा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएपछि प्रदेश सरकारमा मन्त्री बनेका थिए। उनी तत्कालीन नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेसपाका सांसद हुन् ।
केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच गठबन्धन बनेपछि गण्डकीमा एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले १० भदौमा पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश सरकारमा मन्त्रालयगत जिम्मेवारी पुन:व्यवस्थित गर्ने क्रममा पछिल्लो हेरफेर गरिएको हो ।
यसअघि ऊर्जा मन्त्रालयको जिम्मेवारीमा रहेका न्यौपानेलाई मुख्यमन्त्री पाण्डेले आफूसँग राख्दै आएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी हस्तान्तरण गरेका छन् ।
जेन जेड आन्दोलनका क्रममा बालबालिकासहितका व्यक्तिको मृत्यु भएपछि देवकोटाले २४ भदौमा मन्त्री पदबाट राजीनामा दिएका थिए। देवकोटाले नयाँ जिम्मेवारी अनुसार पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् ।