
काठमाडौँ : नेपाली कांग्रेसले रसुवा बाढीका क्रममा सुरुङभित्र फसेका इन्जिनियर तथा श्रमिकको उद्धार तत्काल अघि बढाउन सरकारसँग आग्रह गरेको छ । उद्धार प्रक्रियामा सरकारले पर्याप्त तत्परता नदेखाएको भन्दै काँग्रेसले असन्तुष्टि व्यक्त गरेको हो ।
विश्वप्रकाश शर्मा संयोजक रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आठौँ बैठकले सुरुङभित्र रहेका नागरिकको उद्धारमा सरकारी पक्षबाट देखिएको कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ ।
बैठकले विपद्को अवस्थामा खोज तथा उद्धारमा निरन्तर परिचालित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य प्रशासनिक संयन्त्रको योगदानको प्रशंसा गरेको छ । तर, सुरुङमा फसेकाहरूलाई सुरक्षित बाहिर निकाल्ने विषयमा सरकारको तयारी र निर्णय प्रक्रियालाई भने बैठकले आलोचना गरेको छ ।
कांग्रेसले उद्धार कार्यमा आवश्यक प्राविधिक क्षमता र उपकरण जुटाउन छिमेकी मुलुकको सहयोग लिनुपर्ने धारणा अघि सारेको छ । विज्ञको सहयोग परिचालन गरी दुई-तीन दिनभित्रै सुरुङमा रहेका इन्जिनियर तथा श्रमिकलाई उद्धार गर्न सकिने अवस्था हुँदाहुँदै त्यसतर्फ पर्याप्त पहल नभएको उसको भनाइ छ ।
अन्तर्राष्ट्रिय सहयोग लिन अनिच्छा देखाउने, सहयोग जुटाउन ढिलाइ गर्ने तथा जलविद्युत् आयोजनासँग सम्बन्धित प्रवर्द्धक एवं निर्माण कम्पनीलाई समेत उद्धार प्रक्रियामा समयमै सहभागी हुन अनुमति नदिएको विषयमा कांग्रेसले प्रश्न उठाएको छ । यस्तो कार्यशैलीले विपद्को मानवीय पक्षलाई समेत गम्भीर असर पार्ने उसको निष्कर्ष छ ।
प्रतिष्ठानको बैठकले सुरुङभित्र रहेका नागरिकको जीवन रक्षालाई प्राथमिकतामा राख्दै तत्काल उद्धारको प्रभावकारी व्यवस्था मिलाउन र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने ठोस उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।