
काठमाडौं : भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीले दूरसञ्चार सेवा प्रदायक एनसेलको संरचनामा ठूलो क्षति पुर्याएको छ । रसुवाको टिमुरे क्षेत्रमा रहेको कम्पनीको एक मोबाइल टावर पूर्ण रूपमा नष्ट हुनुका साथै ६० किलोमिटरभन्दा बढी अप्टिकल फाइबर लाइन क्षतिग्रस्त भएको एनसेलले जनाएको छ । प्रारम्भिक आकलनअनुसार यसबाट कम्पनीलाई ९ करोड रुपैयाँभन्दा बढी आर्थिक नोक्सानी पुगेको छ ।
बाढी तथा पहिरोका कारण नुवाकोट, रसुवा र धादिङका २७ वटा टावर प्रभावित भएका थिए। तीमध्ये २४ वटा टावर पुनः सञ्चालनमा ल्याइसकिएको कम्पनीले जानकारी दिएको छ । बाँकीमध्ये रसुवाको घट्टेखोला र टिमुरेमा रहेका संरचना गम्भीर रूपमा क्षतिग्रस्त छन् भने नुवाकोटको त्रिशूली र विदुर तथा रसुवाको तिरुमा रहेका टावर पुनः सञ्चालनका लागि प्राविधिक टोली खटाइएको छ ।
विपद्पछिको आपतकालीन अवस्थालाई ध्यानमा राख्दै एनसेलले प्रभावित जिल्लाका ग्राहकलाई निःशुल्क दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका तीन लाखभन्दा बढी ग्राहकले निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गरिरहेका छन् । बाढी आउनुअघि सात दिनभित्र सक्रिय रहेका ग्राहकहरूलाई यो सुविधा प्रदान गरिएको हो ।
कम्पनीले सुरुमा तीन दिनका लागि निःशुल्क सेवा उपलब्ध गराएको थियो भने पछिल्लो निर्णयअनुसार सेवा अवधि थप सात दिनका लागि विस्तार गरिएको छ । सोमबारसम्म ग्राहकहरूले प्रयोग गरेको निःशुल्क सेवाको मूल्य एक करोड २० लाख रुपैयाँ नाघिसकेको कम्पनीले जनाएको छ ।
यसैबीच, आपतकालीन अवस्थामा सञ्चार पहुँच सुनिश्चित गर्न एनसेलले २५ हजारभन्दा बढी ग्राहकका सिम पुनः सक्रिय गरिदिएको छ । ब्यालेन्स अभावका कारण बन्द रहेका आउटगोइङ तथा इनकमिङ सेवा पुनः सञ्चालनमा ल्याइएपछि प्रभावित क्षेत्रका नागरिकलाई परिवारसँग सम्पर्क राख्न र उद्धार तथा राहत कार्यमा सहयोग लिन सहज भएको छ ।
एनसेलले नेपाल सरकार र नेपाल दूरसञ्चार प्राधिकरणसँग समन्वय गरी जनचेतनामूलक कल टोन र एसएमएस सन्देशहरू पनि प्रवाह गरिरहेको छ । ती सन्देशमार्फत दैवी प्रकोप उद्धार कोषमा सहयोग पठाउँदा आधिकारिक माध्यम सुनिश्चित गर्न, सामाजिक सञ्जालमा संवेदनशील सामग्री साझा नगर्न तथा सचेत रहन आग्रह गरिएको छ ।