२०८३ असोज २६ गते सोमवार / Oct 12 , 2026 , Monday
२०८३ असोज २६ गते सोमवार

कांग्रेसको मतगणना २३ ठाउँमा जारी

Nada
२०८३ असोज २६ गते १६:४४
Shares
कांग्रेसको मतगणना २३ ठाउँमा जारी

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदहरूको मतगणना कार्यलाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानेपामा एकसाथ २३ स्थानमा मत गन्ने कार्य भइरहेको छ । सभापतिसहित प्रमुख पदाधिकारीहरूको  मतगणना सकिएसँगै निर्वाचन समितिले सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्र गतिमा अघि बढाएको हो ।

ncell

धेरै पद र उम्मेदवारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टरअनुसार छुट्टाछुट्टै समूह बनाएर गणना अगाडि बढाएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन् ।

जसअनुसार खुला सहमहामन्त्री, महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्य पदको मतगणना ५ स्थानमा भइरहेको छ भने प्रवासस्थित नेपाली जनसम्पर्क समितिको मतगणनालाई तीव्रता दिन सबैभन्दा धेरै ९ स्थानमा टोली परिचालन गरिएको छ ।

त्यसैगरी आदिवासी जनजाति सहमहामन्त्री, आदिवासी जनजाति खुला केन्द्रीय सदस्य र आदिवासी जनजाति महिला सदस्यतर्फको गणना ३ स्थानमा भइरहेको छ । 

सुदूरपश्चिम प्रदेशतर्फको खुला केन्द्रीय सदस्य, महिला र ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्य पदको मतगणना ४ स्थानमा जारी छ । पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्री, खुला केन्द्रीय सदस्य र खुला महिला केन्द्रीय सदस्यको गणना २ स्थानमा भइरहेको छ ।

यसरी कुल २३ स्थानमा एकसाथ गणना कार्य अघि बढाइएपछि नतिजा सार्वजनिक हुने क्रममा तीव्रता आएको छ । उम्मेदवार तथा तिनका आधिकारिक प्रतिनिधिहरूको उपस्थितिमा सुरक्षा व्यवस्था कडा बनाएर मतगणना शान्तिपूर्ण रूपमा जारी राखिएको र बाँकी सबै पदहरूको अन्तिम परिणाम छिट्टै सार्वजनिक गर्ने तयारी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ । 

अघिल्लो महाधिवेशनमा भन्दा दोबरभन्दा धेरै करिब ७ हजार मतदाता भएकाले ढिलो भए जस्तो लाग्यो स्वभाविक भएको उनको भनाइ थियो ।

अघिल्लो महाधिवेशनमा झन्डै ३ हजार मतदाता रहँदा १२ दिन लागेको स्मरण गराउँदै उनले यसपटक त्यति समय नलाग्ने दाबी पनि गरे ।

ताजा खबर

सम्बन्धित खबर