
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा १५ औँ महाधिवेशनमा सभापति पदको उम्मेदवार बनेका श्यामकृष्ण खड्गीले पार्टीको आन्तरिक निर्वाचन सकिएसँगै गुट–उपगुट अन्त्य गरी मिलेर अघि बढ्नुपर्ने बताएका छन् ।
सोमवार पत्रकार सम्मेलन गरी उनले महाधिवेशनपछि अब सबै एकजुट हुनुपर्ने बताएका छन् । उनले अब आन्तरिक निर्वाचन सकिएकोले एकजुट भएर अगामी निर्वाचनमा पार्टीलाई जिताउने तयारीमा लाग्नुपर्ने बताए। आगामी स्थानीय र प्रदेश निर्वाचनको लागि पार्टीलाई पराजित मानसिकताबाट बाहिर निकालेर जनतासँगको सम्बन्ध बलियो बनाउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए । फागुन २१ गतेको निर्वाचनमा भएको हारलाई शिक्षाको रूपमा लिएर क्रियाशील सदस्यदेखि वडा, नगर, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रिय तहका सबै नेता तथा कार्यकर्ताहरू नागरिकको भावना बुझेर काम गर्न लाग्नुपर्ने उनको भनाई छ ।
उनले सभापतिमा निर्वाचित भएको गगन थापालाई सहयोग गर्ने बताए । सभापतिले पनि महाधिवेशनमा पराजित भएका नेताहरूलाई सँगै लिएर हिँड्नुपर्ने बताए । महाधिवेशनमा विजयी र पराजयी भएका सबैलाई सँगै लिएर हिँडे मात्रै पार्टी बलियो र गुटरहित बन्ने उनका भनाई छ । उनले पार्टीभित्र फरक समूहमा रहेका कारण सार्वजनिक रूपमा एक अर्काको आलोचना नगर्न पनि कार्यकर्तालाई आग्रह गरे ।
एकले अर्कालाई कमजोर देखाउन थालिएमा जनतामा पार्टीप्रति नकारात्मक सन्देश जाने उनले बताए । राजनीतिक पार्टीभित्र गुट र उपगुट देखिए पनि अधिवेशन सम्पन्न भएपछि त्यसलाई संस्थागत रूपमा अन्त्य गर्नुपर्ने उनको भनाई छ । उनले पार्टीभित्र गुटबन्दी र विभाजन अन्त्य गर्दै संस्थागत संस्कार विकास गर्न आफूले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।
उनले भने, ‘अब विजेता साथीहरूले पराजित हुने साथीहरूलाई सँगै लिएर हिँड्नुपर्छ । पराजित हुने साथीहरूले पनि विजयी हुने साथीहरूलाई सहयोग गर्दै अगाडि बढ्ने संस्कृतिको विकास गर्नुपर्छ । यो नै लोकतान्त्रिक पद्धतिको एउटा महत्त्वपूर्ण कडी हो, यो कडीमा सम्पूर्ण साथीहरूलाई अगाडि बढ्न आग्रह गर्न चाहन्छु । गगन जी सभापतिमा विजय प्राप्त गर्नुभयो । उहाँले मलाई साथ हिँडाउनुहुन्छ कि हुँदैन भन्ने उहाँको आफ्नो कुरा हो । तर मैले आफूले सकेको सहयोग गर्छु । विजय र पराजय भएको साथीहरूलाई सँगै लग्यो भने मात्रै पार्टी एक ढिक्का हुन्छ, बलियो हुन्छ र गुट रहित काँग्रेस बन्छ । अधिवेशनमा उम्मेदवारी दिएको, एउटा समूहमा नभएको, एकले अर्कालाई अधिवेशनमा असहयोग गरेको कारणले अब हाम्रो पार्टीभित्र टुटफुट र विभाजन हुनु हुँदैन, यसको कुनै छनक हुनुहुँदैन । जीवन्त पार्टीमा गुट हुन्छ, उपगुट हुन्छ । जब अधिवेशन सकिन्छ, त्यसको गुटलाई त संस्थागत रूपमा हामीले अन्त्य गर्नुपर्छ । हामी नेपाली नेता बीच एकले अर्कालाई खुइल्याउने जुन प्रवृत्ति छ, एउटा साथीले काँग्रेसको अर्को साथीलाई विरोध गर्दै गर्दाखेरि जनताहरूले नकारात्मक रूपमा लिन्छन् । हाम्रो ठूलो पार्टी हो, त्यसमा पार्टीका आन्तरिक समस्या होलान् । ती आन्तरिक समस्याहरूलाई हामीले आन्तरिक रूपले समाधान गरेर र जनताको माझमा काँग्रेसको सङ्गठन एक छ भन्ने हिसाबले हामी अगाडी बढ्नुपर्छ । हामी फागुन २१ गते पराजित मनस्थितिमा बसेका छौँ, त्यो पराजित मनस्थितिबाट हामीले नेपाली काँग्रेसलाई अझ माथि उठाउन र अबको दिनमा जनतासँग हामी जोडिएर अगाडी बढ्न आवश्यक छ । अबको दिनमा हुने स्थानीय चुनाव, प्रदेशको चुनावमा हामी सम्पूर्ण क्रियाशील सदस्यदेखि लिएर वडा सभापति, क्षेत्रीय, नगर सभापति र लगायत सबै एकजुट भएर लाग्नुपर्छ । हाम्रो एउटै अर्जुन दृष्टि भनेको पार्टीलाई एकताबद्ध बनाउने र पार्टीलाई अगाडि बढाउने कुरामा हुनुपर्छ । हाम्रा जुन दूर दराजमा बसेका साथीहरू छन्, काँग्रेसलाई भोट दिने, काँग्रेसलाई मन पराउने साथीहरू हुनुहुन्छ, काँग्रेसको अभियानमा जोड्ने साथीहरू हुनुहुन्छ, उहाँहरूको भावना अनुसार हामीले काम गर्नुपर्छ । हामी उच्च नैतिकता साथ अगाडि बढ्नुपर्ने स्थिति छ । हामीले हाम्रो पहिचानलाई अलिकति जनताले फरक ढङ्गले लिनेगरि विकास गर्नुपर्छ । ए यो काँग्रेसी हो, यसलेसत्य कुरा मात्रै बोल्छ, झुट बोल्दैन । यसले नैतिकता बेच्दैन, यसले भ्रम छर्दैन, गिरिजाबाबुले भनेको जस्तो यसले जे बोल्छ, त्यही गर्छ भन्ने किसिमको संस्कार हामीले विकास गर्नुपर्छ । यस किसिमको अभियानमा मेरो पनि साथ, सहयोग रहन्छ ।’
काँग्रेसमा नैतिकता, इमानदारी, सत्य बोल्ने संस्कार र जुझारुपन विकास गर्नुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याए । काँग्रेसका नेता तथा कार्यकर्ताको पहिचान जनतामाझ सत्य बोल्ने, प्रतिविद्धताअनुसार काम गर्ने र भ्रम नफैलाउने व्यक्तिका रूपमा स्थापित हुनुपर्ने उनको भनाई छ ।