
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको मत गणना जारी छ । सभापति, उपसभापति, महामन्त्रीको अन्तिम परिणाम आएको छ भने सहमहामन्त्रीको परिणाम अन्तिम चरणमा छ । विशेष महाधिवेशनलाई वैधानिक रूपमा पुष्टि गर्ने गरी आएको परिणामले समावेशितालाई भने ख्याल गरेको देखिएन । पार्टीका अधिकांश पदाधिकारीमा खसआर्यको वर्चस्व देखिएको छ ।
सभापतिमा गगन थापाले सानदार जित निकाल्दा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भए । खुला उपसभापतिमा चन्द्र भण्डारी र मधु आचार्य निर्वाचित भए भने महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौलाले जितेका छन् । उनीहरू सबै खसआर्यअन्तर्गत पर्छन् । खुला उपसभापतिमा उम्मेदवारी दिएका धनराज गुरुङ, प्रा.डा. चन्द्रमोहन यादव निकै मतान्तरले पछि परे ।
अन्तिम मतपरिणामअनुसार उपसभापतिमा निर्वाचित भण्डारीले तीन हजार ७३५, आचार्यले दुई हजार ३४२ मत प्राप्त गरे । गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र चन्द्रमोहन यादवले ७६० मत पाएका छन् ।
पार्टीको विधाले दिएको समावेशिताको क्लस्टरबाट उपसभापतिमा व्यापारी विनोद चौधरीले जिते । चौधरीसँग प्रतिस्पर्धा गरेका पूर्वसहमहामन्त्री जीवन परियार, निवर्तमान सहमहामन्त्री फरमुल्लाह मन्सुर र पूर्वकेन्द्रीय सदस्य सीता गुरुङ, रञ्जित कर्णसहितका नेता पराजित भए । समावेशी उपसभापतिमा चौधरीले एक हजार ७४५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ पाएका छन् । सोही पदका उम्मेदवार फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।
समावेशिताका हिसाबले कांग्रेस विधान उत्कृष्ट रहे पनि परिणामतः सामाजिक र राजनीतिक न्यायको दृष्टिकोणले समावेशी उपसभापतिमा अन्याय भएको उपसभापतिका निकटतम प्रतिस्पर्धी जीवन परियारले बताए । ‘नेपाली कांग्रेसको विधान समावेशिताका दृष्टिकोणबाट उत्कृष्ट नै छ । तर यो क्लस्टरमा कसलाई प्राथमिकता दिने भन्ने कुरा पार्टीका नेता, कार्यकर्ता साथीहरूले विचार पुर्याउनुपर्ने कुरा हो । अहिलेको परिणामले अझै समावेशी राजनीतिक न्यायको पक्ष कमजोर रहेको देखायो ।’ उनी आफैं विधान मस्यौदा समितिको सदस्य भएर उपसभापतिमा महिला र समावेशिताको क्लस्टर छुट्याउन लागिपरे । तर समावेशी उपसभापतिका परिकल्पानाकार नै परिणाममा पछि परेका हुन् ।
महामन्त्रीमा निर्वाचित प्रदीप पौडेलले चार हजार १९४, उदयशमशेर राणाले दुई हजार ३३० र डा. डिला संग्रौलाले तीन हजार ११८ मत पाए । महामन्त्रीको खुला प्रतिस्पर्धामा राणासँग निकटतम प्रतिस्पर्धी रहेका सुनील शर्माले दुई हजार २५७ मत प्राप्त गरेका छन् । विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४, अमरसिंह पुनले एक हजार १२५, शंकर तिवारीले १२३ र सन्तोष उपाध्यायले ९७ मत पाए । महामन्त्रीका बलिया उम्मेदवार मानिएका पुन छैटौं स्थानमा पुगे ।
त्यस्तै, महिला महामन्त्रीमा संग्रौलाले महालक्ष्मी उपाध्याय ‘डिना’लाई २५४ मतले पराजित गरिन् । संग्रौलाले तीन हजार ११८ मत प्राप्त गर्दा उपाध्यायले दुई हजार ८६४ मत पाइन् । अर्की उम्मेदवार रीता खनालले ८०४ मत प्राप्त गरिन् । महिला उम्मेदवारी दर्तामै समावेशिता थिएन । खुला सहमहामन्त्रीको मत परिणाममा समेत खसआर्य समुदायकै अग्रता देखिएको छ । जसमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी जितनजिक पुगेका हुन् । अन्तिम परिणाम आउने चरणमा छ । अन्य क्लस्टरको मत परिणामसमेत त्यस्तै देखिएको छ । महिला सहमहामन्त्रीमा प्रतिमा गौतम र नानू बास्तोलाबीच प्रतिस्पर्धा हुँदा गौतम निर्वाचित भएकी छन् । उनीहरू खसआर्यसमुदायकै प्रतिनिधित्व गर्ने महिला हुन् । यद्यपि पार्टीले सबैको प्रतिनिधित्व सुनिश्चितता गर्न विधानमै समावेशी, समानुपातिको एजेन्डालाई प्राथमिकता दिएको छ ।
विधानको व्यवस्थाअनुसार सबै वर्ग, समुदायको प्रतिनिधित्व हुनेगरी उम्मेदवारी परेकाले महाधिवेशनमा मतपत्र नै २३ प्रकारको छापिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले बताए । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले इतिहासमै सबै राजनीतिक दलहरूभन्दा बढी समावेशिताको अभ्यास गरेको दाबी गरे । उनले मध्यान्हसँग भने, ‘नेपाली कांग्रेस पार्टी मात्रै त्यस्तो पार्टी हो जसले वडादेखि केन्द्रसम्म लैंगिक, जातिगत समुदाय, भौगोलिक र विदेशमा बस्ने नेपालीको समेत प्रतिनिधित्वलाई विधानमै सुनिश्चित गरेको छ ।’ कांग्रेसको यो अभ्यास समावेशिताका हिसाबले सबैभन्दा उत्तम रहेको उनको भनाइ छ । विधानमा समावेशितालाई उच्च प्राथमिकता दिएको कांग्रेसले दाबी गरेको छ । तर पदाधिकारीमा अधिकांश उम्मेदवार खसआर्य समुदायकै बढी भएकाले सोहीअनुसार निर्वाचित भएको कांग्रेसका नेताहरूको भनाइ छ ।
विशेष महाधिवेशनलाई ‘अनुमोदन’
गत पुस अन्तिम साता विशेष महाधिवेशनको अभियान चलाउने र विशेषबाटै नेतृत्वमा स्थापित भएका अधिकांश नेता नियमित महाधिवेशनको मतद्वारा पुनः अनुमोदित भए । तत्कालीन संस्थापन पक्षले २०८२ मंसिरमै हुनुपर्ने नियमित महाधिवेशन रोकेर वैशाखमा सार्ने निर्णय लिएपछि १४औं महाधिवेशनबाट महामन्त्री बनेका गगन थापा–विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको नेतृत्व गरेका थिए । ४७ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित आह्वान गरेर सम्पन्न विशेष महाधिवेशनलाई अवैधानिक भन्दै तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष निर्वाचन आयोग हुँदै अदालत गएको थियो । यद्यपि निर्वाचन आयोग र सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई आधिकारिकताको पत्र दिएको थियो । यस विषयमा सर्वोच्चले पुनः निस्सा दिएको थियो । अदालतमका अन्तिम परीक्षणको निस्सा विचाराधीन छ ।
कानुनी हिसाबले मुद्दा अझै बाँकी रहे पनि नियमित महाधिवेशनले चार वर्षका लागि नयाँ केन्द्रीय समिति बनाएको छ । प्रतिनिधिहरूले विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्ने गरी नेता चयन गरेका छन् । सभापतिसहित अधिकांश पदाधिकारीमा विशेष महाधिवेशनबाटै आएका नेताहरू छानिएका हुन् । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापतिहरू मधु आचार्य, विनोद चौधरी, पुष्पा भुसाल, महामन्त्रीत्रय प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौलासहित अधिकांश नेता विशेष महाधिवेशनबाट स्थापित नेता हुन् । उपसभापतिमा विजयी भएका चन्द्रकान्त भण्डारी पछि जोडिएका नेता हुन् ।
महामन्त्री निर्वाचित पौडेल १४औं महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षबाट महामन्त्रीका उम्मेदवार थिए । त्यतिबेला दुई महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुँदा उनी पराजित भएका थिए । त्यसपछि पार्टीभित्रको नेतृत्व परिवर्तनको प्रक्रियामा थापा नेतृत्वसँग नजिकिएका पौडेल विशेष महाधिवेशनबाट महामन्त्री बनेका थिए । यसअघि देउवानिकट नेताका रूपमा चिनिने राणा पनि विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेका थिए । नियमित महाधिवेशनले उनलाई महामन्त्री पदमा पदोन्नति गराएको छ । विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरुराज घिमिरे भने एक हजार ५१३ मतसहित चौथो स्थानमा पुगे । नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महर र लुम्बिनी प्रदेश कार्यसमितिका सभापति अमरसिंह पुन पनि पराजित भए । महर विशेष महाधिवेशनको विपक्षमा थिए भने पुन विशेष महाधिवेशनलाई लुम्बिनी प्रदेशमा स्थापित गर्ने नेता हुन् ।
महिला महामन्त्रीमा संग्रौला र उपाध्यायबीच प्रतिस्पर्धा भएको थियो । विशेष महाधिवेशनबाट सहमहामन्त्री बनेकी संग्रौला यसअघि देउवानिकट थिइन् । पार्टीको विशेष महाधिवेशनमा नै उनी थापा नेतृत्वसँग नजिकिएकी थिइन् । १४औं महाधिवेशनमा सहमहामन्त्री निर्वाचित उपाध्याय देउवा समूहबाट महाधिवेशनपूर्व मात्रै समायोजन भएकी थिइन् । देउवा पक्षले समानान्तर महाधिवेशनको तयारी गरिरहेका बेला उपाध्यायको नेतृत्वमा करिब ५० नेताहरू महाधिवेशनको अन्तिम समयमा मूलधारमा जोडिएका थिए । तीमध्ये अधिकांश नेता १५औं महाधिवेशनमा पराजित भएका छन् ।