२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

दसैंलाई चुनावी अभियान बनाउँदै दलहरू

Nada
जीवन शर्मा
२०८३ असोज ३० गते ०६:२५
Shares
दसैंलाई चुनावी अभियान बनाउँदै दलहरू

काठमाडौं : स्थानीय तहको निर्वाचनमा पहिलोपटक भाग लिने तयारीमा रहेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दसैं बिदालाई चुनावी अभियानका रूपमा उपयोग गर्ने भएको छ । सरकारले आगामी स्थानीय तहको निर्वाचन फागुनमै गर्ने तयारी गरिरहेका बेला रास्वपाले दसैंलाई चुनाव केन्द्रित गतिविधिको महत्वपूर्ण अवसर बनाएको हो ।

ncell

चाडपर्वका बेला सहरबाट गाउँ फर्किने नागरिकसँग भेटघाट र संवाद गर्ने अवसरलाई दलहरूले राजनीतिक गतिविधिका लागि उपयोग गर्न खोजेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अनौपचारिक रूपमा नागरिकसँग संवाद गर्ने तयारी गरेका छन् भने रास्वपाले केन्द्रीय समितिबाटै निर्णय गरेर अभियान अघि बढाएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको १५औं महाधिवेशनपछि आएको नयाँ नेतृत्वले आगामी कार्यक्रम तय गर्नेछ । कांग्रेसले दसैंलाई चुनावी अभियानका रूपमा उपयोग गर्ने औपचारिक निर्णय भने गरेको छैन । तर, गाउँ पुगेका नेता–कार्यकर्ताले वडा, पालिका र जिल्लास्तरमा शुभकामना आदानप्रदानमार्फत राजनीतिक गतिविधि बढाउने तयारी गरेका छन् ।

कांग्रेस सहमहामन्त्री रामहरि खतिवडाले महाधिवेशनको पूर्ण परिणाम आएपछि पदाधिकारी र पूर्वपदाधिकारीबीच छलफल गरेर दसैंलगायत आगामी कार्यक्रम तय गरिने बताए । कांग्रेसले यस वर्ष पनि कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम गर्ने जनाएको छ ।

नेकपा एमालेले पनि नेता–कार्यकर्तालाई गाउँ पुगेर नागरिकसँग संवाद गर्न अनौपचारिक निर्देशन दिएको छ । पार्टी सचिव महेश बस्नेतले दसैंका बेला सरकारका गतिविधि, महँगी, भ्रष्टाचार र अनियमितताबारे नागरिकलाई जानकारी गराइने बताए । उनका अनुसार दसैं–तिहारपछि पार्टीले बृहत् कार्यक्रम तय गर्नेछ ।

नेकपाले पनि दसैंलाई नागरिकसँग संवाद गर्ने अवसरका रूपमा लिएको छ । नेता हितराज पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट र नागरिकका समस्या पहिचान गर्न नेताहरूले आफ्नो कार्यक्षेत्रमा संवाद गर्नेछन् । तर, पार्टीले दसैंलाई औपचारिक चुनावी अभियान बनाउने निर्णय भने गरेको छैन ।

यी दलभन्दा फरक रास्वपाले केन्द्रीय समितिबाटै निर्णय गरेर दसैं–तिहारलाई चुनाव केन्द्रित अभियानमा उपयोग गर्ने योजना बनाएको छ । पार्टीले गाउँ फर्किएका नागरिकसँग भेटघाट, स्थानीय समस्या र सेवा प्रवाहबारे छलफल तथा चुनावी तयारीका लागि सुझाव संकलन गर्न निर्देशन दिएको छ ।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार, पार्टीले केन्द्रीय प्रतिनिधि खटाएर आगामी निर्वाचन लक्षित कार्यक्रम अघि बढाएको छ । ‘चाडपर्वको समयमा देश–विदेशबाट आफ्नो गाउँ आएका नागरिकसँग भेटेर आवश्यक सल्लाह–सुझाव लिने र सोहीअनुसार स्थानीय तहको निर्वाचनको तयारी गर्ने योजना छ,’ उनले भने ।

रास्वपाले पालिका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार बन्न इच्छुकलाई आवेदन दिन आह्वानसमेत गरेको छ । उम्मेदवार छनोटका लागि प्रारम्भिक निर्वाचन (प्राइमरी), लिडरसिप एकेडेमीको अनिवार्य परीक्षा, राजनीतिक–सामाजिक धरातलको मूल्यांकन र समावेशितालाई मुख्य आधार बनाइएको खरेलले बताए ।

निर्वाचन आयोगले फागुनमा चुनाव गराउन सकिने संकेत गरे पनि सरकारले निर्वाचनको मिति औपचारिक रूपमा घोषणा गर्न बाँकी छ । यस्तो अवस्थामा दसैंमा गाउँ फर्किने नागरिकसँगको संवादलाई दलहरूले आगामी स्थानीय तहको निर्वाचनको तयारीसँग जोड्न थालेका हुन् ।

सम्बन्धित खबर