
काठमाडौं : वर्षा तथा प्राकृतिक विपद्का कारण गण्डकी र कर्णाली प्रदेशका तीन जिल्लामा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण सडक अवरुद्ध भएका हुन् । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा असोज १ गते बिहान ५ः५० बजेदेखि सडक प्रभावित भएको हो ।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आरुघाट गाउँपालिका–१ नयाँपुल क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ । सो क्षेत्रमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । उक्त सडक आज बिहान ५ः३० बजेदेखि अवरुद्ध छ ।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ । उक्त स्थानमा कात्तिक १ गते बिहान ५ः४५ बजेदेखि सडक प्रभावित भएको हो ।
प्रहरीले अवरुद्ध सडक खुलाउने र यातायात सञ्चालन सहज बनाउने प्रयास भइरहेको जनाएको छ । सडकको अवस्थालाई ध्यानमा राख्दै यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।