
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सामाजिक सञ्जालमार्फत प्रतियोगितामा डिआरएस प्रविधि प्रयोग गरिने जानकारी दिएको हो ।
डिआरएसको प्रयोगले खेलका क्रममा अम्पायरबाट हुने निर्णयलाई पुनरावलोकन गर्न सकिनेछ । यसले खेलको निष्पक्षता बढाउनुका साथै निर्णय प्रक्रियालाई थप व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।
क्यानका सचिव पारस खड्काले यसअघि नै एनपिएलमा पहिलोपटक डिआरएस प्रविधि भित्र्याउने तयारी भइरहेको बताएका थिए । उनका अनुसार यसका लागि दुई कम्पनीसँग प्रविधिको परीक्षण सम्पन्न भइसकेको थियो । परीक्षणपछि प्रविधिको तथ्यपरकता (एक्युरेसी) मूल्यांकन गरेर अन्तिम निर्णय लिने तयारी गरिएको थियो ।
डिआरएस क्रिकेटमा प्रयोग हुने आधुनिक प्रविधि हो । खेलका क्रममा अम्पायरले दिएको निर्णयप्रति चित्त नबुझेमा सम्बन्धित टोलीले पुनरावलोकन माग गर्न सक्छन् । यस्तो व्यवस्थाले गलत निर्णय सच्याउन सहयोग पुग्नुका साथै बलिङ टोलीलाई विकेट प्राप्त गर्न र ब्याटिङ टोलीलाई गलत निर्णयका कारण गुमेको विकेट जोगाउन अवसर दिन्छ ।
क्यानका अनुसार एनपिएलमा एलबीडब्लु (लेग बिफोर विकेट) सम्बन्धी निर्णय पुनरावलोकन गर्न फुल थ्रीडी बल ट्र्याकिङ प्रविधि प्रयोग हुनेछ। यसका अतिरिक्त रनआउट, स्टम्पिङ र नो बलसम्बन्धी निर्णयको पनि समीक्षा गर्न सकिनेछ ।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई) को माध्यमबाट ब्याटमा बल लागेको छ वा छैन भन्ने एज डिटेक्सन सुविधा पनि उपलब्ध हुनेछ । हाइटका आधारमा वाइड बलको विश्लेषण, छक्का प्रहार भएको बलको दूरी र उचाइ मापन तथा बलिङसम्बन्धी अन्य विश्लेषणात्मक तथ्यांकसमेत उपलब्ध हुने क्यानले जनाएको छ ।
एनपिएलको तेस्रो संस्करण अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ । प्रतियोगितामा डिआरएसको प्रयोगले खेलको गुणस्तर सुधार गर्नुका साथै नेपाली क्रिकेटमा प्रविधिको प्रयोगलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ ।