
रौतहट : भारतको बिहारस्थित सीतामढी जिल्लाको बैरगनिया क्षेत्रमा बागमती नदीको बाटो हुँदै तस्करी गरिएको १ हजार २९६ लिटर नेपाली रिल्याक्स मदिरा बरामद भएको छ।
ठूलो परिमाणमा मदिरा बरामद भएपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी र सुरक्षा निगरानीमाथि प्रश्न उठेको छ।
स्थानीयका अनुसार रौतहटको राजदेवी नगरपालिका–९ स्थित ब्रह्मपुरी गाउँबाट बागमती नदी हुँदै बैरगनिया बजारलगायत भारतीय सीमावर्ती क्षेत्रमा नियमित रूपमा नेपाली मदिरा पुर्याउने गरिएको छ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार तस्करहरूले मदिराका बोतल बोरामा प्याक गरी पानीमा तैरिने पोका बनाएर डुङ्गा वा अन्य तैरिने साधनमार्फत नदी पार गराउने गरेका छन्।
मुख्य सडक र नाकामा सुरक्षा जाँच कडा भएपछि तस्करीका लागि नदीको बाटो प्रयोग गर्ने गरिएको बताइएको छ। मदिरा बरामद भएको घटनाले रौतहटको लक्ष्मीपुर बेलबिछवा प्रहरी चौकी र सशस्त्र प्रहरी बल बेलबिछवाको कार्यक्षेत्रमा भइरहेको निगरानीमाथि प्रश्न उठाएको छ।
स्थानीयले केही सुरक्षाकर्मीको मिलेमतोमा मदिरा तस्करी हुने गरेको आरोपसमेत लगाएका छन्।
यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि भएको छैन। बिहारमा मदिराको बिक्रीवितरण प्रतिबन्धित रहेकाले नेपाली मदिरा अवैध रूपमा भारततर्फ लैजाने गरिएको बताइन्छ। खुला सीमा र नदीको जलमार्ग प्रयोग गरेर हुने यस्तो तस्करीले राजस्व चुहावटसँगै सीमावर्ती क्षेत्रमा सुरक्षा चुनौती बढाएको छ। बरामद मदिरा कुन उद्योगमा उत्पादन भएको हो र तस्करीमा को–को संलग्न छन् भन्नेबारे थप विवरण आउन बाँकी छ।
घटनाबारे नेपालतर्फ पनि निष्पक्ष छानबिन गरी तस्करीको सञ्जाल र सम्भावित संलग्नताबारे सत्यतथ्य सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ। सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा निकायबीच सूचना आदानप्रदान तथा समन्वय प्रभावकारी बनाउनुपर्ने देखिएको छ।