२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

२५ सय गैरआवासीय नेपालीले लिए नागरिकता

Nada
अस्मिता बम
२०८१ भदौ ६ गते ०६:४५
Shares
२५ सय गैरआवासीय नेपालीले लिए नागरिकता

काठमाडौं : २५ सय भन्दा बढीले गैरआवासीय नेपाली नागरिकता लिएको पाइएको छ । गृहमन्त्रालयका अधिकारीहरूका अनुसार विगत १० महिनाको अवधिमा २५ सय भन्दा बढीले गैरआवासीय नेपाली नागरिकता लिएका हुन् । नेपालको संविधान अनुसारको नागरिकता ऐन बनेपछि ३० असोज २०८० देखि नेपालमा गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको हो । त्यसयता २५ सय भन्दा बढीले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

ncell

गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिहरुले नेपालमा राजनीतिक बाहेकका अधिकार प्रयोग गर्न सक्छन् । उनीहरूले नेपालमा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउँछन् । जस अन्तर्गत नेपालमा लगानी गर्न, व्यापार व्यवसाय गर्न र पैतृक सम्पत्ति उपभोग तथा बेचबिखन गर्न पाउँछन् ।

नेपालमा बैंक खाता खोल्न, विदेशी मुद्रामा कारोबार गर्ने गरी बैंक खाता खोल्न, लगानीका लागि खुला गरिएको उद्योग व्यवासायका लगानी गर्न सक्छन् । यो अधिकार संविधानतः विसं २०७२ सालमै गैरआवासीय नेपालीले पाएका हुन् । विसं २०७२ सालमा जारी भएको नयाँ संविधानले गैरआवासीय नेपालीलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकारसहितको नागरिकता दिने व्यवस्था गरेको छ ।

कानून बन्न समय लागेका कारण आठ वर्षपछि ३० असोज २०८० बाट गैरआवासीय नेपाली नागरिकता वितरण सुरु भएको हो । नागरिता सम्बन्धी ऐनअनुसार विदेशी मुलुकको नागरिकता प्राप्त गरी सार्क सदस्यराष्ट्र बाहेकका देशमा बसोबास गरेको र साविकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउनेगरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्छन् ।

यो कानूनी व्यवस्थाअनुसार विदेशको नागरिकता लिएका तर कुनै समय नेपाली नागरिक रहेका व्यक्तिहरूका नातिनातिनासम्मले गैरआवासीय नेपाली नागरिकता पाउँछन् । नेपालको नागरिकता फिर्ता नगरि विदेशी नागरिकता लिएका व्यक्तिले भने गैरआवासीय नेपाली नागरिकता पाउँदैनन् । गैरआवासीय नेपाली नागरिकता लिन पहिले लिएको नेपाली नागरिकता फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ ।

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले प्रमुख जिल्ला अधिकारीबाट शपथ लिनुपर्ने हुन्छ । ‘नेपालको संविधान र प्रचलित कानुनबमोजिम गैरआवासीय नेपाली नागरिकलाई प्राप्त अधिकारबाहेक अन्य कुनै पनि अधिकार उपभोग गर्ने छैन’ भनेर प्रतिबद्धता समेत जनाउनुपर्ने हुन्छ । 

ताजा खबर

सम्बन्धित खबर