२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

मजबुत अर्थतन्त्र : राजस्व भन्दा रेमिट्यान्स धेरै

ADV
छबि सापकोटा
२०८१ जेठ २८ गते २०:५१
मजबुत अर्थतन्त्र : राजस्व भन्दा रेमिट्यान्स धेरै

काठमाडौं : आन्तरिक अर्थतन्त्र अझै मन्दीकै मारमा परिरहेको अवस्थामा अर्थतन्त्रका बाह्य सूचक भने मजबुत बन्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले नेपालको अर्थतन्त्र निरन्तर मजबुत हुँदै गएको देखाएको हो । चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले कुल विदेशी सञ्चिति २६.२ प्रतिशतले बढेको देखाएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको कुल विदेशी मुद्राको सञ्चिति २०८१ वैशाख मसान्तसम्ममा १९ खर्ब ४२ अर्ब ४० करोड पुगेको छ । १० महिनामा ४ खर्ब विदेशी सञ्चिति बढेको हो । उक्त विदेशी मुद्राको सञ्चितिले चालु आर्थिक वर्षको दश महिनाको आयातलाई आधार मान्दा १५.१ महिनाको वस्तु आयात र १२.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २८ प्रतिशतले बढेको छ । २०८० असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा २०८१ बैशाख मसान्तमा १७ खर्ब २२ अर्ब २ करोड पुगेको छ । त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) अन्यसँग विदेशी विनिमय सञ्चिति दुई खर्ब २० अर्ब ३८ करोड रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनअनुसार समीक्षा अवधिमा चालु खाता १९ खर्ब ३ अर्ब २५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६३ अर्ब ७४ करोडले घाटामा रहेको थियो । शोधनान्तर स्थिति ३९ खर्ब २ अर्ब ६४ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० खर्ब ९ अर्ब ४९ करोडले बचतमा रहेको थियो । 

यस्तै चालु आर्थिक वर्षको १० महिनामा १९.२ प्रतिशतले रेमिट्यान्स वृद्धि करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । नेपालमा बैदेशिक रोगजारीको जानेको संख्या थपिदै जाँदा रेमिन्ट्यान्स समेत बढी भित्रिएको छ । 

यसरी बाह्य अर्थतन्त्रको सुधार निरन्तर बढ्दै गएपनि आन्तरिक अर्थतन्त्र भने तंग्रिन सकिरहेको छैन । वैदेशिक व्यापार, सरकारी खर्च र राजस्व बढ्न नसक्दा आन्तरिक अर्थतन्त्रमा भने मन्दीको असर देखिएको छ । निजी क्षेत्रमा गएको कर्जा करिब ५ प्रतिशतले बढेपनि आयात निर्यातमा घट्दा आन्तरिक अर्थतन्त्र शिथिल बन्न पुगेको छ । चालु आर्थिक वर्षको दश महिनामा कुल वस्तु निर्यात ३.६ प्रतिशतल घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि निर्यातमा २४.५ प्रतिशतले कमी आएको थियो । नेपालबाट निर्यात हुने पाम तेल, सोयाविन तेल, ऊनी गलैचा, चिया, लगायतका वस्तुको निर्यात घटेको छ । यस्तै आयात समेत घटिरहेको छ । आर्थिक वर्ष २०८०/८१ को दश महिनामा कुल वस्तु आयात २.४ प्रतिशतले घटेर १३ खर्ब ३ अर्ब ३६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १६.८ प्रतिशतले कमी आएको थियो । आयात निर्यातमा कमी हुँदा त्यसको असर राजस्वमा परेको छ ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार आर्थिक वर्ष २०८०/८१ को जेठ अन्तिम हुँदासमेत नेपाल सरकारको कुल खर्च ११ खर्ब ६९ अर्ब ७६ करोड अथात् ६६ प्रतिशत मात्र छ ।  जसमा चालु खर्च आठ खर्ब १६ अर्ब ६९ करोड अथार्त ७१ प्रतिशत, पँुजीगत खर्च एक खर्ब ३१ अर्ब ४९ करोड अर्थात ४३ प्रतिशत र वित्तीय व्यवस्था खर्च २ खर्ब २१ अर्ब ५७ करोड  अर्थात ७२ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष सकिन एक महिना मात्र बाँकी हुँदा सरकारको पुँजीगत खर्च ५० प्रतिशत समेत हुन नसक्दा त्यसको असर आन्तरिक अर्थतन्त्रमा देखिएको छ । राजस्व समेत लक्ष्यको ६३ प्रतिशतमै सिमित भएर नौ खर्ब उठेको छ । राजस्व भन्दा धेरै रेमिट्यान्स नेपालमा भित्रिदा नेपालको बाह्य अर्थतन्त्र मजबुत र आन्तरिक अर्थतन्त्र मन्दीबाट उम्किन सकेको छैन ।

ADVADV

सम्बन्धित खबर

Advertise