२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

छोराछोरी विदेशमा, बा-आमा ‘होस्टेल’मा

ADV
अस्मिता बम
२०८१ भदौ १३ गते ०६:४५
छोराछोरी विदेशमा, बा-आमा ‘होस्टेल’मा

काठमाडौं : पछिल्लो समय रोजगारका लागि मात्र नभइ अध्ययनका लागि बाह्य मुलुक जाने क्रम बढ्दो छ । अझै युवा पुस्ताका अधिकांश मानिसहरु गुणस्तरीय शिक्षाका लागि युरोप, अमेरिका र अष्ट्रेलिया जस्ता राष्ट्रहरुमा जान रुचाउँछन् । आफ्नो अध्ययनकाल सकिएपछि त्यहीँको स्थायी बसोबास अनुमति (पीआर) लिएर बस्नेहरुको संख्या पनि बढ्दो क्रममै छ । 

यस्तो क्रम बढ्दै जाँदा घरमा वृद्ध बुबा आमा साहाराविहीन भएर बसिरहेका कैयौं उदाहरुण पनि नेपाली समाजमा देख्न सकिन्छ । तीनै सहाराविहीन बुबा आमाको साहारा बनेको छ, हेल्थ होम केयर नेपाल । जसलाई वृद्धवृद्धाहरुको ‘होस्टेल’ पनि भन्न सकिन्छ । होस्टेल अर्थात शुल्क तितेर बस्ने ठाउँ । जहाँ बस्ने व्यक्तिको सामाजिक, मानसिक र शारीरिक पक्षको हेरचाह गरिन्छ । 

यसरी नै छोरा अमेरिका र छोरी अष्ट्रेलियामा रहेका कारण विगत ११ वर्षदेखि हेल्थ होम केयरमा बस्दै आइरहेका छन् राजबहादुर मानन्धर । काठमाडौंको डल्लुमा घर भएका उनी उमेरले ७९ वर्ष पुगे । ६० वर्षको उमेरसम्म अध्यापन गराएर छोराछोरीलाई दक्ष बनाइ विदेश पठाएका राजबहादुर श्रीमती गुमाएपछि एक्लिएका थिए । परिवारसँगै बस्न रमाउने उनी शुरुमा बाथ रोगबाट पीडित श्रीमतीको स्याहारका लागि हेल्थ होम केयरमा आएका थिए । 

२०७४ सालतिर श्रीमतीको निधनले कमजोर बनेका उनी हालसम्म होम केयरलाई आफ्नै घर सम्झेर बसिरहेका छन् । ‘छोराछोरी वर्षदिन जतिमा भेट्न आइरहन्छन् । यता बसेदेखि यतै रमाइलो लाग्छ’ सुस्त आवाजमा उनले भने । बुढेसकालले छोएपछि बढेको कमजोरी र स्वास्थ्यावस्था त्यति ठीक नभएका कारण आफू होम केयरमा बसिरहेको उनी बताउँछन् । 

६८ वर्षीय रामप्रसाद श्रेष्ठ पनि होम केयरकै अर्का सदस्य हुन् । दुई जना छोरा अष्ट्रेलियामा रहेका उनी मुटुरोगी रहेछन् । हालसालै शल्यक्रिया भएकाले आफैले आफ्नो हेरचाह गर्न नसक्ने अवस्थाका कारण त्यहाँ आएको रामप्रसादको भनाइ थियो । सँगै घरको एक्लोपन होम केयरको ४० जनाको परिवारले महसुस हुन नदिने पनि उनी बताउँछन् । 

अर्का मुटुरोगी विनोद श्रेष्ठका छोराहरु पनि अष्ट्रेलियामै छन् । विदेश जान नरुचाउने उनी घरमा पनि एक्लै बस्न सक्दैनन् । आठ महिनादेखि होम केयरमा आएका उनी आफ्नै उमेर समूहका दर्जनौं मानिसहरुसँगै समय व्यतित गर्न रुचाउँछन् । साथै बस्ने र खाने सुविधाबाहेक समय–समयमा डाक्टरहरुबाट हुने स्वास्थ्य परिक्षण र नर्सहरुको रेखदेखले दैनिकी सहज भइरहेकोे उनको भनाइ छ । 

राजबहादुर, रामप्रसाद र विनोदका जस्तै त्यहाँ बस्ने ५० प्रतिशत बुवाआमाका छोराछोरी विदेशमै रहेको बताउँछिन् सो संस्थाकी अध्यक्ष प्रा.डा. लोचना श्रेष्ठ । उनी भन्छिन्, ‘स्वदेशमै राम्रो शिक्षा र काम नपाएर विदेश गएर लामो समय उतै बस्नेहरुको संख्या बढ्दै छ । यस्तोमा कतिपयको बुबाआमालाई सँगै लैजाने स्थिति हुन्न र नेपालमा बसौं भन्ने पनि हुन्न । त्यस्तै बुबाआमा र छोराछोरीलाई राहत मिलोस् भन्ने हेतुले हामीले यो संस्था खोलेका हौं ।’

सन् २०११ मा दर्ता भइ २०१२ देखि सञ्चालनमा आएको हेल्थ होम केयर नेपालमा अहिले ४० जना छन् । सामान्य अवस्थादेखि हिँडडुल गर्न नसक्ने, श्वासप्रश्वासको समस्या कारण २४ घण्टा नै अक्सिजन दिएर राख्नुपर्ने र अल्जाइमरको समस्या रहेका वृद्धवृद्धा पनि रहेको प्रा.डा. श्रेष्ठले बताइन् । ‘६० वर्षभन्दा माथिको उमेरका बुवाआमाहरु हुनुहुन्छ । धेरै चाहिँ हिँड्न नसक्ने, शौचालय पनि जान नसक्ने, के–के भयो थाहा पनि नपाउने हुनुहुन्छ । कसैले खाना चाहिँ आफैं खान सक्नुहुन्छ’, उनले भनिन् । 

होम केयरमा रहेका विभिन्न समस्याले ग्रसितहरुका आफन्त नेपालमै भए बेला–बेला भेट्न आइरहने, तर विदेशमा भएकाहरुले फोनबाटै हालखबर बुझ्ने गरेको पनि प्रा.डा. श्रेष्ठले बताइन् । श्रेष्ठका अनुसार कतिपयले बुबाआमाको स्याहारबावतको खर्च आफू भएकै ठाउँबाट पठाउने गरेका छन् । 

कतिपय होम केयरमा बसेकाहरु भने आफ्नै भत्ता र पेन्सनले बसिरहको उनले जानकारी दिइन् । काठमाडौं उपत्यका, चितवन र विराटनगरलगायतका विभिन्न ठाउँबाट आएर वृद्धवृद्धाहरुले आफ्नो एक्लो र बेसाहारा जीवनको सहयोगीको रुपमा हेल्थ होम केयरलाई सम्झिने गरेको प्रा.डा. श्रेष्ठको भनाइ छ । 

ADVADV

सम्बन्धित खबर

Advertise