२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

आयुषाको संघर्ष र सफलता : दमकको सुकुम्वासी बस्तीको भोको पेटदेखि कतारमा सौन्दर्य कम्पनीको मालिकसम्म

ADV
मध्यान्ह
२०८१ भदौ २० गते १५:०२
आयुषाको संघर्ष र सफलता : दमकको सुकुम्वासी बस्तीको भोको पेटदेखि कतारमा सौन्दर्य कम्पनीको मालिकसम्म

काठमाडौं : इलाममा जन्मिएकी आयुषा श्रेष्ठ कतारमा सफल सौन्दर्य व्यवसायीका रूपमा परिचित छिन् । इलाममा जन्मिए पनि उनको बालापन भने झापाको दमकमा बित्यो । उनको बाल्यकाल सुखद र स्मरणयोग्य भने छैन । विपन्नताले अंगालेको उनको परिवारमा भरोसाको केन्द्र भने उनको आमा मात्र थिइन् । बाबुको मायाको त्यति महसुस नगरेकी आयुषा सानैदेखि म केही गर्न सक्छु भन्ने सकारात्मक सोच राख्ने गर्थिन् ।

मध्यान्हकर्मीसँगको कुराकानीमा उनले आफ्ना जीवनका सबै पाटाका बारेमा खुलेर बोलिन् । आफ्ना बालापन सम्झिएर उनी भावुकसमेत बनिन् । दमकको सुकुम्वासी बस्तीमा बसोबास गरेकी उनको बालापन मावलीको आँगन थियो ।  बस्तीबाट उनी स्कुल कयौं पटक खुट्टाका नङ उक्काएर आउजाउ गरेकी छन् । उनले अभावको चरम सीमा भोगेकी छिन् । आठ वर्षकै उमेरमा आमालाई सानो पसलमा काममा सघाउने उनले १३÷१४ वर्षको उमेरमा दमकमै रहेको एक म्यानपावरमा ‘एजेन्ट’ भएर काम गरिन् । अभावले उनलाई बाँच्न त सिकायो, तर नेपालमै रहन दिएन र सानो उमेरमा उनी वैदेशिक रोजगारका लागि लेबनान गइन् ।

लेबनान जानुपूर्व उनले घरजम गरेर सन्तान जन्माइसेकेकी थिइन् । नेवारकी छोरी क्षेत्री केटासँग विवाह गरेपनि अभाव भने टरेन, झन् बढ्यो र उनी लेबनान गएकी थिइन् । त्यो बेला १ सय ५० डलर तलबमा लेबनान पुगेकी उनले ३ वर्ष त्यहाँ क्लिनरदेखि कुकसम्मको काम गरिन् । आफूलाई निखार्दै लैजाने क्रममा उनको तलब १२ सय अमेरिकन डलरसम्म पुग्यो, तर उनको मन खुसी भएन । परिवारसँग फोनमा कुरा गर्न पनि साहुको अनुमति लिनुपर्ने, आफूसँग मोबाइल नहुने समस्या भोगिन् र उनलाई एक्लिए जस्तो लाग्यो, उनले गला अवरुद्ध पार्दै भनिन् । पैसा त कमाइने रहेछ, तर परिवार भन्ने प्रश्नले उनलाई हिर्कायो र उनी नेपाल फर्कने निधो गरिन् र लागिन् नेपाल ।

दमक पुगेपछि सबैले पैसा कमाएर आएकी लाहुरीनी भनेर बुझ्न थाले, तर जम्मा गरेको पोखरी खोलेपछि रित्तिन के समय लाग्थ्यो । फेरि उनलाई म्यानपावरकै कामतिर फर्कन पर्‍यो र पुनः पुरानै काम गरिन्, उनले लामो स्वास तान्दै दुःखको पोको खोलिन् । केही समयमा उनलाई युके जाने रहर जाग्यो र तयारी गरिन्, तर त्यो विविध कारणले सफल हुन सकेन ।  उनले फेरि केही समय नेपाली महिलाहरूलाई लेबनान पठाउन एजेन्टका रूपमा काम गरिन् । आफूसहित हुर्किरहेका सन्तानसहित आमालाई पनि हेर्नुपर्ने जिम्मेवारी सम्झिइन् र दमककै एक म्यानपावरमा कतारका लागि अन्तर्वार्ता दिने लाइनमा उभिइन् । एक सय पचास जनाले अन्तर्वार्ता दिएमध्ये ३ जना मात्र छानिए । छानिएका ३ जनामध्ये एक उनी पनि थिइन् । त्यो पल सम्झिँदा उनको अनुहारमा चमक बढ्यो ।

छोरीलाई दमकमै छोडेर उनी कतारको एक स्थानीय कम्पनीमा सेल्स गर्लमा जागिर गर्न सन् २०१० मा आइपुगिन् । सेल्स गर्लमा आएपछि उनले लेबनानमा देखेको संसारभन्दा अलग संसार पाइन् । जीवनमा ब्युटीपार्लरसम्बन्धी ज्ञान केही नभएकी उनलाई कम्पनीले जिम्मेवारी हेरफेर गर्दै ब्युटी प्रडक्टसम्बन्धी काम र जिम्मेवारी मात्र दिएन उनको तलब र पदोन्नति समेत गर्‍यो । आफूले जीवनको महत्वपूर्ण शिक्षा सोही समयमा लिएको उनले बताइन् । त्यो समय एक नेपालीले कम्पनी खोलौं भन्ने कुरामा सहमति जनाइन् र केही रकम डुबाएर आफू माइनसमा पुगेको स्मरण गरिन् ।

उनलाई त्यो अनुभवले आफ्नो आइडेन्टीटी र स्किल नभइ यो क्षेत्रमा होमिन नहुने ज्ञान दियो, उनले यही सुझाव दिन्छिन् । उनले क्षमता वृद्धि पनि त्यही बेला गरिन् । सुन्दर देखिने चाहना सबैको हुन्छ, सुन्दरताले गर्दा नै मानव जीवन मनमोहक बन्ने उनको बुझाइ छ । मेकअपदेखि हरेक सौन्दर्यतासम्बन्धीका काममा उनले आफ्नो क्षमता वृद्धि गरिन् भन्दा अत्युक्ति हुँदैन । नेपाली भन्ने बित्तिकै मेकअपको कामका लागि पत्याइने थिएन, उनले स्मरण गरिन् । आफ्नो दुःख, लक्ष्य, परिवारको माया र उद्देश्यले छोटो समयमै मेकअप आर्टिस्टका रूपमा कम्पनीमा स्थापित भइन् । आफ्नो कमाइ राम्रै भएपछि उनले श्रीमानलाई नेपाल जान दबाब दिइन् र सन् २०१६ मा नेपाल पठाइन् । श्रीमान नेपाल गएपछि उनी धेरै बसिनन् कतार र उनको तत्कालीन कम्पनीमा अनबन्द बनेपछि कतारलाई बिट मारिन् र नेपाल फर्किइन् ।

आयुषाले कतार बसाइँलाई बिट मारेर नेपाल फर्केपनि उनको मनमा कतारमा म केही गर्न सक्छु भन्ने लाग्यो र फेरि श्रीमानसँगै कतार फर्केर केही गर्ने हुटहुटीले सन् २०१८ मा कतार फर्किइन् । कतार फर्किएर उनीहरूले एक नेपाली व्यवसायीसँग मिलेर मेस कम्पनी सञ्चालन गरिन् । आयुषा कतार फर्किएसँगै उनलाई चिनेका पुराना ग्राहकले सम्पर्क गर्न लागे र कामको अफर गर्न लागे, अर्कोतिर मेसमा लगानी गरेपछि पैसाको अभाव हुँदै गयो । उनले अगाडि प्रष्ट पार्दै भनिन्, ‘पार्लरको काम कर कार्यालय जस्तो हो, दैनिक पैसा आउँछ, तर मेसमा दैनिक सामान किन्नुपर्ने, पैसा ३–४ महिनामा एक पटक आउँछ ।’ पैसा देख्न नै नपाइने भएपछि उनले आफ्ना श्रीमान मोहन खड्का ‘काजी’ (उदयपुर)सँग सल्लाह गरिन् र पार्लरकै काम गर्ने इच्छा व्यक्त गरिन् ।

काजीले उनलाई साथ दिए र सन् २०१९ मा कतारको मैजरमा एक जना नेपालीलाई २५ प्रतिशतको शेयर दिँदै अल दाना ब्युटी सैलुन सञ्चालनमा ल्याइन् । बालबच्चा नेपालमा रहेपनि श्रीमानसहित उनले व्यवसाय सम्हाल्न थालिन् । त्यसपछि उनका सफलताका दिन शुरु भए भन्दा अत्युक्ति हुँदैन । आफूले जानेको र गर्न सक्छु भन्ने काममा उनी पूर्णरूपमा फर्किइन्, तर त्यो पार्लर पूर्ण नेपालीको पहुँचमा पुगेन । आफ्ना ग्राहक विदेशी भएपनि नेपाली समाज र कतारका नेपाली महिलासँग जोडिएर कसरी सौन्दर्यसम्बन्धी धेरैभन्दा धेरै सीप सिकाउन सकिन्छ भन्नेतर्फ उनको सोच गयो, त्यसकै प्रतिफल हो नजमामा रहेको आयुषा मेकअप सैलुन । उनले यो सैलुन सञ्चालनमा ल्याएयता दर्जनौं नेपाली युवतीहरूले तालिम लिएर कतारमा जागिरमा स्थापित भइसकेको बताइन् ।

उनको सौन्दर्य व्यवसायलाई मुख्य पिल्लरका रूपमा उनका श्रीमान काजीले साथ दिएका छन् । मुसुक्क हाँस्ने, तर एकदमै कम बोल्ने स्वभावका काजीले दुई वटै पार्लरका प्रशासनदेखि फाइनान्ससम्मका सबै काम आफैं गर्ने गर्दछन् । ‘हामीहरू श्रीमान श्रीमतीसहित नेपाली, इन्डियन, बंगलादेशी, फिलिपिन्ससहित विभिन्न देशका ३६ जनाले प्रत्यक्ष रोजगारी पाएका छौं,’ काजीले भने । सुकुम्वासी बस्तीदेखि आफूसहित ३६ जनाको परिवारको अभिभावक बनिरहँदा अहिले कस्तो लाग्छ भन्ने प्रश्नमा आयुषा भावुक बनिन् । उनले देखेका दुःख र सुखको तुलना गर्नै सकिनन् । तर जीवनमा सपना ठूलो देख्नुपर्ने उनी बताउँछिन् ।

जन्मेदेखि मर्ने बेलासम्म मानिसलाई ब्युटीसियनको आवश्यकता पर्ने हुँदा यो क्षेत्रमा शिक्षाको पनि उत्तिकै महत्व रहेको श्रेष्ठ बताउँछिन् । मध्यपूर्व, युरोपसहित युकेका नाम चलेका ब्युटी प्रडक्ट कम्पनीबाट सर्टीफाइड भएकी श्रेष्ठ कतारको बजारमा मेकअप आर्टिस्टको कमी रहेको महसुस गर्छिन् । कोरोनाकालमा समेत व्यवसायलाई निरन्तरता दिएकी उनले कतारमा सांगीतिक प्रस्तुति दिन आएका धुर्मुस, सुन्तली, बुगीउगीको पुरै टिम, नृत्यंगना कविता नेपालीसहित सयौं कलाकारलाई चिटिक्क पारिसकेकी छन् ।

कुराकानीकै क्रममा उनले सौन्दर्य व्यवसायलाई मेकअपमा जोडेर हेर्ने गरिएकोप्रति असहमति राख्दै दाह्री काट्नु, कपाल काट्नु, नङ काट्नु पनि कला हो र यो सौन्दर्यमा पर्दछ भनेर बुझ्न आवश्यक रहेको स्पष्ट पारिन् । नेपालमा गरिने सौन्दर्यताको तालिमले कतारमा रोजगारी प्रदान गर्न नसकेकोप्रति उनले दुःख व्यक्त गरिन् । मध्यपूर्वमा कस्तो ब्युटी प्रोड्क्टको प्रयोग गरिन्छ ? कस्तो मेकअप गरिन्छ र काम कसरी गरिन्छ भन्ने कुराको ज्ञान थोरै मानिससँग मात्र रहेको बताउँदै कतारमा छिट्टै सैलुन विस्तारसहित नेपालमा ट्रेनिङ सेन्टर खोल्ने योजना रहेको सुनाइन् । नेपाल, फिलिपिन्स, युरोप र युकेमा समेत सौन्दर्य तालिम सेन्टर खोल्ने आफ्नो योजना रहेको उनले बताइन् । विशेषगरी काठमाडौंमा खोलिने ट्रेनिङ सेन्टरले खाडी र युरोपमा आवश्यक पर्ने कामदारको परिपूर्ति गर्न सक्ने गरी प्रशिक्षण दिने उनको योजना रहेको छ । 
दुई छोरी र छोरामध्ये एउटी छोरी अस्ट्रेलियामा अध्ययन गर्छिन् भने अर्की छोरीले राजधानीमै अध्ययन गर्छिन्, नेपाल कतार गरिरहन्छिन् भने दुई छोराहरूले कतारकै एक स्थानीय स्कुलमा अध्ययन गर्छन् । सौन्दर्य व्यवसाय एक मर्यादित पेसा रहेको उनको बुझाइ छ । सुकुम्वासी बस्तीको अभावदेखि दुई वटा कम्पनीको मालिक बनिरहँदा उनको मनमा भने झापाको सुकुम्वासी बस्तीको दुःख नहटेको विषय खेलिरहन्छ ।

कतारमा रहेका अनगिन्ती संघ–संस्था र कथित समाजसेवीसँग उनलाई प्रेम छैन । उनी भन्छिन्, ‘म आवश्यकता परेको नेपालीलाई सहयोग गर्ने गर्छु ।’ भूकम्प तथा कोरोनाकालमा उनले सक्दो सहयोग मात्र गरिनन्, आफ्ना पार्लरमा कार्यरत कर्मचारीको मनोरञ्जनका लागि विगत ३ वर्षदेखि तिज कार्यक्रम, दशैं, तिहार पनि हर्षोल्लासका साथ मनाउने गरेकी छन् । सौन्दर्यताको बारेमा नेपालीको सोचमा पनि आमूल परिवर्तन आएको उनको बुझाइ छ । केही समय अघिसम्म सौन्दर्य व्यवसायलाई खासै राम्रो दृष्टिकोणले हेरिँदैन थियो । सौन्दर्य पेसा व्यावसायिकरूपमा फस्टाउन थालेको र आम्दानीसमेत मनग्य हुने बताउने श्रेष्ठले सौन्दर्य व्यवसायमा आबद्ध भएपछि महिलाहरू लगनशील, आत्मनिर्भर, स्वावलम्बी र साहसी मात्रै बनेका छैनन्, समाजसेवातर्फ पनि पाइला अघि बढाउँदै सफल बनिरहेको बताइन् ।
‘कतारमा व्यवसाय गरेर आफू मात्र सफल हुँदै मात्र गएका छैनौं मुलुकको आर्थिक समृद्धिका लागि टेवा दिएका छौं, उनले गर्वले भनिन् । उनले प्रकाश कोइरालाको नाम भने बारम्बार लिइन्, उनी आफू प्रकाश कोइरालाकै कारण कतारमा स्थापित भएको बताउँछिन् । उनले रमेश भट्ट र राकेश श्रेष्ठलाई पनि आफ्नो सफलतामा हक लाग्ने व्यक्तिका रूपमा स्मरण गरिन् । कुराकानीको अन्तिममा सौन्दर्य व्यवसायलाई कसरी बुझ्नुभयो भनेर सोध्दा उनले सौन्दर्य भनेको सुन्दर कला हो र कलाको सम्मान सबैले गरे सुन्दर देखिने मात्र नभइ जीवन पनि कलात्मक र सुन्दर बन्ने बताइन् ।

(कतारमा अल दाना ब्युटी सैलुन र आयुषा ब्युटी सैलुनकी सञ्चालिका आयुषा श्रेष्ठ खड्कासँग मध्यान्हकर्मी तिलु शर्मा पौडेलले गरेको कुराकानीका आधारमा तयार पारिएको ।)

ADVADV

सम्बन्धित खबर

Advertise