लक्ष्मण पोखरेल/मध्यान्ह
काठमाडौं : परदेशमा बसेर देशलाई माया गर्ने गीतकार प्रमिला बस्नेत सानैदेखि गीत कविता लेख्ने साहित्यिक गतिविधिमा रुची राख्ने गर्थिन् । स्कूल र कलेजका दिनहरुमा राम्रै सक्रियता थियो साहित्यिक गतिविधिमा गीतकार प्रमिलाको । सुशासन मासिक पत्रिकामा नियमित जसो उनका गीत कविता छाप्पिन्थे । भक्तपुरको अरनिको माध्यमिक विद्यालयको कार्यक्रममा राजा विरेन्द्र र रानी ऐश्वयको उपस्थितिमा पहिलो पटक कविता प्रस्तुत गरेकी प्रमिलाले गीत कविता लेखनमा बुबा श्याम कृण्ण खड्काको ठूलो प्रेरणा रहेको बताउँछिन् ।
बुबा श्याम कृण्ण खड्का गीत कविता खुब लेख्ने गर्थे । ‘हामी बुबाको कविता पढ्थ्यौं, बुबासँग गीत कविताका बारेमा छलफल गर्थैयौं । हामीलाई बुबाले महाकवि लक्ष्मी प्रसाद देवकोटा, कविशिरोमणि लेखनाथ पौडेल लगायतका कविहरुका कविता पढ्न प्रेरित गर्नु हुन्थो । साहित्यिक गतिविधिमा रुची राख्न सल्लाह दिनु हुन्थ्यो । बुबाको लेखन र ती सल्लाह सुझावले मलाई पनि विस्तारै गीत कविता लेख्ने रुची बढ्दै जान थालो । जानीनजानी गीत कविताहरु लेख्न थालें, बुबाले थप हौसला दिन थाल्नु भयो । मेरा कविताहरुले स्कूल कलेजका कार्यक्रमहरुमा तथा विभिन्न पत्रपत्रिकामा स्थान पाउन थाले, म यसरी कवि र गीतकार बनें,’ प्रमिला भन्छिन् ।
दुई दशकदेखि क्यानाडामा बस्दै आएकी प्रमिला लेखनको अलावा समाजिक कार्यमा पनि उत्तिकै सक्रिय छिन् । परदेशमा बसेर नेपाल र नेपालीका लागि उनले थुप्रै सामाजिक कार्यहरु पनि गर्दै आएकी छन् । उनका गीत र कवितामा देश र समाजप्रति अथाह माया प्रेम जति झल्किन्छ त्यति नै उनले देश र समाजका लागि त्यस्ता कार्यहरु गर्दै आफुलाई प्रमाणित समेत गरिसकेकी छन् ।
कोभिडका कारण संसार भर डर त्रास फैलिरहेको अवस्थामा उनले हिम्मत र हौसला जगाउने थुप्रै कार्यहरुका साथै गीत र कविताका माध्यमबाट पनि मानिसमा हौसला जगाउने कार्य नियमित गर्दै आएकी छन् । गीतकार प्रमिलले ‘धन सम्पत्ति केही होइन सेवा अनि प्रेम गरौं, मुठि मुठि जोगाऔं सबैले बाँडी चुँडी खाउँ’ जस्ता गीतका माध्यमबाट समाजमा सकारात्मक सन्देश दिइरहिन् । विशेष गरी देशप्रेमका गीतहरु लेख्न रुचाउने प्रमिलाको ‘एक पटकको नेपाली सधैंको नेपाली जहाँ गए पनि जहाँ रहे पनि हामी सबै नेपाली हामी विर गोर्खाली’, ‘देश निर्माणको संकल्प अब हामीले लिनु पर्छ यो कर्मठ पाखुरीको गति अझै बढाउनु पर्छ’ लगायका देशभक्तिका गीतहरु छिट्टै श्रोता माझ आउदैछन् ।
राजु लामा अस्मिता अधिकारी, कृष्ण कांडेल, गृष्मा खड्का, सुवास खड्का लगायतको आवाजमा आउन लागेका ति गीतहरुको अलावा अन्य केही माया प्रेमका गीतहरु पनि श्रोता माझ ल्याउँदैछिन् प्रमिला । समाज र देशलाई प्रोत्साहन दिने, देश र समाजले केही पाउने, युवाहरुमा जागरण ल्याउने जस्ता गीत कविता लेख्न रुचाउने प्रमिला महाकवि लक्ष्मी प्रसाद देवकोटा र प्रसिद्ध संगीतकार शम्भुजीत बास्कोटालाई आफ्नो आदर्श मान्छिन् ।
क्यानडाको टोरेन्टोलाई कर्मथलो बनाइरहेकी प्रमिलाले जहाँ बसे पनि नेपाल र नेपाली माटोको माया अथाह रहेको बताउँछिन् । क्यानडामा पनि उनको सक्रियतामा नेपाली कला संस्कृतिक साहित्यिक गतिविधिहरु हुने गरेका छन् । नेपाली कला संस्कृति जोगाउने उद्देश्यले प्रमिलाले त्यहाँ त्यस्ता थुप्रै कार्यहरु गर्दै नेपाली कला संस्कृतिलाई विश्वभर चिनाउने काम गरिरहेकी छन् । परदेशमा बसेर हरेक जात धर्मलाई नेपाली रङ दिने नेपालीपन दिने काममा अग्रसर प्रमिला ‘हामी जहाँ गए पनि जे गरे पनि सर्वप्रथम नेपाली हौं, नेपाली रहन सकौं र नेपाली भएर बाँच्न सिकांै, यही नै नेपाली हुनुको धर्म हो’ भन्छिन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)मा समेत आवद्ध उनी विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको हकहितमा बोल्न र काम गर्ने हक्की स्वभावकी छिन् । आफ्ना लागि भन्दा पनि अरुका लागि केही गर्न रुचाउने प्रमिला अन्याय सहन नसक्ने बताउँछिन् । विदेशमा रहेका कयौं नेपाली नागरिकहरुलाई दुःख पीडामा साथ र सहयोग गर्दै आएकी प्रमिला सामाजिक कार्य गरेरै यो जीन्दगी बिताउने इच्छा रहेको बताउँछिन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies