दोहा, कतार : सुदूरपश्चिमेली नेपाली समाज कतारको आयोजनामा गौरा पर्व (उज्याली) मनाइने भएको छ । यही आउँदो शुक्रबारका दिन अलत्तियास्थित फूलबारी होटेलको सभा हलमा सुदुरपश्चिमेलीहरुको महान् चाड गौरा पर्व विविध सांस्कृतिक कार्यक्रमका साथ मनाउन लागिएको आयोजकले जनाएको छ ।
गौरा पर्वका लागि दोहामा रहेका कलाकारसँगै नेपालबाट आमन्त्रित लोक तथा देउडा गायकद्वय महेशकुमार औजी र उमा शंकर जोशीले सांगीतिक प्रस्तुति दिने समाजका अध्यक्ष गोरखबहादुर चन्दले मध्यान्ह दैनिकलाई जानकारी दिए । समाजको दशौं वार्षिकोत्सवसहित आयोजना गरिएको कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने र तयारीलाई अन्तिम चरणमा पुर्याइएको चन्दले बताए । सार्वजनिक बिदाको दिन परेर आयोजना हुन लागेको गौरामा ग्राण्डमलबाट होटलसम्म जानका लागि यातायातको व्यवस्था समेत गरिएको छ । यातायातका लागि राज केसीलाई ३०११३३७२ मा सम्पर्क गर्न सकिन्छ ।
उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले उज्याली गौरा एवं दुर्वाष्टमी पर्व कतारमा मनाउने भएका हुन् । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलो पटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज महिना लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौ महिनामा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णय सिन्धु, हेमाद्रीलगायत ग्रन्थमा उल्लेख गरिएको पाइन्छ ।