डडेल्धुरा : सुदुरपश्चिम जति भौगोलिक रुपमा विकट छ, त्यति नै सांस्कृतिक रुपमा सम्पन्न पनि रहेको छ । सुदुरपश्चिममा नौ वटा जिल्ला रहेका छन्, जसमा दुई तराईका र सात पहाडी जिल्ला रहेका छन् । अहिले पहाडी जिल्लामा गौराको उमंग छाएको छ ।
पछिल्लो समयमा मानिसहरूले आधारभूत आवश्यकताहरू सहज रुपमा परिपूर्ति गर्नकै लागि तराईका जिल्लामा बसाइँ सरेको पाइन्छ । तर गौराको उमंग बढेसँगै आफ्नो कर्मथलो छाडेर जन्मथलो फर्कनेहरूको लर्को बढ्दो देखिन्छ । सुदुरका पहाडी जिल्लामा गौराको सुरुवातसँगै मेला (जाँत) को पनि थालनी भएको छ । अहिले पहाडी जिल्लाहरू गौराको रौनकले भरिएका छन् । जन्मथलो फर्किएपछि सुदुर पहाडका गाउँहरूमा चहलपहल थपिएको छ ।
भगवान शिव र गौरी (पार्वती) को गाथा गाइने र निश्चित विधिअनुसार मनाइने पर्व नै गौरा पर्व हो । गौराका सुरुका चार दिन महिलाहरू आफ्ना पतिको दीर्घायुका लागि व्रत बस्ने परम्परा रहेको छ ।
गौरा पर्व कम्तीमा चार दिनदेखि दस दिनसम्म मनाउने प्रचलन रहिआएको छ । गौरा देवीको प्रतिमा सेताएर विसर्जन गर्नु अघि फाग, सगुन र धुमारी गाइने चलन रहेको छ । यिनै फाग, चैत, धुमारीका स्वरले अहिले सुदुरका गाउँहरू गुन्जायमान बनेका छन् ।
गौरा पर्वमा पञ्चमीलाई विशेष दिनका रूपमा लिइन्छ । यस दिन ‘बिरुडा’भिजाउने गरिन्छ । त्यसको भोलिपल्ट बिरुडालाई नौलामा सफा गर्न लैजाने परम्परा छ । बिरुडालाई गौराको प्रसादका रूपमा लिने गरिन्छ । आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामनासहित बिरुडालाई प्रसादका रूपमा वितरण गर्ने चलन पनि छ ।
गौरा पर्वमा गाइने फागः युवा पुस्ता अनविज्ञ
गौरा पर्वको सुरुवात नै फागबाट हुने गर्छ । फागले गुन्जायमान भएका सुदुरका गाउँहरू अहिले निकै रमाइलो बनेका छन् । गौरा देवी (पार्वती) को कथा–व्यथा समेटेर फागको लयमा गाइन्छ । तर पछिल्लो पुस्ता भने यसबारे खासै जानकार नभएको भन्दै स्थानीय शिवदत्त भट्टले चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार अहिलेको पुस्ता परम्परागत फाग, डेउडा, चैत, धुमारीका बारेमा अनविज्ञ रहेका छन् । यसको पुस्तान्तरणका लागि कुनै निकायले चासो दिएको छैन । अहिलेको पुस्ता डिजे जस्ता सामग्रीमा रमाइरहेको देखिन्छ, जुन दुखद हो। यसको संरक्षण र पुस्तान्तरणका लागि हामी सबैले चासो दिनुपर्छ ।
‘बिरुडा’ के हो ?
बिरुडा भिजाएर मात्रै गौराको औपचारिक सुरुवात हुन्छ । पाँच वटा खाद्यवस्तुको मिश्रणलाई बिरुडा भनिन्छ । जसमा गहत, केराउ, गहुँ, मास र अन्य दलहन मिसाइन्छ । यसलाई तामा अथवा पित्तलको भाँडोमा भिजाएर, अलगै कोठामा राखिन्छ। बिरुडालाई सामूहिक रूपमा भिजाउने गरिन्छ भने सामूहिक रूपमा धुने र बाँड्ने कार्य गरिन्छ ।