२०८१ असोज १ गते मङ्गलवार / Sep 17 , 2024 , Tuesday
२०८१ असोज १ गते मङ्गलवार

नेपाललाई विश्वसामु परिचित गराउँदै एभरेष्ट नेपाल कल्चरल ग्रुप

ADV
मध्यान्ह
२०८१ भदौ २२ गते १५:४२
नेपाललाई विश्वसामु परिचित गराउँदै एभरेष्ट नेपाल कल्चरल ग्रुप

काठमाडौं : एभरेष्ट नेपाल कल्चरल ग्रुपले फ्रान्स र स्पेनका विभिन्न शहरमा नेपाली लोक संस्कृतिको प्रदर्शन गरेको छ । सांस्कृतिक आदान-प्रदान गर्दै नेपाललाई विश्वसामु परिचित गराउँदै कल्चरल ग्रुपले फ्रान्सको कास्ट्रेस सेन्ट गिरन्स, सेन्ट जुलियन, विक सुर सेरे, डेक्सलगायत शहरमा र स्पेनको लेस प्रिसेस तथा बार्सिलोनामा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।

विभिन्न शहरमा नेपालसहित विश्वका ४५ भिभिन्न देशका दुई हजारा बढी कलाकारले भाग लिएका थिए भने मेला फ्रान्सका भिभिन्न शहरमा अगष्ट ३ तारिकदेखि १८ तारिकसम्म र स्पेनमा अगष्ट १९ तारिकदेखि अगष्ट ३१ तारिकसम्म चलेको थियो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र)को नेतृत्व तथा ग्रुपका निर्देशक सीतल आचार्य (सीता)को निर्देशनमा गएको टोलीको नृत्य निर्देशन नृत्य निर्देशक जोगेन्द्र केसीले गरेका थिए । टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, सतार, धिमाल, शेब्रु, काल भैरब, बज्रपानी, लाखे, यती, सोरठीका साथै दर्जनौं नृत्य प्रदर्शन गरिएको कल्चरल ग्रुपका प्रमुख कोइरालाले जानकारी दिए ।

मेलामा बाध्यवादक धनेश्वर तिवारी, गायक रामप्रसाद पाण्डे, सपना महर्जन, उत्तम शर्मा, प्रमिला रिजाल, सुदनमान मुनिकार, कृष्ण रसाल, चूडामणि फुयाँल, शर्मिला तमाङ, चाहना रानामगर, अनिशा श्रेष्ठ, रमेशप्रसाद पौडेल डिपी कोइराला, प्रदीप तिमिल्सिना तथा बालकलाकार सिराज कोइरालाले भाग लिएका थिए ।

करिब एक महिनासम्म विभिन्न शहरमा आयोजना भएको मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपका कलाकारहरुले विशेष गरेर वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीले ३ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरुलाई नृत्य सिकाएका थिए ।

फ्रान्सको डक्स शहरमा भएको सांस्कृतिक झाँकीमा ४० हजारभन्दा बढी दर्शकले नेपालको झाँकीलाई उत्कृष्ट भनेका थिए । झाँकीमा यति र लाखेसँग तस्बिर लिन तछाड-मछाडकै अवस्था भएको थियो । बाल कलाकार (१९ महिने) सिराज कोइरालाको नमस्तेसहितको अभिवादनले ४० हजार दर्शक मोहित भएका थिए । आयोजकहरुको सामाजिक सञ्जालभरि बाल कलाकार सिराज छाएका थिए ।

सोही अवसरमा ग्रुपकी निर्देशक आचार्यले दुवै देशका सम्बन्धित नगरपालिका प्रमुख, उपस्थित सम्पूर्ण दर्शक तथा आयोजकलाई भेटेर नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न सकिने तथा भविष्यमा यस‍सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा गर्न सकिने बताएकी थिइन् ।

ग्रुपका प्रवक्ता प्रदीप तिमील्सिनाले दुवै देशका कला पारखीहरुलाई नेपाली कल संस्कृतिको बारेमा जानकारी गराएका थिए ।

नेपालीको प्रतिनिधित्व गर्दै नेपाली संस्कृतिमार्फत विश्वभर राजदूतको काम गर्ने कलाकार तथा संस्थालाई राज्यले बेवस्ता गर्दा दु:ख लाग्ने ग्रुपका प्रमुख कोइराला बताउँछन् । उनले कला संस्कृतिलाई प्रवर्द्धन तथा सम्बर्द्धन गर्ने कलाकार राष्ट्रको सम्पत्ति हुन् भन्ने कुरा राज्यले बुझ्न जरुरी रहेको बताए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise