काठमाडौं : देशभर डेंगु फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को विवरणअनुसार ७१ जिल्लामा डेंगुका बिरामी फेला परेका छन् ।
गर्मीसँगै बढेको तातो हावाले समेत डेंगु फैलिने वातावरण बनेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७१ जिल्लामा एक हजार १३० जना डेंगुका विरामी भेटिएका छन् ।
सबैभन्दा धेरै डेंगु संक्रमण काठमाडौँ जिल्लामा देखिएको छ । ईडीसीडीको विवरणअनुसार काठमाडौँमा ११४ जना, झापामा १११ जना, चितवनमा ७३ जना, मकवानपुरमा ५८ जना विरामी भेटिएका छन् ।
यीबाहेक अरू जिल्लामा डेंगुका विरामीको संख्या ५० भन्दा कम रहेको छ ।
प्रदेश स्तरमा बाग्मती प्रदेशमा डेंगुका सबैभन्दा धेरै विरामी भेटिएका छन् । बाग्मती प्रदेशमा ३९० जना डेंगुका विरामी छन् भने कोशी प्रदेशमा २७२ जना डेंगुका विरामी भेटिएका छन् । मधेस प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १७५ जना, लुम्बिनी प्रदेशमा १३२ जना, कर्णाली प्रदेशमा १६ जना र सुदूरपश्चिम प्रदेशमा ११५ जना रहेका छन् ।
ईडीसीडीको तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि जुन ९ सम्म देशभर एक हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको हो ।
मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा एडिस एजिप्टाइ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।
चिकित्सकका अनुसार डेंगु संक्रमित भएपछि जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ । डेंगु ज्वरो एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो लामखुट्टेले दिनको समयमा मात्र टोक्ने चिकित्सकहरु बताउँछन् । यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन । वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ ।
डेंगुका मुख्य लक्षणहरु अन्र्तगत अचानक ठूलो ज्वरो आउनु, आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्न, सबै शरीर दुख्नु, घांटी बस्नु, साना बिमिरा आउनु रहेका छन् । शरीर चिलाउनु, वाकवाकी लाग्नु र वान्ता आउनु, छटपटी हुनु, रिंगटा लाग्नु, निद्रा नलाग्नु पनि यसको लक्षण हो । यसका अलावा हड्डी तथा मांशपेशी निकै दुख्नु, आँखा तथा घांटी रातो हुनु, छाला, नाक, मुख आदिबाट रगत आउनु पनि यसको लक्षण अन्तर्गत पर्दछ ।
चिकित्सकहरुका अनुसार डेंगुको कुनै बिशेष औषधि तथा खोप छैन । यसकारण डेंगु संक्रमित भएका बिरामीले यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी र फलफुल र गेडागुडीको रस, दाल, सुप नियमित खाने गर्नुपर्ने चिकित्सकहरु सुझाउँछन् ।
चिकित्सकले अर्को संक्रमण नहोस भन्ने उद्देश्यले सामान्य एन्टिबायोटिक चलाउन सक्छन । कडा एन्टिबायोटिकको आवश्यकता हुँदैन । तसर्थ जथाभावी एन्टिबायोटिक किनेर प्रयोग गर्नु हुँदैन ।