२०८२ भदौ १० गते मङ्गलवार / Aug 26 , 2025 , Tuesday
२०८२ भदौ १० गते मङ्गलवार
Ads

हैजाको त्रास

अस्पतालहरूमा बढ्यो बिरामीको चाप

shivam cement
अस्मिता बम
२०८२ भदौ १० गते ०६:४०
हैजाको त्रास

काठमाडौं : देशभर हैजाका बिरामी बढ्दै गएका छन् । अझ मधेश प्रदेशमा हैजाको त्रास बढ्दो छ । हैजाको प्रकोप फैलिँदा अस्पतालहरूमा बिरामीको चाप बढ्दो छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वीरगन्ज महानगरपालिकाको ६ वटा वडामा हैजाको प्रकोप फैलिएको छ । वीरगन्ज महानगरपालिकाको बडा नम्बर ३, ११, १२, १३ र १६ का १ सय ९४ जनामा झाडापखालाको लक्षण देखापरेको छ । स्थानीय विभिन्न स्वास्थ्य संस्थाहरूमा कोही उपचार भई डिस्चार्ज भइसकेका छन् भने कोही उपचाररत छन् । हाल विभिन्न अस्पतालमा ९५ जना बिरामी उपचाररत छन् । त्यसमध्ये २२ जना आइसियु, ६ जना एचडिसियु र ६७ जना वार्डमा उपचाररत छन्  । 

यही भदौ ६ गते वीरगन्जस्थित अस्पतालमा उपचारका लागि पुगेका झाडापखालाका बिरामीहरूको नमुनामा परीक्षण गरिएको थियो । त्यसक्रममा ७१ जनामा हैजा पुष्टि भएको थियो । 

यो तथ्यांक हेर्दा जति सानो छ, त्यति डरलाग्दो र गम्भीर छ । दूषित खाना र दूषित पानी पिउनुहुन्न भनेर नागरिकस्तरमा जनचेतना फैलाउन राज्यले आवश्यक पहल नलिँदाको परिणाम मानवीय क्षति हुन थालेको हो । 

सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल वीरगन्ज नै पुगे । त्यसक्रममा उनले गाउँघरमै लुकेर बसेका हैजाका बिरामी अझै हुन सक्ने गम्भीर आशंका गरे ।

मधेशमा हैजाको त्रास फैलिएपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीरगन्जस्थित स्थानीय तह र स्वास्थ्य निकायसहित हैजा प्रभावित क्षेत्रमा पुगेका हुन् । अनुगमनपछि उनले  वीरगन्जको ११, १२ र १३ नम्बर वडालाई प्रभावित क्षेत्रका रूपमा पहिचान गरिएको जानकारी दिए । ती तीनवटा वडाबाट बिरामी अस्पताल पुगेका थिए । त्यसलाई नै आधार बनाएर पौडेलले बिरामीको संख्या धेरै हुन सक्ने बताएका हुन् । 

हैजाका बिरामी घरमै लुकेर बसिरहेका हुन सक्छन्’ अनुगमनपछि स्वास्थ्यमन्त्री पौडेलले भनेका छन्, ‘बिरामी भए अस्पताल आउन आवश्यक छ । सरकारले घरघरमै स्वास्थ्यकर्मी पठाएर संक्रमण पुष्टि भए बिरामी अस्पताल ल्याउन पहल गरिरहेको छ ।’ 

यसै सन्दर्भमा खानेपानी मन्त्रालयले हैजा संक्रमण नियन्त्रण तथा रोकथामका लागि पानीको स्रोतको परीक्षण, कोलेरा परीक्षण किट तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । लक्षणका आधारमा संक्रमितलाई तुरुन्त उपचार उपलब्ध गराउने, निजी अस्पतालमा पनि निःशुल्क परीक्षणको व्यवस्था गर्ने तथा आवश्यक जनशक्ति परिचालन गर्ने निर्णय भएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालमा उपचारका लागि भर्ना हुने बिरामीको संख्या पछिल्लो दुई दिनमा भने घटेको छ । अस्पतालमा नयाँ बिरामीको संख्या उल्लेख्य रूपमा नबढेको देखिए तापनि समुदायमा के छ भन्ने यकिन छैन । कतिपयले अस्पतालमा नआई घरमै बसेर उपचार गरिरहेका वा लक्षण लुकाइरहेका हुन सक्छन् भन्ने स्वाथ्यमन्त्री पौडेलकै प्रतिबद्धता छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार झाडापखाला फैलनुको यकिन कारण पत्ता लागिसकेको छैन । तर स्थानीय र प्राविधिक निकायले पानी आपूर्ति प्रणाली नै प्रमुख स्रोत हुन सक्ने अनुमान गरेका छन् । यो अनुमानमा खानेपानी आपूर्ति पाइपलाइनमा ढल मिसिएको शंका छ । यसअघि पानीको हाहाकार भएपछि डिप बोरिङमार्फत घरघरमा पुर्‍याइएको थियो । सो खानेपानी आपूर्ति पाइपलाइनमा ढल मिसिएको शंका भएको हो । 

मन्त्री पौडेलका अनुसार ‘पाइपलाइन लामो भएको र धेरै ठाउँमा जमिनभित्र गाडिएको कारण ठ्याक्कै चुहावट कहाँ भएको हो भनेर तुरुन्तै पत्ता लगाउन कठिन भएको छ ।’ 

ADV

सम्बन्धित खबर

Advertise