२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

काठमाडौं स्पाइकर्सले भित्र्यायो अर्को नयाँ विदेशी स्टार खेलाडी

ADV
मध्यान्ह
२०८१ असोज ९ गते १९:१७
काठमाडौं स्पाइकर्सले भित्र्यायो अर्को नयाँ विदेशी स्टार खेलाडी

काठमाडौं : काठमाडौं स्पाइकर्सले आगामी वात्सल्य एभरेष्ट महिला भलिबल लिग-२०२४ का लागि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बायाँ हाते अपोजिट हिटर पेलिन एरोक्टेलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ ।

प्रतिभाशाली टर्कीस भलिबल खेलाडी पेलिन एरोक्टे आफ्नो शक्तिशाली अट्याक र बलियो डिफेन्स क्षमताका लागि परिचित छिन् । विश्वव्यापी मञ्चमा आफ्नो खेल प्रदर्शन गर्न उनले धेरै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा टर्कीको प्रतिनिधित्व गरिसकेकी छिन् । एरोक्टेसँग युरोपियन यु-१६ च्याम्पियनसिप, युरोपियन यु-१७ च्याम्पियनसिप र विश्व यु-१९ च्याम्पियनसिप जस्ता प्रतिष्ठित टुर्नामेन्टहरूमा राष्ट्रिय टिमबाट खेलेको अनुभव छ ।

उनले सन् २०२२ मा यु-१८, यु-१९ र यु-२१ मा युरोपियन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै टर्कीका लागि एक प्रमुख खेलाडीको रूपमा आफ्नो उपस्थिति स्थापित गरेकी छन् । क्लबस्तरमा टर्किस काडिनलार भलिबल लिग, जुन उच्चतम व्यावसायिक महिला भलिबल लिगका साथ साथै उनले टर्की काडिनलर भलिबल लिग, टर्की कप, टर्की काडिनलार वन लिगी र टर्की कादिनलर भलिबल टु लिगी कपमा भाग लिएर टर्कीका शीर्ष टोलीहरूका लागि खेलेको अनुभव समेत हासिल गरिसकेकी छन् ।

राष्ट्रिय टिम र क्लबहरू दुवैमा दिएको योगदानका आधारमा उनले बीभीए यु-१६ मा मोस्ट भ्यालुएबल प्लेयर, बीभीए यु-१७ मा बेस्ट सर्भर र युरोपियन च्याम्पियनसिप यु-१७ मा बेस्ट अपोजिटसहितका व्यक्तिगत अवार्डहरू पनि प्राप्त गरेकी छन् । व्यक्तिगत र टिमको सदस्यको रूपमा प्राप्त उपलब्धिहरूको प्रभावशाली रेकर्डले उनमा भएको असाधारण प्रतिभा र टर्की तथा अन्तर्राष्ट्रिय भलिबलमा उनको उज्ज्वल भविष्यलाई समेत संकेत गर्छ । काठमाडौं स्पाइकर्समा आवद्ध भएकी एरोक्टेको उमेर २० वर्ष रहनुका साथै १९० सेन्टिमिटर उचाइकी छन् ।

काठमाडौं स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले भनिन्, “बलियो र सन्तुलित टिम निर्माण गर्ने हाम्रो प्रतिबद्धता अनुरुप नै हामीले पेलिन एरोक्टेलाई साइन गरेका हौं । टिममा उनले बहुमूल्य अन्तर्राष्ट्रिय अनुभव र विजयी मानसिकता ल्याएकी छिन् । यसले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पार्ने हाम्रो विश्वास छ । हामी उनको खेल्ने कलाले हाम्रा स्थानीय खेलाडीहरूलाई कसरी बलियो बनाउँछ भनेर हेर्न तत्पर छौं ।”

काठमाडौं स्पाइकर्समा सामेल हुन पाउँदाको आफ्नो उत्साह व्यक्त गर्दै पेलिन एरोक्टेले भनिन्, “यस्तो गतिशील र महत्वाकांक्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित महसुस गरेको छु । भलिबल मेरो लागि खेल मात्र नभई प्रेम पनि हो । आफ्नो अनुभव नेपाल ल्याएर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धाका लागि मद्दत गर्न म तयार छु । मैले एभरेष्ट महिला भलिबल लिगको भावनाको बारेमा पनि धेरै सुनेको छु र म आफ्नो टिमको सफलतामा योगदान दिन र प्रशंसकहरूलाई भेट्न आतुर छु ।”

एभरेष्ट वुमन्स भलिबल लिगको यात्रा शुरु हुनै लाग्दा एरोक्टेको आगमनबाट आफ्नो टिम थप बलियो बन्नेमा काठमाडौं स्पाइकर्सले विश्वास व्यक्त गरेको छ । टिमले आफ्नो नयाँ स्टार खेलाडीसँग बलियो प्रदर्शन र अविस्मरणीय क्षणहरूको ठूलो अपेक्षा राखेको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise