२०८१ मंसिर १८ गते मङ्गलवार / Dec 03 , 2024 , Tuesday
२०८१ मंसिर १८ गते मङ्गलवार

विपद्सँगै महामारीको जोखिम

ADV
अस्मिता बम
२०८१ असोज १९ गते ०६:४५
विपद्सँगै महामारीको जोखिम

काठमाडौं : अविरल वर्षाका कारण प्राकृतिक विपत्तिसँगै स्वास्थ्य महामारीको जोखिम बढेको छ । बाढी, पहिरो र डुबानपछि स्वास्थ्य महामारीको जोखिम बढेको सरकारी अधिकारीहरू बताउँछन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सतर्कताका लागि अपिल गरिएको छ । ‘पानी पर्न रोकिए पनि महामारीको जोखिम छ । पानी तथा किटजन्य रोगहरू बढ्नसक्ने जोखिम भएकाले सबै सरोकारवालालाई उच्च सतर्कता अपनाउन र नागरिकहरूलाई कुनै महामारीको लक्षण देखिएमा तुरुन्तै स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ’ प्रवक्ता डा. बुढाथोकीले विज्ञप्ति निकालेर भनेका छन् । 

बाढीपहिरोका कारण पानीका मुहान प्रदूषित हुने र पानी तथा किटजन्य रोग बढ्ने सम्भावना रहन्छ । सरूवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार पानीजन्य रोगहरू झाडापखाला, हैजा तथा किटजन्य रोग डेंगु, मलेरिया आदिको सङ्क्रमण बढ्नसक्ने हुन्छ । 

उनका अनुसार पानीजन्य रोगहरु झाडापखाला, हैजाको जोखिम बढेको छ । हैजा पूर्णरुपले हटिसकेको छैन । उनले मनसुनको समयमा किटजन्य रोगको जोखिम बढी हुने बताए ।

बाढी र पहिरोले सङ्क्रमण बनाउन सक्ने फोहोर बगाएर ल्याउने र ठाउँ–ठाउँमा पानी जम्ने हुनाले डेंगु, मलेरियाजस्ता रोगको जोखिम बढ्न सक्ने चिकित्सकहरू बताउँछन् । चिकित्सकहरूका अनुसार स्क्रब टाइफसको पनि समस्या पनि छ । समयमै उद्धार नपाएकाहरुलाई बाहिर बस्नुपर्ने हुनसक्छ, रुघाखोकी सर्नसक्ने सम्भावना रहन्छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरूले उद्धार गरिएका घाइतेको निःशुल्क उपचार गर्न आग्रह गरेको छ । उद्धार गरिएकालाई स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा र जनशक्तिलाई २४ सै घण्टा उपलब्ध हुनेगरी व्यवस्था मिलाइएको छ । 

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले उद्धार गरिएका घाइतेको स्वास्थ्य संस्थाहरूले निःशुल्क उपचार गर्ने र उपचारको रेकर्ड राखेर पछि सोधभर्ना गरिने व्यवस्था गरेको जानकारी दिए । उनका अनुसार मन्त्रालयले जनस्वास्थ्यको सुरक्षा व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालय, प्रदेशस्थित सम्बन्धित निकायमार्फत स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरूले समन्वयको व्यवस्था गरिरहेको छ । 

मन्त्रालयले सबै प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रहरूले आपतकालीन अवस्थामा स्वास्थ्यसम्बन्धी समस्याबारे जानकारी प्रदान गर्न हटलाइन नम्बर सार्वजनिक गर्न, प्रदेश, जिल्ला र स्थानीय तहका द्रुत प्रतिकार्य टोलीलाई तयारी अवस्थामा राख्ने, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले हब तथा स्याटेलाइट अस्पतालसँग समन्वय गरी आकस्मिक चिकित्सिकीय समूहलाई तयारी अवस्था राख्न आग्रह गरेको छ ।

हब तथा स्याटेलाइट अस्पताल सञ्जालले अस्पताल विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार प्रतिकार्य गर्न गराउन, प्रादेशिक स्वास्थ्य आपतकालीन केन्द्रहरूले स्वास्थ्यका साझेदार निकायसँग समन्वय गर्न र स्रोत साधनको अध्यावधिक गर्न÷गराउन, आपतकालीन अवस्थामा स्वास्थ्यसम्बन्धी कुनै समस्याबारे जानकारी आवश्यक परेमा कल सेन्टरको हटलाइन नम्बर १११५ मा सम्पर्क गर्न मन्त्रलायले भनेको छ ।

आपतकालीन अवस्थामा स्वास्थ्य संस्था जानुपरेमा तालिम प्राप्त एम्बुलेन्स चालक र स्वास्थ्यकर्मी सहितको एम्बुलेन्सको हटलाइन नम्बर १०२ मा सम्पर्क गर्नसमेत सरकारले अनुरोध गरेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise