२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

बजेट अभावको चपेटामा सालझण्डी सधिखर्क ढोरपाटन सडक

ADV
सुर्य प्रसाद भुसाल
२०८१ असोज २० गते २०:३१
बजेट अभावको चपेटामा सालझण्डी सधिखर्क ढोरपाटन सडक

अर्घाखाँची : २०६६ सालदेखि निर्माण शुरु भएको सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकको १९ सय ७ किलोमिटर सडकमध्ये अहिलेसम्म १८ किलोमिटर सडक कालोपत्रै सम्पन्न भएको छ । यो  सडकको धेरै खण्ड ग्राभेल भएको छ भने कच्ची सडकको काम सकिएको सडक योजना प्रमुख गागल बहादुर भण्डारीले बताए । करिब ८ अर्बको डीपीआर भएको सडकमा आ.व २०८०/८१ मा शुरु बजेट मात्र १७.८७ करोड विनियोजन भएको र सोही आ.व.मा ५०.८७ खर्च भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले४५ करोड बजेट विनियोजन गरेकोमा गत आ.व.२०८०/८१ को दायित्व रकम रु.१६ करोड ६४ लाख भुक्तानी भइसकेको र योजनामा २८.३६ करोड बजेट मात्र बाँकी रहेको कारण काम गर्न बजेटको समस्या भएको योजनाका भण्डारीले बताए । निर्माण गर्न लागेको १३ वर्षको अवधिमा झण्डै ३ अर्ब ५ करोड रुपैयाँ खर्च भएको सालझण्डी–सन्धिखर्क सडक योजना प्रमुख भण्डारीले मध्यान्हलाई जानकारी दिए । यो सडक अन्तर्गत पर्ने  १० पुलमध्ये अब दुई वटा पुल बन्न बाँकी छन् भने  बाग्लुङ जिल्लामा पर्ने बौलाहा बाँसे खोला र दोवल खोलाको लागि पुल निर्माणको डिजाइन चरणमा रहेको योजना प्रमुख भण्डारीको भनाइ छ । सडकमा पर्ने ८ वटा पुलहरु निर्माण सम्पन भइसकेका छन् । 

सन्धिखर्कको बजार क्षेत्रमा विवाद भएका कारण आंैल्या खोलादेखि रुब्दी, बराह बुटासम्म ठेक्का निकाल्न समस्या भएको योजना प्रमुख भण्डारीको भनाइ छ । सुरुमा यही  सन्धिखर्कको विवादले गर्दा काममा ढिलाइ भएको थियो । पछि टुक्रा–टुक्रा गरेर ठेक्का र उस्तै गरी बजेट आएपछि यो सडक निर्माणले दु्रर्त गति लिन शुरु गरेको योजनाका इन्जिनियरहरु बताउँछन् ।

सालझण्डी–ढोरपाटन सडक योजना कार्यालयको सिनियर डिभिजन इन्जिनियर भण्डारीले बजेट अभावकै कारण निर्माण कार्यले गति लिन नसकेको स्वीकार गरे । अहिले परियोजना अन्तर्गत चार वटा ठेक्काको काम भइरहेको छ । चारै वटा ठेक्का वहुवर्षे ठेक्का हुन् । सबै ठेक्कामा भुक्तानी दिने बजेट कार्यालयसँग नभएको र निर्माण व्यवसायी समेत पैसा नभएपछि काम गर्न उत्साहित नभएको कार्यालका लेखा प्रमुख योगेश पन्थीले गुनासो गरे ।

यस योजना अन्तर्गत पुर्कोटदह–म्यालपोखरी सडकखण्ड, गुल्मीमा घर टहराको मुआब्जा तथा क्षतिपूर्तीका लागि जम्मा ३ करोड ८० लाख मूल्यांकन रकम निर्धारण भएको थियो । यसमध्ये गत आ.व. २०८०/८१ मा मुआब्जा तथा क्षतिपूर्ति शीर्षकमा विनियोजित बजेट रकम रु. एक करोड वितरणको कार्य सम्पन्न भएको र आ.व. २०८१/८२ मा जम्मा १५ लाख मात्र विनियोजन भएको लेखा प्रमुख पन्थीले बताए । सन्धिखर्क माटे भण्डार ७ किलोमिटर सडक र पुर्कोट अर्खाबाङ १९ किलोमिटर सडक गरी २६ किलोमिटर सडकको काम बिरुवा–पुस्पा बिल्डर्स कम्पनी अर्घाखाँचीले द्रुर्त गतिमा अगाडि बढाएको भएपनि काम अनुसार बिल भुक्तानी नपाउँदा काम गर्न अप्ठ्यारो परेको बिरुवा पुष्पा विल्डर्सका सञ्चालक इन्जिनियर मनोज बन्जाडेले मध्यान्हसँग गुनासो गरे । बाँकी ठेक्काहरु कञ्चन खोला, रुपन्देहीदेखि– खुसार्ने, पाल्पासम्म १३.५ किलोमिटर, खुसार्ने पाल्पादेखि पटौटी अर्घाखाँचीसम्म २२ किलोमिटर र बाग्लुङको बुर्तिवाङ्गदेखि फल्लेघरसम्म २२ किलोमिटरको ठेक्का रहेका छन् । बाग्लुङको बुर्तिवाङ्गदेखि फल्लेघरसम्मको २२ किलोमिटर ठेक्का निर्माण व्यवसायी स्वछन्द–ओम–बुद्धमार्फत भइराखेकोमा निर्माण व्यवसायीले योजनाबाट पटक–पटक ताकेता गरेता पनि काम गर्न ढिलाइ गरेको हुनाले समस्या परेको योजनाका इन्जिनियरहरु बताउँछन् । पुलको डिजाइन स्वीकृत भएपछि ठेक्काको चरणमा जाने तयारी भएको भएपनि अझै केही समय लाग्ने योजना प्रमुख भण्डारीको भनाइ छ ।

वहुवर्षे ठेक्कामा जति काम निर्माण व्यवसायीले गर्न सक्छन्, उति रकम कार्यालयले दिनुपर्ने हुन्छ । कार्यालयमा बजेट अभाव भएपछि निर्माण व्यवासायीलाई काम गर्न ताकेता लगाउन नसकिने भएकाले काम गर्न दबाब दिन कठिन हुने साइटमा खटिएका कर्मचारीहरु बताउँछन् । खासगरी यो सडक ५ जिल्ला रुपन्देही, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ जिल्लालाई प्रत्यक्ष  सहयोग पुर्‍याउने गौरवको सडक योजना भएपनि सरकारमा रहने उच्च तहका नेताहरुले ध्यान नदिएको कारण सडकमा बजेट अभाव भएको यहाँका जनताहरुको बुझाइ छ । 

यी ५ जिल्लामा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने उद्देश्यले सडकको निर्माण थालेपनि सरकारको बेवास्ता नेताहरुको दुरदृष्टि नपुग्दा  सडकलाई आवश्यकपर्ने उचित बजेट पर्न नसकेको भन्दै स्थानीयवासी निराश बनेका छन् ।

यो सडक निर्माण भएपछि बागलुङको पश्चिमी क्षेत्र, गुल्मीको पश्चिम क्षेत्र र अर्घाखाँचीका बासिन्दालाई बुटवल आउजाउ गर्न निकै छोटो दुरी र सहज हुने युवा व्यवसायी पुष्पा निर्माण सेवाका सञ्चालक इन्जिनियर मनोज बन्जाडे बताउँछन् ।

यस्तै, प्युठानको पूर्वी क्षेत्र र रुकुम पश्चिमका स्थानीयवासी पनि यस सडकबाट प्रत्यक्ष लाभान्वित हुने छन् । बुद्ध जन्मस्थल लुम्बिनीदेखि बागलुङको ढोरपाटनलाई जोड्ने सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माण भएपछि लुम्बिनी भ्रमणमा आउने पर्यटकहरू ढोरपाटनसम्म सहजै पुग्न सक्ने  र अर्घाखाँचीको व्यापार व्यवसाय समेत चलायमान हुने अपेक्षा गरिएको छ । 

सडक योजनाको काम हेर्न कार्यालय प्रमुख भण्डारी दैनिक फिल्डमा पुगेर कामको अनुगमनमा  खटिएका छन् भने सडकमा बजेट अभावको गुनासो बोकेर मन्त्रालयमा पुग्दा पनि कुनै सुनुवाइ नहुने गरेको कार्यालयका कर्मचारीहरु गुनासो गर्छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise