२०८३ असोज २ गते शुक्रवार / Sep 18 , 2026 , Friday
२०८३ असोज २ गते शुक्रवार

स्वार्थ द्वन्द्वका कारण धितोपत्र बोर्डमा समस्या, अध्यक्षको अन्तरवार्तामा दुई जना मात्रै भए उपस्थित

Nada
२०८१ असार २ गते २१:४३
Shares
स्वार्थ द्वन्द्वका कारण धितोपत्र बोर्डमा समस्या, अध्यक्षको अन्तरवार्तामा दुई जना मात्रै भए उपस्थित

काठमाडौं : आइतबार धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि सर्टलिस्टमा परेकालाई बोलाइएको अन्तवार्ता तथा व्यावसायिक प्रस्तुतीकरणमा दुई जना मात्रै सहभागी भए । बोर्डको अध्यक्ष सिफारिसको लागि बनेको सिफारिस समितिले सर्टलिस्टमा राखेका ५ जनामध्ये दुई जना मात्रै सहभागी भएपछि बोर्डको अध्यक्ष नियुक्ती प्रक्रियामा थप अन्यौल बनेको छ ।

ncell

आइतबार अन्तरवार्तामा अध्यक्ष आवेदकहरुमध्ये सर्टलिस्टमा परेकामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्रै सहभागी भए भने सर्टलिस्टमा परेकामध्ये अन्य आवेदकहरु कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईं र नवराज श्रेष्ठ सहभागी भएनन् । सर्टलिस्टमा परेकामध्ये तीनजना व्यक्तिहरु नै सहभागी नभएपछि थप अन्तवार्ता र प्रस्तुतीकरणको लागि समितिले बुधबारलाई समय तोकेको छ ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले कार्यालयको काममा हाल काठमाडौं बाहिर रहेको भनी जानकारी गराएको, त्यस्तै धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज श्रेष्ठ र बीमा प्राधिकरणका पूर्व अध्यक्ष चिरञ्जीवी चापागाईँ सम्पर्कमा नआएको अर्थमन्त्रालय स्रोतले बताएको छ । खासगरी आइतबार अन्तवार्तामा सहभागी भएकाहरु एमाले अध्यक्ष केपी ओली निकट पात्र रहेको र नभएकाहरु माओवादी निकटका पात्रहरु रहेको बुझिन्छ ।

बोर्डको अध्यक्षमा अर्थमन्त्रीले आफ्नो रोजाइको पात्र र केपी ओलीले आफ्नो रोजाईको पात्र नियुक्तीको लागि दबाब दिन थालेपछि लामो समयदेखि नियुक्ति प्रक्रिया नै अवरुद्ध भएको विश्लेषण हुँदै आएको छ । नेप्सेको विकल्पमा नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने विषयलाई मुख्य विषय बनाएर आफ्नो स्वार्थअनुकुलको व्यक्तिलाई नियुक्ति गर्ने मनसायले दुई पक्षबीचमा शक्तिसंघर्ष भएको अनुमान धेरैले गरेका छन् ।

सरकारले गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव मधुकुमार मरासिनी र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी शुक्रबार दिउँसोसम्म अध्यक्षको सिफारिसमा परेका उम्मेद्वारहरुको नाम पठाउन निर्देशन दिएका छन् । साथै शुक्रबारै मन्त्रीपरिषद्को बैठकले धितोपत्र बोर्डको नयाँ अध्यक्ष नियुक्त गर्ने तयारी रहेको बताइएको छ । पाँच महिनादेखि धितोपत्र बोर्ड नेतृत्व विहीन रहेकाले सरकार प्रक्रिया लम्ब्याउने पक्षमा छैन ।

धितोपत्र बोर्ड अध्यक्षको नियुक्ति गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेका लब्धप्रतिष्ठित व्यक्तिहरु मध्येबाट उपयुक्त व्यक्तिलाई अध्यक्षको पदमा नियुक्ति गर्ने व्यवस्था उल्लेख छ । तर, दुई पक्षबीचमा आवश्यक सहमति हुन नसकेमा वा सर्ट लिस्टमा परेका अन्य तीन जना व्यक्तिहरु अन्तवार्ता र प्रस्तुतीकरणमा सहभागी हुन नआएमा अध्यक्ष नियुक्ति प्रक्रिया नै थप लम्बिन सक्ने अनुमान गरिएको छ ।

ताजा खबर

सम्बन्धित खबर