२०८१ मंसिर ९ गते आइतवार / Nov 24 , 2024 , Sunday
२०८१ मंसिर ९ गते आइतवार

जनजाति महासंघले बाँकेमा महोत्सव आयोजना गर्ने

ADV
मध्यान्ह
२०८१ कार्तिक १० गते २१:५२
जनजाति महासंघले बाँकेमा महोत्सव आयोजना गर्ने

नेपालगन्ज : कला–संस्कृति जोगाउनका लागि नेपालगञ्जमा २० दिवसीय महोत्सव आयोजना गर्ने भएको छ । 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले पत्रकार सम्मेलनको आयोजना गरेर उक्त महोत्सवको बारेमा जानकारी दिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, कला, संस्कृति, भेषभूषा लगायतका सबैजसो पछिल्लो समयमा लोप हुँदै र ओझेलमा पर्दै जान थालेपछि जनजातिका यी अमूल्य सम्पत्तिलाई संरक्षण, जगेर्ना र प्रवद्र्धन गर्ने  उद्देश्यका साथ नेपालगञ्जमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । 

पत्रकार सम्मेलनमा ‘विश्वभरी फैलिएका हामी जनजाति हामी आदिवासी, जोगाई राखौं भेषभूषा, भाषा, संस्कृति’ भन्ने मूल नाराका साथ यही कात्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म नेपालगन्जमा ‘प्रथम कृषि, पर्यटन प्रवद्र्धन, व्यापारिक संरक्षण तथा साँस्कृतिक महोत्सव एक्सपो–२०८१’ सञ्चालन गर्न लागिएको अध्यक्ष थापामगरले जानकारी दिए । 

महासंघको भवन निर्माणका लागि सहयोगार्थ आयोजना गर्न लागिएको महोत्सवमा जाति, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुद्वारा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरी मनोरञ्जन पनि प्रदान गरिने उनले बताए । 

महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका महासंघका अध्यक्ष थापामगरका अनुसार हस्तकला, घरेलु उत्पादन तथा व्यापार व्यवसाय सहितका महोत्सवमा २५० स्टल रहनेछन् ।

उक्त महोत्सव अवधिभर आदिवासी जनजातिका कला, संस्कृति सम्बन्धि पौराणिक कला जातिय भेषभूषाको प्रदर्शन गरिने, कृषि पर्यटन हस्तकला सहितका स्टलहरु राखिने, लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका धार्मिक तथा पर्यटकीय स्टलहरु प्रदर्शनी गरिने तथा जातिय खाना  तथा परिकार प्रदर्शनी तथा बिक्री गरिने पनि अध्यक्ष थापामगरले जानकारी दिए । 

उक्त महोत्सवका लागि अध्यक्ष थापा मगरको संयोजकत्वमा मूल आयोजक समिति र सचिव राजन रानामगरको संयोजकत्वमा सचिवालय गठन गरिएको आयोजकले जनाएको छ । 

आयोजकका अनुसार कृष्ण पुनमगरको संयोजकत्वमा सल्लाहकार उपसमिति, भूपेन्द्र पुनमगरको संयोजकत्वमा सुरक्षा उपसमिति, अजय पुनमगर (गोपाल) को संयोजकत्वमा आर्थिक उपसमिति, संगीता चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति, गनबहादुर गुरुङको संयोजकत्वमा झाँकी र्‍याली व्यवस्थापन उपसमिति, सुन्दर गुरुङको संयोजकत्वमा साँस्कृतिक उपसमिति, आइत पुनमगरको संयोजकत्वमा खानेपानी तथा शौचालय उपसमिति, जनक पहराई मगरको संयोजकत्वमा स्वयंसेवक उपसमिति र अशोक थापामगरको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । आयोजकले महोत्सवमा तीन लाख दर्शकले  अवलोकन गर्ने र पाँच करोड बराबरको आर्थिक कारोबार हुने जनाएको छ ।  त्यसैगरी महोत्सवको सह–आयोजकमा नेपाल आदिवासी जनजाति महासंघ नेपालगन्ज उपमहानगर समन्वय परिषद्, नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर समन्वय परिषद, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बाँके शाखा, नेपाल आदिवासी जनजाति युवा महासंघ बाँके, नेपाल मगर संघ बाँके, तामाङ घेदुङ बाँके, तमु ह्युल छोज घि बाँके, नेवाः पुचः बाँके, वौद्ध धर्म संघ गुम्बा बाँके, नेवाः देयः दवु बाँके लगायत रहेका छन् ।

यसैबीच शनिबार महासंघ र नेपालगञ्ज उद्योग वाणिज्य संघबीच व्यापक छलफलपछि भएको सहमति अनुसार नेपालगञ्जमा सञ्चालन हुने दुबै महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको छ ।

यही कात्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म संचालन हुने महोत्सव र महासंघले गरेको निर्णय पछि नेपालगन्ज उद्योग वाणिज्य संघले गरेको घोषणा अनुसार आयोजना गर्न लागेको पुस ४ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सफल पार्न एक आपसमा सहमति भएको हो । 

नेपालगञ्ज उद्योग वाणिज्य संघ नेपालगञ्जमा बसेको बैठकमा दुबै पक्षबीच एक आपसमा सहमति भइ सहकार्य गरेर जाने नेपाल आदिवासी जनजाति महासंघ बाँकेका सचिव सचिव राजन रानामगरले बताए । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेले आयोजना गर्न लागेको नेपालगञ्जमा ‘प्रथम कृषि, पर्यटन प्रवद्र्धन, व्यापारिक संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ को नारालाई परिमार्जन गरी नेपालगञ्ज प्रथम कृषि पर्यटन प्रवर्द्धन तथा साँस्कृतिक महोत्सव एक्सपो २०८१ राखिने सहमति भएको हो । यस्तै नेपालगञ्ज उद्योग वाणिज्य संघ र नेपाल आदिवासी जनजाति महासंघ कोहलपुर नगर समन्वयले आयोजना गर्न लागेको महोत्सवको मिति जुध्न गएको खवरले यस बारे दुवै पक्षबीच समय नजुझ्न पहल गरिने सहमति भएको छ । 

यस्तै जनजाति महासंघले आयोजना गर्न लागेको महोत्सवको मिति २० दिन लामो भएको हुनाले यसलाई अलि समय कम गराउन सम्बन्धित सरोकारवालाले गरेको निर्णय मान्य हुने आदिवासी जनजाति महासंघ बाँकेका सचिव रानामगरले बताए । 

यसपटकको मेला जनजातिका परिकार, भेषभुषा परम्परागत संस्कृतिको प्रदर्शन हुने भएको हुनाले अन्य महोत्सव भन्दा फरक हुने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् बाँकेका अध्यक्ष डम्बरबहादुर थापामगरले बताए । 

सबै समुदायको कला, संस्कृति, भेषभुषा र परिकारहरुको स्वाद लिन सकिने भएको हुनाले अहिलेसम्मकै फरक खालको महोत्सव संचालन गर्ने सोच भएको महोत्सव मुल समितिका संयोजक थापामगरले बताए ।

आदिवासी जनजातिका परम्परागत रीतिरिवाज, चालचलन, कला, संस्कृति, भेषभूषा लगायतका सम्बन्धित सबै कुरा पछिल्लो समयमा हराउँदै जान थालेपछि यसलाई संरक्षण, जगेर्ना र प्रवद्र्धन तथा प्रचारप्रसार गर्ने उद्देश्यका साथ नेपालगञ्जमा महोत्सव आयोजना गर्न लागिएको सचिव रानामगरले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise