रौतहट : सदरमुकाम गौरमा १९ औ मानव बेचबिखन बिरुद्धको राष्ट्रिय दिवस मनाइएको छ l शुक्रवार बिहान ‘ तिनै तहको सरकार मिली गरौं हातेमालो : मानव बेचबिखनको हटाऔं दुस्चक्रको जालो ’ भन्ने मूल नाराका साथ नगरपरिक्रमा गरि दिवस मनाइएको हो l
जिल्ला प्रशासन कार्यालय रौतहटको अगुवाई तथा बिभिन्न संघ संस्थाको सहभागितामा निस्किएको र्याली गौर भन्सार कार्यालयबाट सुरु भई नगर परिक्रमा गरिएको थियो l ग्रामिण विकास केन्द्र नेपाल, प्रादेशिक अस्पताल गौर, एकद्वार संकट व्यवस्थापन केन्द्र,इस्लामिक रिलिफ नेपाल, टिनि हैन्ड्स नेपाल, आसिस नेपाल समाज लगायतका संघ संस्थाको सहभागितामा नगर परिक्रमा गरिएको हो l
नगर परिक्रमापछी समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी विनोद खड्काले मानव बेचबिखन सामाजिक कलंक र गम्भीर किसिमको अपराध रहेको बताउदै यसविरुद्ध सबै पक्ष एकजुट भएर लाग्नु पर्नेमा जोड दिए l उनले सिमावर्ती क्षेत्रहरू मानव बेचबिखनको लागि ट्रान्जिट पोइन्ट बन्न सक्ने जोखिम समेत रहने भएकालेले प्रहरी तथा नागरिक समाजका संघ संस्थाहरुहरु गम्भीर भएर लाग्ने गरेको बताए l
यो दिवस मानव बेचबिखनजस्तो गम्भीर अपराध रोकथामका लागि जनचेतना फैलाउने,पीडितहरूको अधिकार संरक्षण गर्ने, महिला बालबालिका तथा कमजोर समुदायलाई सुरक्षित बनाउन राज्य र समाजलाई जिम्मेवार बनाउने, कानूनी, सामाजिक र संस्थागत पहललाई अझ प्रभावकारी बनाउने लगायतका उद्देश्यका साथ मनाइएको ग्रामिण विकास केन्द्रका उपाध्यक्ष ममता झाले बताए l नेपालले सन् २००८ (वि.सं. २०६५) देखि यो दिवस मनाउन सुरु गरेको हो ।