२०८३ असोज ३० गते शुक्रवार / Oct 16 , 2026 , Friday
२०८३ असोज ३० गते शुक्रवार

घरेलु तथा साना उद्योग कार्यालय बझाङद्वारा उद्योगीलाई उपकरण प्रदान

Nada
रुपक खड्का
२०८१ असार ३ गते १३:००
Shares
घरेलु तथा साना उद्योग कार्यालय बझाङद्वारा उद्योगीलाई उपकरण प्रदान

बझाङ : घरेलु तथा साना उद्योग कार्यालय बझाङले जिल्लाका विभिन्न ठाँउमा व्यवसाय गर्दै आएका उद्योगीलाई ८० प्रतिशत अनुदानमा औद्योगिक उपकरण प्रदान गरेको छ । 

ncell

घरेलु तथा साना उद्योग कार्यालय बझाङले चालु आर्थिक वर्ष २०८०-०८१ को एक निर्वाचन क्षेत्र एक उद्योग प्रवर्द्धन कार्यक्रमअनुसार बटुलसेरी फर्निचर उद्योग बुङल नगरपालिका-६, नवदुर्गा ग्रील उद्योग बित्थडचिर गाउँपालिका-४ र खुसी ग्रील उद्योग दुर्गाथली गाउँपालिका-२ का उद्योगीलाई उपकरण प्रदान गरेको हो ।

कार्यालयले लामो समयदेखि स्थानीयस्तरको कच्चा पदार्थको प्रयोग गरी बुट्टा भरिएका झ्यालढाेका निर्माण गर्ने फर्निचर उद्योगलाई ५ लाख बराबरको अत्याधुनिक मेसिन खरिदका लागि अनुदान उपलब्ध गराएको छ । साथै ग्रील उद्योगमा राम्रो आम्दानी गरिरहेका युवालाई थप यन्त्र उपकरण अनुदान दिँदै स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने बताएको छ ।

आइतबार एक कार्यक्रमका बीच अनुगमनमा गएका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख खडक बोहरा, जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर बोहरा र वरिष्ठ उद्यम विकास सहजकर्ता दशरथ जप्रेलले उद्योगले प्रविधिको सही सदुपयोग गरे-नगरेको बारे स्थलगत अनुगमन गरेका थिए । 
 
प्रविधिक उपकरण सहयोग कार्यक्रमअन्तर्गत ५ लाख बराबरको औद्योगिक उपकरण अनुदान पाएका बित्थडचिर गाउँपालिका-४ स्थित नवदुर्गा ग्रील उद्योगका सञ्चालक रोगडाे कामीले भने, 'पुर्खाले लामो समय गाउँमा हलिया गर्दै गुजारा टार्नुभयो, सानो आरन राखेर आसी, बन्चरो बनाउँदै जेनतेन घर खर्च चलाउनुभयो, अहिले मैले त्यो गाउँघरको आरनबाट पाएको ज्ञान सीप ग्रील उद्योगमा लगाएर राम्रो व्यवसाय गरेको छु ।'

घरेलु तथा साना उद्योग कार्यालय बझाङले आफ्नो उद्योगको आवश्यकता अनुसार मेसिनरी औजार, जेनेरेटर, वेल्डिङ मेसिन आदि प्रविधि उपलब्ध गराउँदा आफूले ३ जना स्थानीय युवाहरूलाई रोजगारीसमेत दिएको कामीले बताए । उनले हर्षित हुँदै भने, 'गाउँको सानो आरन व्यवसायबाट नुनतेल किन्नसमेत पैसा पुग्दैन थियो, दिनभर फलामसँग जुध्नुपर्थ्यो, तर अहिले नयाँ प्रविधिसँगै ग्रील उद्योग सञ्चालनपछि आम्दानी राम्रो हुँदै गएको छ ।'

ताजा खबर

सम्बन्धित खबर