२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

विश्व बैंकको आईडीए बैठक काठमाडौंमा, दुई सय प्रतिनिधि सहभागी हुँदै

ADV
छबि सापकोटा
२०८१ असार ३ गते २०:३१
विश्व बैंकको आईडीए बैठक काठमाडौंमा, दुई सय प्रतिनिधि सहभागी हुँदै

काठमाडौं : विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)को २१ बैठक मंगलबारदेखि नेपालमा हुँदै छ । नेपालमा हुन लागेको विश्व बैंकको अहिलेसम्मकै ठूलो कार्यक्रम हो यो । सो कार्यक्रममा ६१ देशका करिब दुई सय भन्दा बढी प्रतिनिधिहरुको सहभागिता हुँदैछ । बैठकमा विश्व बैंकका वरिष्ठ प्रवन्ध निर्देशक एक्सेल भान ट्रोटसेनवर्गलगायत उच्च पदस्थ पदाधिकारी काठमाडौं आइपुगेका छन् । 

विश्वका सबैभन्दा गरिब मुलुकलाई अनुदान तथा सहुलियतपूर्ण ऋण दिने संस्था आईडीएको रणनीतिक योजना बनाउने ‘आईडीए–२१’ अन्तर्गतको तेस्रो रिप्लेनिसमेन्ट बैठक असार ४ देखि ७ सम्म काठमाडौंमा हुनेछ । बैठकको मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । दक्षिण एशियामै पहिलो पटक आयोजना हुन लागेको विश्व बैंकको उक्त प्रकृतिको उच्चस्तरीय बैठक हो । नेपालले ६ वर्षअघि आईडीए–१९ बैठक काठमाडौंमा गर्न अमेरिकाको वासिङटन डीसीस्थित विश्व बैंक मुख्यालयलाई पत्राचार गरेको थियो ।  

बैठकमा विश्व बैंकको सहयोगमा बनेका आयोजनाबाट नेपालको विकास अनुभव र सफल मोडलको जानकारी दिइने छ भने नेपालका विकास प्राथमिकतालाई आईडीएको नीति प्राथमिकताको बारेमा छलफल हुनेछ । बैठकको प्रमुख एजेन्डा नेपालजस्ता विकासोन्मुख मुलुकको आर्थिक विकासमा कसरी थप सहयोग गर्ने भन्ने तय गरिएको छ । यस्तै नेपाल २०२६ देखि विकासशील देशमा स्तरोन्नती हुँदै गर्दा विश्व बैंकसँग सहुलियतदरमा ऋणका लागि समेत पहल गरिने बताईएको छ । यस्तै साझेदारहरूसँगको सहकार्यमा नेपालमा निर्माणाधीन विकास आयोजना, तिनीहरूका सकारात्मक पक्ष र चुनौतीबारे विश्व समुदाय अवगत हुने र उक्त अनुभव संसारलाई बाँड्न बैठक महत्वपूर्ण हुने विश्वास गरिएको छ । आईडीए बैठकबाट नेपालको अन्तर्राष्ट्रिय स्तरमा पहिचान बढ्ने, आगामी दिनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय स्तरका ठूला कार्यक्रम सञ्चालन गर्न आत्मविश्वास बढ्ने, पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

आगामी तीन वर्षका लागि आईडीए देशहरुलाई प्रदान गरिने सहुलियतपूर्ण ऋण तथा अनुदान सहायता तथा प्राथमिकता क्षेत्र, नीति ढाँचा, नतिजा खाका र आवश्यक वित्तीय स्रोतको प्रतिबद्धता व्यक्त गर्ने सम्बन्धमा दातृ पक्ष, सहायता प्राप्त गर्ने देशका प्रतिनिधि र विश्व बैंकका उच्च पदस्थ पदाधिकारीबीच चार दिनसम्म प्राविधिक सत्रमा छलफल हुने अर्थ मन्त्रालयले जनाएको छ । 

बैठकमा सहभागीहरुबाट विश्व बैंक समेतका सहयोगमा नेपालमा सञ्चालित शिक्षा, खानेपानी, पुनर्निमाण, उर्जा, जलवायु लगायतका क्षेत्रसंग सम्बन्धित विभिन्न नौ वटा आयोजनाहरुको समेत स्थलगत भ्रमण हुनेछ । नेपालमा सञ्चालन भएका आयोजनाको प्रगति र अवस्थाका बारेमा विश्व समुदायलाई नजिकबाट देखाउन र बुझाउन यसले अवसर प्रदान गर्नेछ । हरेक तीन वर्षमा हुने आईडीएको २०औं बैठक २०२१ डिसेम्बर १४ र १५ मा जापानमा भएको थियो । उक्त बैठकले न्यून आय भएका देशलाई कोभिड–१९ महामारी सामना गर्न र हरियाली प्रवद्र्धनमार्फत कार्बन उत्सर्जन घटाउन ९३ अर्ब अमेरिकी डलर अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको थियो । सन् १९६० मा स्थापना भएको आईडीए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका देशका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो । आईडीएले न्यून र मध्यम आय भएका विश्वका ७५ भन्दा बढी देशमा सहायता गर्ने गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise