२०८१ मंसिर ६ गते बिहिवार / Nov 21 , 2024 , Thursday
२०८१ मंसिर ६ गते बिहिवार

गेरुवामा सातौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड छनाेट प्रतियोगिता शुरु

ADV
सन्तोष पौडेल
२०८१ कार्तिक २९ गते २०:४८
गेरुवामा सातौं अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड छनाेट प्रतियोगिता शुरु

बर्दिया : बर्दियाको गेरुवा गाउँपालिकामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सातौँ अध्यक्ष कप तथा अन्तर विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुरु भएको छ । 

गेरुवा गाउँपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय प्रसेनीपुरको आतिथ्यमा  वडा नं ६ को कल्पेश्वर महादेव खेल मैदानमा बिहीबार प्रतियोगिता शुरु भएको हो । ‎ ‎

प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले खेलकुदले अनुशासनको निर्माण गर्ने र गुणस्तरीय शिक्षाको लागि अनुशासनको आवश्यकता पर्ने बताए । उनले खेलकुद र शिक्षालाई सँगसँगै अगाडि लैजानुपर्ने बताए । उनले गेरुवा गाउँपालिकाकाको शैक्षिक गुणस्तर खस्कँदै गएकोले शिक्षकहरूलाई संवेदनशिल बन्न आग्रह समेत गरे । 

उनले भने, ‘शैक्षिक गुणस्तर सुधारका लागी कार्ययोजना लिएर आउनुहोस् मन्त्रालय सहकार्य गर्न तयार छ ।’ ‎ गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी.ले प्रतियोगिता अनुशासित, मर्यादित एवम् पारदर्शी ढंगबाट सम्पन्न हुने कुरामा आफू विश्वस्त रहेको बताए । ‎

मार्चपास तथा झाँकीसहित एथलेटिक्स, कबड्डी, भलिबल, कराँते तथा तेक्वान्दो गरी ६ विधामा प्रतियोगिता सञ्चालन गरिने सचिवालयले जानकारी दिएको छ । माध्यमिक तहको प्रतियोगितामा ७, आधारभुत तहको प्रतियोगितामा ११ र प्राथमिक तहको प्रतियोगितामा १२ वटा विद्यालयका ७ सय ९० जना छात्रछात्राहरूले प्रतिस्पर्धा गर्ने छन् । ‎

प्राथमिक तहको प्रतियोगितामा एथलेटिक्सका १०० तथा २०० मिटरको दौड र लङ्जम्पमा छात्रछात्राबीच प्रतिस्पर्धा गराइनेछ भने आधारभूत तहको प्रतियोगितामा एथलेटिक्सतर्फ १००, २०० र ४०० मिटर दौड, लङ्गजम्प, ट्रिपलजम्प र भलिबलका खेलहरू मात्र समावेश गरिएको खेलकुद प्रतियोगिता सञ्चालन सचिवालयका संयोजक भिम बहादुर धामीले बताए । ‎

सामुदायिक र निजी गरी ३३ वटा विद्यालय  मध्ये ३१ वटा विद्यालय मार्चपासमा सहभागी भएका थिए । प्रतियोगिता पुस १ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समावेश गराइने बताइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise