२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

सहकारी प्रकरण : रविविरुद्ध चौथो मुद्दा दायर

hardik ivf
२०८१ माघ २३ गते ०६:२५
सहकारी प्रकरण : रविविरुद्ध चौथो मुद्दा दायर

काठमाडौं : सहकारी संस्थाको रकम अपचलनसम्बन्धी ३ वटा जिल्लामा मुद्दा विचाराधीन रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चितवनको सहारा सहकारी संस्थाको रकम ठगी गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो । योसँगै उनीविरुद्ध सहकारी प्रकरणमा मुद्दा दर्ता भएका जिल्लाको संख्या ४ पुगेको छ ।

चितवन जिल्ला अदालतका प्रवक्ता अमृत विश्वकर्माका अनुसार लामिछानेविरुद्ध सहकारी संस्थाको रकम ठगीको अभियोगमा मात्र मुद्दा दर्ता भएको छ ।

यसअघि ठगी गरेको आरोपमा १७ जनाविरुद्ध अभियोगपत्र दायर भएकामा अहिले थप १५ जनाविरुद्ध पूरक अभियोगपत्र दर्ता भएको हो ।

विश्वकर्माका अनुसार पूरक अभियोगपत्रमा संगठित अपराधमा समेतगरी अभियोग लगाइएकामा कुल ३२ जनामध्ये १२ जनाविरुद्ध ठगी र संगठित अपराध दुवै कसुरमा दर्ता भएको छ । लामिछानेको हकमा भने सहकारी संस्थाको रकम ठगी गरेको मात्र अभियोग लगाइएको छ ।

अभियोगपत्रमा ३८ करोड ९ लाख ७९ हजार रुपैयाँ जाहेरीवालाहरूलाई क्षतिपूर्ति भराउनुपर्ने मागदाबी गरिएको छ ।

यसअघि कास्की, काठमाडौंं र रुपन्देही जिल्लामा म्ुद्दा दर्ता भई उनीविरुद्ध मुद्दा विचाराधीन अवस्थामा छ । लामिछानेले हालसम्म धरौटीबापत नै सवा २ करोड रुपैयाँ बुझाइसकेका छन् ।

कास्की जिल्ला अदालतले २५ पुसमा उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यसपछि काठमाडौं जिल्ला अदालतले २ माघमा  ६० लाख रुपैयाँमा लामिछानेलाई थुनामुक्त गरेको थियो । यसैगरी रूपन्देही जिल्ला अदालतले १३ माघमा सबैभन्दा बढी १ करोड रुपैयाँ धरौटी लिएर उनलाई रिहा गरेको थियो ।

सहकारी समस्याबारे छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले लामिछानेमाथि कारबाही गर्न सिफारिस गरेपछि उनीमाथि विभिन्न जिल्लामा अनुसन्धान सुरु भएको थियो । यस प्रकरणमा लामिछानेबारे हाल अनुसन्धानरत जिल्ला भनेको पर्सा छ ।

सरकारी वकिल कार्यालय पर्साका जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाका अनुसार मुद्दा दायर गर्न अझै एकाध साता लाग्ने देखिएको छ ।

संसदीय छानबिन समितिको प्रतिवेदनले लामिछाने जिम्मेवार कार्यकारी भूमिकामा रहेको समयमा टेलिभिजनको काममा सहकारीबाट लगिएको रकम परिचालन भएको देखिएको जनाएको थियो । प्रतिवेदनले उनलाई कानुनबमोजिम कारबाही गर्न भनिएको छ ।

लामिछाने पनि आबद्ध ग्यालेक्सी टेलिभिजनको संचालक कम्पनी गोर्खा मिडियामा गितेन्द्रबाबु (जी. बी.) राई संलग्न भएका ७ मध्ये ५ सहकारीको रकम अनधिकृत रूपमा ल्याइएको समितिको प्रतिवेदनमा औंल्याइएको छ । प्रहरीका अनुसार राई फरार छन् ।

ADVenergy

सम्बन्धित खबर

Advertise