रौतहट : भगवान शिवसँग सम्बन्धित लोपोन्मुख मौलिक लोक अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञको प्रवद्र्धनमा रौतहटको मौलापुर नगरपालिका जुटेको छ ।
शिवपार्वतीको विवाहको मौलिक अनुष्ठानको रुपमा रहेको मधानी महायज्ञलाई मौलापुर नगरपालिकाले गत पाँच वर्षदेखि विश्वव्यापी पहिचान दिन खोजेको छ ।
यसै क्रममा आगामी फागुन १४ गते महाशिवरात्रीका दिन हिन्दी भोजपुरी चलचित्रका चर्चित कलाकार रविकिशनसहित दुई दर्जनभन्दा बढी कलाकार मौलापुर आउने भएका छन् । मौलापुर नगरपालिकाले मंगलबार वडा नम्बर ५ पतौरास्थित पुरातात्विक महादेव मन्दिर परिसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगर प्रमुख रिनाकुमारी साहले मधानी महोत्सवबारे जानकारी गराएकी थिइन् ।
२०७६ सालको महाशिवरात्रीको दिन पहिलो मधानी महायज्ञको आयोजना गरी सुरुवात गरिएको महोत्सवको छटौं संस्करण फागुन १४ गते हुन लागेको हो ।
मधानी महोत्सवले मौलिक संस्कृतिको सम्वद्र्धन हुने, पर्यटकीय विकास हुने तथा व्यापार प्रवद्र्धन हुने विश्वास रहेको नगर प्रमुख साहको भनाइ छ ।
फागुन ११ देखि १५ सम्म चल्ने महोत्सवमा करिब १० लाख दर्शक आउने नगर उपप्रमुख नागेन्द्र प्रसाद यादवको दाबी छ ।
स्थानीय सांस्कृतिक नाच, मधानी यज्ञमा शिवको जन्ती, भारतबाट बोलाइएको शिवलीला प्रदर्शन कुस्ती जस्ता कार्यक्रमका साथै मधानी सांस्कृतिक महोत्सवको आयोजना गरिएको र सांस्कृतिक महोत्सवमा बलिउड भोजपुरी कलाकार, रविकिशन, रितेश पाण्डे, विनय विहारीका साथै नेपाली कलाकार रचना शिवाकोटी, अर्जुन विसी, प्रीति आर्या, विजय यादव निर्बीज, रुद्र नारायण तिवारी सदाम हुसेन र दिपेश शर्मा लगायतका कलाकारहरुको प्रस्तुति निश्चित भइसकेको र अन्य कलाकारहरुसँग पनि सम्पर्क गर्ने काम भइरहेको नगर प्रमुख साहको भनाइ छ ।
उपप्रमुख यादवले मौलापुर नगरपालिकाले मधानी महोत्सवलाई पनि नगरको विकासको एउटा अंगको रुपमा स्वीकार गरिएको बताउँदै स्थानीय रुपमा व्यापार प्रवद्र्धन पनि हुने तथा विगतमा पनि भएको दृष्टान्त रहेको बताए ।
मौलापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले गत असार १० गते भएको नगर सभाले मधानी महोत्सवको लागि ७८ लाख रुपैयाँ विनियोजन गरिसकेको जानकारी गराउँदै प्राचीन मन्दिर, प्राचीन महायज्ञ र प्राचीन खेलको लागि यस वर्षको महोत्सव प्रसिद्ध हुने बताए ।
वि.स.२०६५ मा जमिन खन्ने क्रममा मौलापुर ५ पतौरामा भेटिएको संरचनाको देशविदेशका पुरातत्वविद्बाट अध्ययन भएको छ । स्थानीय सरकार गठन भएपछि मौलापुर नगरपालिकाले पुरातात्विक महादेव स्थानको प्रवद्र्धन गर्दै आएको छ ।
पुरातात्विक महादेव मन्दिर परिसरमा विवाह मण्डप, फराकिलो स्थान, पुरातात्विक संग्रहालय तथा भव्य मन्दिरको निर्माण नगरपालिकाको अग्रसरता भइसकेको छ । मन्दिर परिसरभन्दा करिब एक मिटर उत्तरमा भेटिएको नयाँ पुरातात्विक अवशेषको पनि नगरपालिकाको अग्रसरमा उत्खनन् गर्ने काम भइरहेको छ ।
गत वर्ष महाशिवरात्रीको दिन मधानी महोत्सवमा आएकी भारतको बिहार सरकारका सेवानिवृत्त पुरातत्वविद डा. विद्या चौधरीले पुरातात्विक महादेव परिसरका इँटा र संरचना गुप्तकालको भएको बताएकी थिइन् ।