२०८१ माघ २३ गते बुधवार / Feb 05 , 2025 , Wednesday
२०८१ माघ २३ गते बुधवार
Ads

गुल्मी भार्सेका महिलालाई होमस्टे तालिम

hardik ivf
सुर्य प्रसाद भुसाल
२०८१ माघ २२ गते २१:१९
गुल्मी भार्सेका महिलालाई होमस्टे तालिम

गुल्मी : गुल्मीको पर्यटकीय गन्तव्य भार्सेमा महिलाहरुलाई उद्यमी  बनाउने उद्देश्यले  होमस्टे(घरबास) तालिम दिइएको छ । भार्सेमा  ऐतिहासिक, पर्यटन क्षेत्रको विकास, कला संस्कृतिको जगेर्ना साथै महिलामार्फत रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धि गर्ने उद्देश्यले पर्यटन डिभिजन कार्यालय रुपन्देहीको आयोजनामा ‘महिला उद्यम तथा होमस्टे’तालिम सम्पन्न भएको डिभिजन प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सत्यवती गाउँपालिका गुल्मीका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले वडा नम्बर ८ भार्से ठाउँलाई गुल्मीकै उत्कृष्ट नमुना पर्यटकीय वडा बनाउने उद्देश्य अनुरूप पर्यटन डिभिजन कार्यालय रुपन्देहीले  महिला उद्यम तथा होमस्टे तालिम  दिएर  उत्कृष्ट काम गरेको बताए । 

स्थानीय उत्पादनको बजारीकरणसँगै स्थानीय स्तरमै विशेषगरी महिलाहरूका लागि रोजगारी सिर्जना गर्न तालिमले सघाउ पुग्ने भुसालको भनाइ छ ।

भार्सेको स्थानीय खाना, त्यहाँ आउने पर्यटकहरुलाई  सत्कार र घुम्नका लागि सम्पदा क्षेत्र आकर्षण हुने पर्यटन डिभिजन कार्यालयका डिभिजन प्रमुख नेत्रप्रसाद भुसालले बताए । 

‘सो  बस्तीबाट थालिएको कार्यक्रम र यसको सिकाइलाई गुल्मीभर विस्तार गर्न सकिन्छ,’ उनले भने, ‘हामीले अहिले भार्सेबाट तालिम सुरु गरेका छौं । महिलाहरुलाई  आत्मनिर्भर बनाउनका लागि घरबास पर्यटनको क्षेत्र एउटा सम्भावना बोकेको कार्यक्रम हो ।’ साथै, विभिन्न चुनौतीका बाबजुत पनि आफ्नो कार्यकालमा  धेरै ठाउँमा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि यस्ता तालिमको आयोजना गर्ने भुसालले दावी गरे । कार्यक्रममा सत्यवत्ती गाउँपालिका ८ का वडाध्यक्ष होमबहादुर रानाले तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गरी गाउँमा अतिथि सत्कार गरी ग्रामीण अर्थतन्त्रमा विशेष योगदान दिन आग्रह गरे ।

सत्यवती गाउँकार्यपालिका सदस्य कमला पचभैया काउचा, वडा सदस्य रिता रम्तेल, वडा सचिव विद्या भण्डारी, प्रशिक्षकहरु रमणी डुम्रे, सुरज बास्तोला, मनिषा श्रेष्ठ, थाप्ले क्लबका अध्यक्ष नरु बुढाथोकी लगायतको  कार्यक्रममा उपस्थिति रहेको थियो ।

कार्यक्रममा पर्यटन डिभिजन कार्यालयका डिभिजन  प्रमुख नेत्र प्रसाद भुसालले तालिममा सैद्धान्तिक भन्दा पनि व्यवहारिक पक्षमा बढी जोड दिने बताए ।

कार्यालयले सार्वजनिक सूचनामार्फत इच्छुक व्यक्तिलाई तालिमका सहभागिताका लागि आवेदन माग गरे बमोजिम पहिलो कार्यक्रम भार्सेमा सञ्चालन गरिएको हो । यसपछि थप दुई जिल्लामा पनि यस्तै तालिम आयोजना हुने तालिम संयोजक एवम् पर्यटन डिभिजन कार्यालय रुपन्देहीका अधिकृत जनकराज खनालले बताए । 

भार्सेको आवश्यकतालाई मध्यनजर गर्दै नरु बुढाथोकी तथा जनकराज खनालको पहलमा भार्सेमा तालिम सुरुवात गरिएको  हो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट लालकृष्ण रानाले तथा प्रशिक्षकहरुको तर्फबाट सुरज बास्तोलाले तालिमको विषयबस्तुका बारेमा आफ्ना भनाइ राखेका थिए । विशेषगरी बेरोजगार महिलाहरूलाई घरमै केही व्यवसाय संचालन गरी आफैँ आत्मनिर्भर बन्नका लागि यस तालिमले सहयोग पुग्ने अपेक्षा राखिएको छ । तालिममा होमस्टे संचालनको प्रकृया, अतिथि सत्कार,स्थानीय परिकारहरूको निर्माण, स्थानीय पर्यटकीय स्थलहरूको प्रवद्र्धन तथा साँस्कृतिक गतिविधिहरूका बारेमा प्रशिक्षण दिइएको थियो । 

ADVenergy

सम्बन्धित खबर

Advertise