नेपालगंज : नेपालगंज उपमहानगरपालिकाले नेपालगन्ज–कोहलपुर सडकखण्डअन्तर्गतका सडकपेटी व्यवस्थित गर्न थालेको छ । पहिलो चरणमा मुख्य बजार क्षेत्र गणेशमान चोकदेखि कारकाँदोसम्मको सडकपेटी व्यवस्थित गरिन लागिएको हो ।
उक्त सडकखण्डअन्तर्गको पश्चिमतर्फको सडकपेटीमा कंक्रिट ब्लक बिछ्याउन थालिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । जसका लागि उपमहानगरले ५३ भ्याटबाहेक लाख ७६ हजार सात सय २९ रुपैयाँमा ठेक्का दिएको छ ।
माघमा सडकपेटी व्यवस्थित गर्नेसम्झौता भए पनि निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको थियो । उपमहानगरले निर्माण कम्पनीलाई चेतावनी दिएपछि अहिले पुनः कामले निरन्तरता पाएको छ।
गणेशमान चोकदेखि कारकाँदोसम्म १२ सय मिटर सडकपेटी व्यवस्थित छ । अहिले पश्चिमतर्फको मात्र सडकपेटीमा कंक्रिट ब्लक राख्न थालिएको नेपालगन्ज उपमहानगरपालिकामा इन्जिनियर चन्दनराज दासले जानकारी दिए ।
नेपालगंज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र भए पनि यहाँका सडकपेटी अतिक्रमणको चपेटामा परेका छन् । जसले गर्दा सर्वसाधारणहरूले सहजै हिँडडुल गर्न समस्या भएको छ । सडकपेटी व्यवस्थितसँगै आवतजावतमा समेत सहज हुने इन्जिनियर दासको भनाइ छ ।
पहिला लगाएको कंक्रिट ब्लक निकाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । पहिला लगाएको कंक्रिट ब्लक दबेकाले निकालेर नयाँ राख्न थालिएको हो ।