– विक्रम तिरुवा ‘सलिन’, जुम्ला
१.
सकेसम्म यो देशको लागि योगदान गर्नु छ ।
प्यारो नेपाल जोगाउनेलाई मैले सम्मान गर्नु छ ।
कति पनि लाग्न दिने छैन् मेरो देशलाई चोटहरु ।।
यो संसारभरि नेपालीको सधैं उच्च शान गर्नु छ ।
२.
जिन्दगीको खेलमा परीक्षा लिखित हुनुपर्यो ।
एउटाको मात्र होइन है सबैको हित हुनुपर्यो ।
कोही हार्ने त कोही जित्ने कहिँले पनि नहोस् ।।
पालैपालो संघर्ष मेहनतको सधैं जित हुनुपर्यो ।
३.
ओइलाएको फूल जस्तै तिमी झारेर नजानु ।
हाम्रो चोखो माया पिरती अन्तै सारेर नजानु ।
तिमी मेरै बन्नुपर्छ भन्छ यो भित्री मनले सधैँ ।।
मलाई प्रिया जिउँदै यहाँ कहिल्यै मारेर नजानु ।
४.
लेखेर यस्ता शब्दहरु आफ्नै मन जलेको थाहा पाइन्न ।
मन मुटु दिन्छु भन्नेहरू अन्तै चलेको थाहा पाइन्न ।
यो माया पनि एक राजनीतिक जस्तै भयो आजकल ।।
गरेको प्रेम अनि विश्वास कतिखेर ढलेको थाहा पाइन्न ।
५.
तिमीलाई अझै पनि दलित जात चल्दैन थाहा छ ।
मैले गरेको कुनै पनि राम्रा बात चल्दैन थाहा छ ।
कहिँलेसम्म हुने हो दलितमाथि यस्तो भेदभाव ।।
बोटको फूल मात्र चल्छ यो पात चल्दैन थाहा छ ।
– नुमा खालिङ किराँत
पालो दिनुपर्छ गल्न लाग्दा ।
काँध थाम्नु पर्छ ढल्न लाग्दा ।
बोलीमा एक व्यवहारमा अर्को
त्यसैले हेर्छन् छानो बल्न लाग्दा ।
प्रेरणा, सान्तवनाको भाव राख्नु
नियतीले कसैलाई छल्न लाग्दा ।
सकारात्मक सद्भाव दिनु साथी
कुनियत मनमा चल्न लाग्दा ।
सारथी बनी बाटो पहिल्याउनु
कुविचारमा दिन बदल्न लाग्दा ।
काठमाडौं : कीर्तिमानी डा. डीआर उपाध्यायले पचास वटा भाषाकाे एउटै गीति एल्बम "मन माेहिनी" सार्वजनिक गरेका छन् ।
कीर्तिमानी गीतकार उपाध्यायले विभिन्न ५० देशको भाषा रहेको आधुनिक गीति एल्बम ‘मन मोहिनी’ राजधानीमा बुधबार एक कार्यक्रमकाबीच प्रमुख अतिथि विश्व भाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठ, संगीतकार सूर्य दयालु, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’लगायतले एल्बमको विमोचन गरेका हुन् ।
कीर्तिमानी उपाध्यायले हिन्दीमा स्वर दिएका छन् भने संगीतकार सन्तोष श्रेष्ठले नेपाली भाषामा र अन्यमा प्रकाश तिमल्सिनाकाे स्वर रहेको छ । गीतमा सन्तोष श्रेष्ठकाे संगीत रहेकाे छ ।
गीत विश्वका पचास भाषा नेपाली, हिन्दी, जापानी, चिनिया, अङ्ग्रेजी, रुसी, कोरियाली, फ्रान्सेली, स्पेनी, इटालियन, जर्मन, थाई, मौरिसियन, उर्दु, स्वेडिस, क्रोसियन, हिब्रु, पोर्तुगाली, बंगाली, संस्कृत, स्टोनियन, भियतनामी, डच, सिंहाली, स्लोभेनियन, इन्डोनेसियन, रुमानी, फिनिस, पेरुभियन, टर्किस, ग्रिक, फिलिपिनो, अल्बानियन, युक्रेनियन, अफ्रिकी, स्लोभाकिया, सर्बियाली, पानामियन, नर्वेजियन, आइसल्यण्डीक, बर्मेली, कोल्म्बीयन, कुर्डिस, स्वाहिली, पोलिस, बोलिभियन, हङ्गेरियन, डेनिस, लात्भियन र आर्मेनियन रहेको छ ।
यस्तै प्रमुख अतिथि तथा विश्वभाषा क्याम्पसका प्राध्यापक रमेश श्रेष्ठले भाषागत रुपमा गीतमा रहेको भाषाको स्वर र संगीत राम्रो रहेको टिप्पणी गरे ।
संगीतकार सन्तोष श्रेष्ठले यसअघि विभिन्न १२ देशका भाषामा गीत गरेकोमा फेरि पचास भाषामा गीत सार्वजनिक गर्न पाउँदा निकै हर्षित भएको बताए । उनले डा. उपाध्यायले हेरक पल्ट नयाँ र फरक कार्य गर्न खोज्ने क्रममा यसको जन्म भएको बताउँदै डा. उपाध्यायले आफूले आफ्ना लागि मात्र नभएर आफ्नो समाज र देशलाई चिनाउनका लागि फरक कार्य गर्दै आएको दाबी गरे ।
समारोहमा सञ्चारकर्मीहरू र गीत संगीतका विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
गीतसंगीत तथा साहित्य सिर्जनाबाट थुप्रै विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय पहिलो कीर्तिमानी नेपाली सर्जक हुन् ।
यसअघि गीत संगीत र विभिन्न विधामा गिनिजबुक रेकर्डसहित ८० विश्व रेकर्ड कायम गरेका उपाध्यायले यही चैत १८ गते थप विश्व कीर्तिमान र आठ गीति एल्बम सार्वजनिक गर्ने जनाएकाे छ ।
रेशम अधिकारी / मध्यान्ह
काठमाडौंः गाेकर्णेश्वर नगरपालिकाले राष्ट्रिय हास्यव्यङ्ग्य विशेष कविता प्रतियोगिता गर्ने भएकाे छ । नगरपालिकाले आइतबार पत्रकार सम्मेलन गरि नयाँवर्षकाे पूर्वसन्ध्यामा चैत १८ गते विभिन्न कलाकारहरूको उपस्थितिमा बृहत राष्ट्रिय हास्यव्यङ्ग्य कविता प्रतियोगिता आयोजना गर्न लागेको छ ।
नगरपालिकाले प्रतियाेगितामा भाग लिन इच्छुक कविहरूलाइ कविता पठाउन आव्हान गरेकाे छ ।
नगरपालिकाले प्रथम चरणमा कविहरुले पठाएका रचनाहरू वरिष्ठ साहित्यका विज्ञहरूद्वारा प्रारम्भिक मूल्याङ्कनका आधारमा छनोट गरिनेछ । छनाैट गरिएका रचनाकारहरूलाई मात्र वाचनका निमित्त कार्यक्रममा उपस्थित गरिनेछ । रचनाको अन्तिम मुल्यांकन कार्यक्रमकै दिन तीन सदस्यीय विशिष्ट विज्ञहरूले गर्नेछन् ।
कविता २०० शब्दमा रचिएकाे हुनुपर्ने छ । कविता कुनै पनि माध्यमबाट प्रकाशित/प्रशारण नभएकाे हुनुपर्ने नगरपालिकाले जनाएकाे छ ।
कविताकाे विषयवस्तु संविधान रहेकाे छ । कविता कानुनकाे प्रतिकुल नहुने गरी, कसैकाे चरित्रहत्या नहुने खालकाे हुनुपर्ने समेत जनाइएको छ ।
रचना पठाउँदा रचनाकारले आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर, मोवाइल नम्बर, इमेल ठेगाना तथा हालसालै खिचिएको पासपोर्ट साइजको फोटोसमेत कवितासँगै संलग्न गरी पठाउनु पर्नेछ ।
प्रतियाेगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय र तृतीय हुने प्रतियाेगिले क्रमशः ३० हजार र २० हजार पुरस्कार पाउनेछन भने सान्त्वना हुने ३ जनाले भने प्रतिव्यक्ति १० हजार पाउनेछन् ।
– अर्जुन बिष्ट
लामो समयदेखि मनमा अनेकौं सवाल उब्जाएर हिउँ पर्ने सिजनमा मुस्ताङ घुम्ने भनी योजना बनाएको थिएँ । तर, समाचार प्रवाहमै जीवन सिमित भयो । रिपोर्टिङमा दौडिरहेको अवस्थामा पनि बेला–बेला मुस्ताङको जोमसोम, कागबेनी र मुक्तिनाथ जाने रहर मनमा जागिरहन्थ्यो । धेरैजसो त म घुमिसकेको छु । पत्रकारिता र घुमफिरमा बराबरी समय दिन रूचाउँछु । छुट्टीको समय आउने बित्तिकै प्रायः घुम्न निस्किहाल्छु । यसपटक पनि त्यही निर्णय दोहोर्याएँ । जहाँ मलाई पुग्नु थियो । हिउँ परेको बेला त्यहाँको मौसम कस्तो हुन्छ होला ? अझ हिमालको घुम्टो ओडेर आफ्नै मौनतामा मुस्कुराइरहने मुक्तिनाथ कस्तो हुन्छ होला ? कालीगण्डकीको तिरैमा बसेर कागबेनीको सुन्दरबस्ती नियाल्दाको आनन्द कस्तो होला ? नेपाली सिनेमा देखिने हिमालय दृश्य देख्दा म त्यहाँ कहिले पुगुँला ? अक्सर मैले सोचिरहन्थेँ तर, यसपटक भने यी सबै जिज्ञासा मेटाइयो ।
मुक्तिनाथ दर्शनका लागि पोखराबाट तारा एयरलाइन्समा मुस्ताङको यात्रामा निस्कियौँ । साथमा दुई जना साथी पनि थिए । बिहानको ७ बजेर ५५ मिनेटमा पोखरा बिमानस्थलबाट मुस्ताङको जोमसोमको लागी उडान भर्यौं । करिब साढे आठ बजेतिर जोमसोममा ल्याण्ड भयौं । यो ३० मिनेटको हवाई यात्रामा अग्ला स्थानमा रहेका हिमालहरू अवलोकन गर्ने अवसर मिल्यो । कास्कीको आकाशदेखि नै माछापुच्छ्रे, अन्न्पुर्णलगायतका हिमालहरूले मुस्कुराउँदै स्वागत गरिरहेका थिए । जोमसोमसम्म आइपुग्दा दर्जनबढी हिमालहरूको दृश्य देख्न पाइयो ।
जोमसोम एयरपोर्ट झर्नासाथ चिसो हावाले बेस्सरी हानिरहेको थियो । सानो गाउँ चिटिक्क परेका घरहरू, एयरपोर्टको धावनमार्गसम्मको हिउँको खाँद, चारैतिर सेताम्मे हिउँले घेरिएका डाँडा, केहिबेर यो मन प्रकृतिसँग रमिरह्यो । जहाजबाट झर्ने बितिक्कै ‘जोमसोममा स्वागत छ’ लेखिएको बोर्ड राखिएको थियो । एयरपोर्ट गेटबाहिर निस्कने बित्तिकै अत्याधिक चिसो भएको महसुस भयो । ढिला नगरी हामी होटलको खोजिमा लम्कियौँ । एयरपोर्ट छेउमै रहेछ । होटल मुस्ताङ मोनालिसा यहि बस्ने निर्णय गर्यौं । होटल सोचेजस्तै व्यवस्थित नै रहेछ । कोठाको झ्यालबाटै हिमालय दृश्यहरू देख्न सकिन्थ्यो । हिमाली भेकको चिसो मौसमलाई छिचोल्न भोटे चिया पिउँदै यो सुन्दर गहनारूपी प्रकृतिको बयान गर्न मन लाग्यो ।
हिमालको उज्यालोमा झलमल्ल एउटा सुन्दर बस्ती जोमसोम । गण्डकी प्रदेशको मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–४ मा पर्ने जोमसोम नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको धौलागिरी अञ्चलअन्तर्गतको मुस्ताङ जिल्लाको सदरमुकाम पनि हो । गाउँपालिकाको तथ्यांकअनुसार गाउँपालिकको कूल जनसंख्या ३ हजार १८४ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका र म्याग्दी जिल्लासम्म रहेको छ ।
करिब २८ सय मिटरको उचाइमा रहेको जोमसोम पर्यटकीय क्षेत्रका रूपमा परिचित छ । यहाँबाट दक्षिणी भेकमा पर्ने धौलागिरी र निलगिरी हिमालको दृश्य राम्रोसँग देखिन्छ । मुस्कुराइरहेका धौलागिरी र निलगिरीले यहाँ आउने जो कोही पनि लोभिन पुग्छन् । मिरमिरमा तारा झरेँ सँगै सुन्दर हिमालयन दृश्य नियाल्दै बिहानीपखलाई मनैदेखि स्वागत गर्न पाउँदा साच्चिकै आनन्द मिल्दो रहेछ ।
जोमसोममा ढुंगामाथि माटो र टिनका छाना भएका चिटिक्क घर । ती घरमाथि जमेको हिउँ । चौर जस्तै सेताम्मे परेको बस्ती, घामको सुनौलो किरणसँगै कालीगण्डकी सुसाईरहेको मधुर आवाज ओहो क्या आनन्द ! क्षेत्री, गुरूङ, शेर्पा र भोटे समुदायको बसोबास क्षेत्र हो जोमसोम । शान्त वातावरण हावाको सुइँको बाहेक अरू आवाज छैन । सुनसान जोमसोम होहल्ला छैन । नेपाली सिनेमा हेर्दा कागबेनी, कालीगण्डकीको त्यो बगर अनि मनमोहक हिमाली दृश्य हेरेर सोच्थें, त्यस्तो ठाउँमा म कहिले पुगुँला ?
प्रकृति र आफ्नै विविध स्थानीय संस्कृतिको संगम जोमसोम सुन्दर मात्रै होइन आकर्षक पनि छ । वरिपरि अग्ला डाँडा र फेदीबाट कालिगण्डकी नदी बग्छिन् । जोमसोमबाट धौलागिरी र निलगिरी छर्लङ्ग देख्न सकिन्छ । उ सो त हिमालपारीको जिल्ला मुस्ताङ आफैँमा परिचित छ । जसको सिरानीमा हिमाल मुस्कुराउँछन् । फेदीमा कालीगण्डकी बग्छीन् यही कालीगण्डकी हो नेपालमा अन्य नदीमा नपाइने शालिग्राम यहाँ पाइन्छ । जोमसोममा बसेर यो सुन्दर दृश्यमा रमाउँदा मनैदेखि आनन्द मिल्छ ।
जोमसोम पुगेको पनि आधादिन बितिसकेछ । यहाँको सुन्दर प्रकृतिसँग कति छिट्टै घुलमिल भएछु पत्तै भएन । जोमसोम बजार, कालीगण्डकी छेउमा रहेका बस्तीहरू नियाल्दा निल्याल्दै साँझ परिसकेछ । अब भने भोलि बिहानै मुक्तिनाथको दर्शनका लागि निस्कने प्रणका साथ हामी सुत्ने निर्णयमा पुग्यौंँ ।
भोलिपल्ट बिहानै उठेर गाडीको बन्दोबस्त गरेर मुक्तिनाथको यात्रामा लाग्यौं । कागबेनीमा पुगेर यहाँको सुन्दर दृश्य अवलोकन गर्दै जोमसोमबाट करिब साढे १ घण्टा पछि मुक्तिनाथ पुगियो । सडक बाहेक छेउछाउ र चारैतिर हिउँ मात्रै थियो । हरियाली कतै पनि देख्न पाइएन । बाक्लो हिउँमाथि फोटो खिच्ने मानिसहरूको भिड निकै रहेछ । केही समय हामी त्यही भीडमा सामेल हुँदै हिउँ खेल्यौँ ।
आन्तरिक पर्यटकले यतिबेला यो क्षेत्र भरिभराउ भएको छ । हिउँ पग्लने सिजन भएर होला मान्छेहरूको यतिधेरै भीड छ । कागबेनीबाट मुक्तिनाथ तर्फ उकालोमा चिटिक्क परेको कालोपत्रे सडक, यताउती सेताम्मे हिउँ, बिहानीपखमा उदाएको त्यो सुर्यको कलिलो किरण कति आनन्द, कति मिठासपन । यी पलहरू अविस्मरणीय र सम्झना लायक बन्न पुगे ।
मनमा आनन्दका गुच्छाहरू फक्रीरहेका थिए । हामी मुक्तिनाथ गाउँ (मुक्तिनाथ भिलेज)मा पुगिसकेका थियौँ । यहाँ त झन घरवरिपरी नै बाक्लो हिउँ रहेछ । घरको ढोकासम्मको हिउँ हटाउन तल्लीन थिए, त्यहाँका बासिन्दाहरू ।
गाडी यहीँ गाउँमै रोकियो । हामी अब मुख्य मुक्तिनाथको मन्दिर द्वार तर्फको उकालो सिडिमा चढ्यौँ । बिहानैपख भएर होला भक्तजन, तिर्थालुहरूको त्यति भिड थिएन ।
यो मन्दिर हिन्दू तथा बौद्धमार्गीहरूको महत्वपूर्ण तिर्थस्थल हो । हिमालपारीको जिल्ला मुस्ताङमा अवस्थित यो मन्दिर समुद्र सतहदेखि ३ हजार ७१० मीटरको उचाईमा रहेको छ । हिन्दूहरूले मुक्ति क्षेत्र र बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा भन्दछन् । पवित्र स्थलमा १०८ वटा ढुङ्गाले बनाएको गाइको मुखबाट निक्लीएका धाराहरू छन् । जसबाट पवित्र जल बगिरहेको हुन्छ भन्ने जनविश्वास छ । ती सबै धाराहरूमा साँढेका मुखाकृति रहेका छन् । यी धारा राजा मुकुन्द सेनले बनाएका हुन् । मन्दिरको ठीक अगाडि दुई वटा पोखरी कुण्ड छन् । एकतर्फी धर्म कुण्ड र अर्कोतर्फी पाप कुण्ड छ । बडा दसैंँ र चैत्र दसैंँमा यहाँ मेला पनि लाग्ने गर्छ ।
हिन्दु धार्मिक मान्यताअनुसार मुक्तिनाथ यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति तथा मोक्ष प्राप्त हुन्छ । मुक्तिनाथको यात्रा जटिल रहेको छ । तर पनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी तिर्थ गर्नका लागि यहाँ आउने गर्दछन् । यो मन्दिर हिन्दु धर्मको दुर्गम तिर्थस्थलमा समेत पर्दछ । करिब ३८ सय हाराहारीको उचाईमा रहेको हुँदा यसलाई बादलमाथिको मन्दिर पनि भन्ने गरिन्छ । जहाँ सुन्दर प्राकृतिक दृश्वालोकन गर्दै मुक्तिनाथ पुग्दा छुट्टै विश्वमा पुगेको आभाष त हुन्छ नै । गाडीमा यात्रा गर्ने हो भने, अर्कोतिर विश्वकै गहिरो खोँच कालीगण्डकीको किनारै किनार बेनी, घाँसा, मार्फा, जोमसोम कागवेनी हुँदै मुक्तिनाथसम्मको यात्रामा आफ्नै लयमा मुस्कुराएका हिमालहरू, सुन्दर गाउँहरू, स्याउ बगैंचा, स्थानीय उत्पादनका कपडाहरू, हिमाली भेकम्म पाइने जडिबुटी धोबिसल्लोका रूख र घाँस नभएका अग्ला र ठूल–ठूला पहाडहरू देख्दा त झन मनै फुरूङ्ग हुन्छ ।
मुक्तिनाथ मन्दिर वरपर हिउँले ढाकिएको छ । यहाँका स्थानीय बासिन्दाका अनुसार यस वर्ष हिउँ बाक्लो मात्रामा परेको छ । उपल्लो कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा अहिले बाक्लो हिउँ रहेको छ । सेताम्म्मे हिँउमा जाडोले कठ्याङ्ग्रीदै भएपनि हिउँखेलेर भरपुर रमाइलो लिइरहेका आन्तरिक पर्यटकहरू छुट्टै विश्वमा प्रवेश गरेको अनुभव सुनाउँछन् ।
मैले सुनेको थिएँ मुक्तिनाथ पुगेपछि आफ्नो इच्छा पूरा भएको अनुभूति हुन्छ । तर, त्यो अनुभुती आफैंमा पाएँ र अनुभव पनि बटुल्ने अवसर मिल्यो । मुक्तिनाथ मन्दिरको नजिकै ज्वालादेवीको मन्दिर, गुम्बाहरू, शिवालय र छेउमा १०८ वटा धारा छन् । जहाँ नुहाएमा पुण्य कमाइन्छ भन्ने जनविश्वास रहेको छ । त्यस्तै कागबेनी पनि धार्मिकरूपमा महत्वपूर्ण ठाउँ हो । यहाँ दशैं अगाडि सुरू हुने सोह्र श्राद्ध गर्न आउनेहरू धेरै हुन्छन् । विशेष त यो ठाउँ पितृको श्राद्वका लागि प्रशिद्ध मानिन्छ । कालिगण्डकी किनारमा रहेको कागवेनीमा मज्जाले आनन्द लिन सकिन्छ ।
स्थानीयका अनुसार वि.संं. २०६२ सालको मंसिर महिनामा मुक्तिनाथका पिठाधिश्वर कमलनयन आचार्यलगायत लाखौं नेपाली भक्तजनहरूले नेपाललाई तत्कालिन दन्द्वबाट मुक्ति मिलोस् भनेर मुक्तिनाथका १०८ शालिग्रामलाई भारतको प्रसिद्ध तिर्थस्थल हरिद्वारमा लगेर गंगाको तटमा सवालाख गाइको दूधले नुहाएर सवा करोड बत्ती बाली पूजा गरिएको थियो । मुक्तिनाथको पूजापछी लामो समयसम्म चलेको गृहयुद्धबाट नेपालले मुक्ति पाएको थियो ।
खुसी पोखिएको क्षण घुमेर कहिल्यै नथाकिने ठाउँ जोमसोम छुट्नै लाग्यो । खुसीका भावहरू पोखिए । खुशी हुनलाई ठूलो मन चाहिँदो रहेछ । मनमा खुशीका पोकाहरू सजाएर हिमालपारिको जिल्ला मुस्ताङलाई ओझेल पार्दै पोखराको लागि यात्रा तय भयो । मध्यान्हको १२ बजे जोमसोमबाट स्कार्पियो रिजर्भ गरेर पोखरा तर्फ फर्कियौँ । ठाउँ–ठाउँमा देखिने सुन्दर दृश्यको मोहले नै हामी हवाई यात्रा छोडी गाडीमा फर्कने निर्णयमा पुग्यौं । अनि अनुशासित ढंगले आफ्नै सुरमा मुस्कुराई रहेको जोमसोम हेर्दाहेर्दै ओझेलमा पर्यो ।
जोमसोमदेखि मार्फा, लेते, घाँसासम्मको सडक एकदमै राम्रो रहेछ । घाँसा गाउँमा प्रहरी चेकपोस्टमा गाडी इन्ट्री गरेर नजिकैको होटलमा खाजा खाने निर्णय भयो । वारीपारी अग्ला हिमाली डाँडाको बिचमा चिटिक्क परेको घाँसा गाउँबाट चिया, चाउचाउ खाएर निस्कियौँ । घुम्दाघुम्दै जोमसोमको प्रकृतिसँग मोहनी लागेछ । नबोली चुपचाप मुस्कुराईरहेका निलगिरी, धौलागिरी र नरिसाई बग्ने कालीगण्डकीले कतिबेला मोहनी लगाएछन पत्तै भएन । मनले हिमालपारिको यो बस्ती छोड्नै मानेको थिएन ।
“यात्रामा धेरैले सोध्छन् खुसी कहाँ मिल्छ ? खुसी कसरी मिल्छ ?” मेरो सधैं एउटै जवाफ, “खुसी घुमफिरमा मिल्छ । प्रकृतिसँगको अपार प्रेम होस् । या जिवजन्तु र हिमाल मुस्कुराउँदा होस् जब म घुमफिरमा निस्कन्छु खुशी त्यही पाउँछु ।”
घाँसा मुस्ताङ जिल्लाको अन्तिम बिन्दु थियो । अब हामी म्यादी जिल्ला प्रवेश गर्दै थियौँ । मुस्ताङका लोभलाग्दा दृश्यहरू आँखाबाट ओझेल पर्दै गए । निलगिरी र धौलागिरी पनि विस्तारै टाढीदै थिए । दिउँसोको साढे २ बजेको थियो । हामी म्याग्दी र मुस्ताङको सिमाना नजिक काभ्रे भिरमा पुग्यौँ । यहाँ भने सडक निर्माणका कारण बाटो बन्द थियो । केही घण्टा यही भिरमा कुर्नुपर्यो । साँझको समय हुनैलाग्दा बाटो खुलेको जानकारी पछि हामी म्याग्दी जिल्ला प्रवेश गर्यौँ । सडक निर्माणको काम भैरहेकोले यात्रामा ढिलाई भएको थियो । केही समय पछि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने मनोरम रूप्से झरणामा रमाउँदै पोखरा तर्फ लाग्यौँ ।
यहाँसम्मको बाटो एकदमै साँघुरो र खतरायुक्त पनि थियो । अग्लो पहाड माथिबाट ढुंगा खस्ने पिर, दाहिनेतिर बगिरहेको कालीगण्डकी नदीमा खसिन्छ्की भन्ने त्रासकै बीच यात्रा सफल भयो । मनमा खुम्चिएका जति त्रासहरूलाई सुन्दर र मनमोहक हिमालहरूको हाँसो अनि रूप्से झरणाको शिथिलताले सबै डर हराइदियो ।
प्रायः ठाउँ–ठाउँमा कालीगण्डकी करिडोरअन्तर्गत सडक निर्माणको काम भैरहेको रहेछ । कतै रोकिदै अगाडि बढ्दै हामी करिब साँझको ९ बजे पोखरामा पुग्यौं । दिनभरको कठिनपुर्ण यात्राका कारण थकान पनि उत्तिकै लागेको थियो । मनमा शान्ति, हर्ष र आनन्द दिने मुस्ताङको सम्झना मनैमा सजाउँदै मुस्ताङ यात्राका यादहरू मनमा कैद गरियो । जिन्दगीमा अझैँ धेरै यात्रा गर्नुछ । धेरै टाढा पुग्नुछ ।
यसरी जान सकिन्छ मुक्तिनाथ
पोखरादेखि हवाई यात्रामा जाने हो भने २५ मिनेटमा जोमसोम पुगिन्छ । जोमसोमदेखि मुक्तिनाथको लागि गाडीमा जानुपर्छ । गाडीबाट जाने हो भने पोखराको लेकसाइडदेखि हेम्जा हुँदै मुस्ताङ तर्फको यात्रा तय गर्न सकिन्छ । पोखराको साइडसिन हेर्दै माछापुच्छ्रे, अन्नपूर्ण हिमालको दृश्य नियाल्दै ६० किलोमिटर हिडेपछि पर्वतको कुश्मा पुगिन्छ ।
कुश्माको मालढुंगाबाट बाग्लुङ जाने बाटो छोडेर हामी बेनी तर्फ मोडिनुपर्छ । त्यहाँबाट २८ किमि अर्थात् डेढ घन्टाको दूरीमा बेनी रहेको छ । जलजला, बेनी हुँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने रूप्से झरणाको अवलोकन गर्दै बेनीबाट मुक्तिनाथसम्म करिब १ सय किमिको दूरी पारगरेपछि करिब ६ घण्टामा मुक्तिनाथ पुगिन्छ ।
पोखरादेखि बिहान ७ बजे मुक्तिनाथको लागि बस छुट्छ । भने जिपहरू पनि रिजर्भ गरेर जान सकिन्छ । पोखरादेखि कतै नघुमेर सिधैँ यात्रा गर्ने हो भने बिहान ७ बजे हिँडेपछी बेलुकासम्म मुक्तिनाथ पुग्न सकिन्छ । त्यो तपार्इँमा भरपर्छ । कसरी जाने, बिचबाटोमा पर्ने पर्यटकीय स्थलहरूको अवलोकन गर्ने कि नगर्ने ?
– ओम आचार्य, अर्घाखाँची
आऊ !
नङ्ग्र खियाऊ
धर्म नछाडी
कम्तिमा यौटा पेट भर
र छाडेर जाऊ
यही हो रितभाँत ।
आऊ !
पसिना बगाऊ
साँध किलो ख्याल गर
सक्छौ पौरख देखाऊ एक हलको
सक्दैनौ भने
कम्तिमा मेलो छाड्नेको सूचीमा नाम दर्ज नगराऊ
यही हो सन्देश ।
हेर !
श्रृष्टि थाम्न
चराले पनि गुँड लगाउँछ
बचेरा हुर्काउँछ खाइ नखाइ गरेर
तर नजरमा कहिल्यै
देखिएन टाँसेको स्वार्थ
चेत्नको लागि यो भन्दा ठूलो शिक्षा के हुन सक्छ ?
स्वार्थ !
न छोप देखाऊ
कम्तिमा नापो थाहा पाउन
सभ्यतालाई सघाऊ,
कतिलाई लाग्ला ठीक त्यही हो
र संसार त्यस्तै छ
जस्तो उसको आँखाको नानीले तस्वीर खिच्छ ।
अलिकति भएपनि
हेक्का राख
जो कसैले केही न केही लिएर आएको हुन्छ
उर्जाको अंश
जगाउन सक्छ सक्दैन वंश
भर पर्छ उसको नियत र मिहनतमा
प्रकृतिले मात्र सघाउँछ
लोकले भन्ने यत्ति हो ।
– लालीमाया थापा मगर, प्यूठान
१.
न त लुक्न सके, न प्रत्यक्ष देखियो बोल्नै सकिन ।
यो परिस्थिति पनि कस्तो भइदियो बोल्नै सकिन ।
खाली आशा मात्र देखाए मैले दुनियाँको अगाडी
भन्छु भन्दा भन्दै मुखमै अड्कियो बोल्नै सकिन ।।
२.
सम्झिन्छु म त बालापन गुराँस फुल्दा खेरी ।
त्यसै रमाइलो हुन्छ वन गुराँस फुल्दा खेरी ।
जिन्दगीलाई एक तरिकाले नियालेर हेर्दा
साँच्चै खुसी हुन्छ मन गुराँस फुल्दा खेरी ।।
३.
खै के बनाउ जिउने आधार भनिदेउ ।
कहाँ भेटिएला र खुसीको संसार भनिदेउ ।
जति नै खोजे पनि नभेटेपछि हैरान परेर
हेरे मैले तिमीलाई के छ विचार भनिदेउ ।।
४.
बोकेर झोला अनि छोडेर सहर फर्किनै पर्छ ।
बनाई कठोर मन सम्झेर सकभर फर्किनै पर्छ ।
सहर गएर प्यारो गाउँ बिर्सिनेहरू याद राख
आखिरिमा एकदिन आफ्नै गाउँघर फर्किनै पर्छ ।
५.
नचाहिने कुरा मनबाट निकाल्न सक्यौं भने ।
सही ठाउँमा कदमहरू चाल्न सक्यौं भने ।
एक्लै पनि जीवन सुन्दर लाग्ने छ सुन माया
यदी मनलाई सम्झाएर सम्हाल्न सक्यौं भने ।
भक्तपुर : भक्तपुरमा नेवारी सांस्कृतिक बाजा पछिमाको प्रतियोगिता हुने भएको छ । सांस्कृतिक विधाको संरक्षण गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाले यही फागुन २७ गते पछिमा बाजा प्रतियोगिता गर्न लागेको हो । प्रतियोगिता दरबारस्क्वायरमा हुनेछ ।
प्रतियोगितामा प्रथम हुने समूहले रु २० हजारका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान, बाँसुरी चार थान तथा द्धितीय हुनेले रु १५ हजारका साथै पछिमा एक थान, सिछ्या एक थान, तँ एक थान पुरस्कार प्राप्त गर्नेछ ।
त्यसैगरी तृतीय हुनेले रु १० हजार, पछिमा एक थान, सिछ्या एक थान तथा सान्त्वना पुरस्कार रु पाँच हजारका साथै पछिमा एक थान र सहभागी सबै टोलीलाई पछिमा बाजा एक/एक थान प्रदान गरिने वडा नं ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले बताए ।
नगर प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक प्रतियोगिताले भक्तपुरको मौलिक बाजागाजालाई संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई यसतर्फ आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेल्ने भएकाले पछिमा बाजा प्रतियोगिता गर्न लागेको ले बताए ।
– खेमलाल पहारी
चैत्र महिनाको दोश्रो साता मोतीराम मा.वि.मा वार्षिक परीक्षा चलिरहेको थियो । निरीक्षक नपरेका शिक्षक शिक्षिकाहरु विद्यालयको चौतारोमा बसेर अघिल्ला दिनका उत्तर पुस्तिकाहरू परिक्षण गर्दै थिए । एकजना मास्टर साबले फ्यात्त कपिहरु भूँईमा फ्यालेर आफ्नो अगाडि रहेको गोरखापत्र उठाएर पढ्न थाले । “बम्बैको एउटा कोठीबाट आठ जना नेपाली चेलीहरुको सकुशल उद्धार, उनीहरुको उद्धार भारत–नेपाल मैत्री संघको सहयोगमा भई हाल विरगञ्जस्थित माइती नेपालको सरणमा राखिएको छ । सबै चेलीहरु हालसम्म परिवारसँग सम्पर्क बिहीन छन् । उनीहरूको पुनरोत्थानको लागि माइती नेपालद्वारा विभिन्न सरकारी गैह्रसरकारी संघ संस्थाहरुसंग सहयोगको अपिल गरिएको छ ।”
“ए फोटोसमेत दिएको रैछ गाँठे । हेर्नुस् हेर्नुस् पौडेल सर, चिनेको क्वै छ कि ?” एउटा बोले ।
“हा... के हेर्नु ? पत्रिकैबाट एड्सका जीवाणु सरे भने, होसियार है माड्साब”, अर्काले जिस्क्याए ।
पत्रिका भूईंमा खस्यो । पानी लिएर आएको पियनले निहुरिएर त्यसलाई टिपे । एकक्षण घोरिएर हेरेपछि उनले अत्तालिएर भने, “नपढेकालाई काला–अक्षर भैँसी बराबर भन्छन् तर, मैले तस्बिर चैँ पढेँ है, ल हेर्नुस् त यी यहाँ”, उनले घुर्मैला तस्बिरको एक छेउमा हातको चोरी औंला फिराउँदै भने, “यीनी हाम्रै माझगाउँका काहिँला बाकी हराएकी नातिनी ठुली हैनन् त ?”
को ‘ठुली’ भन्दै एकजनाले पत्रिका हातमा लिए ।
“बिपना क्या” भन्दै अर्काले झुकेर हेरे ।
एकक्षण “ए, हो हो !, हैन होला !, खै खै !” जस्ता ध्वनि मात्र सुनिए । वरपर रहेका ठुलीनानी र काहिँलाबाको परिवारलाई चिन्ने र नचिन्ने सबैले पत्रिकाको तस्बिर हेरे र मिश्रीत प्रतिक्रिया दिए । गोरखापत्रको एक कुनामा एक झिल्को आगो सल्काएपछि पियन गायब भए । विस्तारै पत्रिकाको आगो सल्केर चौतारो दन्दनी बल्न थाल्यो । एकैक्षणमा चैत्रको हावासँगै दन्कन सुरु गरेको आगोले विद्यालयको कार्यालय, चीयाघर, साझाघर, पुस्तक पसल, सार्वजनिक फोनघर, कुटानी पिसानी मिल, किराना पसल आदि हुँदै पुरै गाउँनै खरानी बनायो ।
यता स्वाँ स्वाँ फ्वाँ फ्वाँ गर्दै काहिँला बा–आमा र उनका दुई छोराहरु पियनको पछि पछि डढेलो निभाउन आए । आगो गोरखापत्रबाटै सल्केको थियो तर, त्यो अझै डढेको थिएन तर त्यसको आगोको रापले बुढा बुढी तत्कालै मुर्छा परे । छोराहरु पुर्पुरोमा हात राखेर रुन थाले भने अरुहरु नजिकै गाँडाघेर लागेर काहिँला बाको भाग्यमा ग्रहण लागेको टुलुटुलु हेर्न थाले ।
कसैले प्वाक्क बोल्यो, “के को उद्धार हुनु, उद्धार सुद्धार केही पनि होइन ! आजसम्म बम्बैमा बेचिएपछि कसैले कसैको उद्धार गरेको छ ? नेपालको झ्यालखाना हो र बम्बैको कोठी भित्ता फोरेर, सुरुङ्ग खनेर भाग्नलाई ? एक होइन दुई होइन; आठ/आठ जना फिर्ता आउने भनेको चानचुने कुरा हो ? सल्कियो होला एड्स सेड्स अनि दुधमा परेको माखो, पÞm्याल्दीई होली कोठीकी बाईले । यो पुनरोत्थान भनेको सरकारले विदेशीसँग भिक्षा माग्ने तरिका मात्र हो । नाकको टुप्पामा लाज नभएकाहरुले अब एड्स रोगीलाई गाउँमै ल्याउने होलान् अनि त कतिलाई पो शीकार बनाउने हो बेसरमले । बरु घर आउनु भन्दा त उतै हत्ते गरेर मरेकै बेश ।” कोही केहि बोलेनन् ।
दिनहरू फेरिँदै गएसँगै माझगाउँलेहरूमा काहिँलाबाको परिवारलाई हेर्ने नजरपनि फेरिए । बिस्तारै पानी–पँधेरो, घाँस–दाउरा, जात्रा–पर्ब, भारा–पर्म आदि सामाजिक कार्यमा काहिँलाबाको सम्पुूर्ण खलक एक्ल्याइन थालियो । सबै आफन्तहरूले आँखा चिम्लिए । कान्छीले पनि घटना घटेकै दिन पछिका बाँकी परीक्षामा सामेल हुन सकिनन् । उनीहरुले धेरै पटक यो विपत्ति थाम्न सान्नानीलाई सम्पर्क गर्न खोजे तर, कसैको केही जोर चलेन ।
भित्तामा टाँगेको भित्ते पात्रो फेर्ने दिन आउनै लागेको थियो तर, काहिँलाबाको घरमा नयाँ पात्रो किन्न जाने अदम्य साहस कसैको थिएन । अझै पनि गाँठिकुरा पत्ता लागेको थिएन र मूल सडकको पुलिस चौकीमा पुगेर कुरा बुझ्ने वा फिराद गर्ने हिम्मत पनि परिवारले जुटाउन सकेको थिएन । तर एकदिन मध्याँन्हमा काहिँला बा तल बेँसीमा गहुँका नलमा आगो लगाउँदै थिए । परबाट दुइजना प्रहरीका जवान उनी भएतिर आए । एउटा नजानिँदो डरले बुढाको छाती ढक्क फुल्यो । उनिहरु नजिकै आएर उनकै नाम लिएर चिन्नुहुन्छ भनेर सोधे । बुढाले काहिँला बा भन्ने माझगाउँको द्रोण प्रसाद शर्मा भनेको मैँ हुँ भने । एउटा जवानले खल्तीबाट हत्केला भरिको नारी तस्बिर निकालेर यीनलाई चिन्नुहुन्छ ? भन्दा बुढाका आँखा चम्किए र तुरुन्तै निधारमा गाँठा परे । बिचरी ठुली ! कालो लामो केश ठुटे गरि काटेर भड्डु जस्तो देखिएको, शरीरका कपडा उतारेर पाइन्ट र टि–शर्ट लगाइएकी, हात्तीका दाह्रा जस्ता सुन्दर डोला पाखुरामा ठाउँ ठाउँमा काला काला दाग लागेका, पोहर सालसम्म भर्खरै फक्रेको गुलाब जस्तो अनुहारको चमक आज बमको छर्राले उडाएको जस्तो थियो । काहिँलाबाका आँखा भरिएर आए, गला अवरुद्ध भयो । उनले दुवै हातले आफ्नो कपाल समाउँदै तस्बीर आफ्नै नातिनी ठुलीको भएको, उनले गत वर्ष कुनै नौलो मान्छेसँग भागेर प्रेम विवाह गरेकी भन्ने सुनेको तर, आजसम्म कुनै खबर नआएको बताएपछि पुलिस जवानले उनी भेटिएको र कहाँ छिन् भन्ने कुरा बताई दिए । उनको कुरा पत्रिकाको कुरासँग पुरै मेल खायो । काहिँलाबा एकपटक डाँको छोडेर रोए तर, पत्रिकामा देखेको कुरा भन्न सकेनन् । “लौ परिवारसँग सल्लाह गरेर भरे भोलि तल चौकीमा उजुर गर्न आउनु होला” भनेर ती जवानले बुढालाई एउटा पत्र थमाए अनि त्यस्तै अर्को कागजमा बुढाको सहिछाप लिएर चौकितिरै फर्के । बुढा साँझपख घर पुगे ।
घरमा छोरा–बुहारीसँग ठुलीको बारेमा पुलिसले बताएको कुरामा लामो छलफल भयो । ठुलीलाई घर ल्याउने वा उतै छोड्ने भन्ने कुरामा त झन्डै झन्डै हात हालाहालको स्थिति देखा पर्यो । जेठाले सुटुक्क ल्याएर भित्रै राख्ने कुरामा जोड दिए भने कान्छा कान्छीले कान्छीनानी र परिवारका अरु सन्तानको भविष्यलाई ख्याल गरेर उसलाई बिर्सनु बेश हुने कुरामा जोड दिए । ठुली बुहारीले ठुली नानीलाई सहरमै डेरा लिएर कुनै इलम सिक्न लगाउने र पछि उनको स्वास्थ्य परीक्षणको प्रमाण आएपछि मात्र के गर्ने भन्ने कुराको निर्णय लिनु उत्तम ठानिन् । “हाम्लाई सोधेर पोइल गइथी र अहिले त्यसको लागि हामी सबै गाउँ छिमेकीबाट एक्लिनु पर्ने ? उतै मर्न दिए हुन्छ”, कान्छी बुहारीले के भन्न भ्याएकी थिइन्, “दिन दशा सँधैं हामीलाई मात्र लाग्छ ? के तँलाई कहिल्यै रुनु पर्दैन ?” भनेर बिमलाले झन्डै देउरानीका जगल्टा केलाइनन् । त्यसपछि उनीहरुको बसाइ बिना निष्कर्ष टुंगियो ।
आफ्नो कोखको घाउ चर्किंदा आफैलाई मात्र दुख्दो रहेछ । बिमलाको कोखको घाउ नराम्ररी बल्झिएको थियो । त्यसको उपचारमा उनी आफैँ तातेर भोलिपल्ट सबेरै हिडिन् । मूल सडकको प्रहरी चौकीमा आवश्यक कुरा बुझेर उनी सिधै विरगञ्ज जाने बसमा चढीन् ।
विरगञ्जस्थित माइती नेपालको कार्यालयमा पुलिस र अधिकारकर्मीहरुको एक सय आठ यक्ष प्रश्नका जवाफ दिँदा दिँदा, रुँदा कराउँदा र चेलीबेटी बेचबिखनविरुद्ध जनचेतना मुलक तालिम लिँदा, ठुलीको रगत परीक्षणको नतीजा कुर्दा एकहप्ता यसै लाग्यो । पैताला मुनिको जमिन भासिने गरि ठुलीको स्वास्थ्य परीक्षाको नतीजा आयो । पहिरोसँगै एक वर्ष देखि बिछोडिएका माउ र चल्लाको भेट गराईयो । घर छोडेको आठौँ दिनको राति बाह्र एक बजे दुइटा काला काला मानव आकृति मूल सडक चौकी, साल्टारी खेत, गौंडो र ठुलो ढुंगा टेक्दै काहिँलाबाको आँगनमा आएर अडिए ।
“तँ खोपीमा बस्चेस् कि गोठमा ?” “भो भो खोपीमै बस् । सँधै तीन बजे उठेर नुहाई धुवाई गर्नु त्यसपछि खोपीमै बस्नु । तेरो थुतुनो गाउँको कसैले पनि नदेखोस् । तँ घर आएको कुरो कसैले चाल नपाओस् । “बिमलाले यति भनेपछि दुबैजना पिँढीको खोपीमा पसे ।
एकदिन ठुलीले झोला धुँदा एउटा छोरा मान्छेको तस्बिर धारामा छोडिछ ।
“ए राँडी, तलाईं यो फोटो कसले दियो, हँ ? यो फोटो काहाँ पाईस्, ए नकचरी ?” बिमला च्याठीईन, ठुली केही बोलिन । दिउँसो एउटा रोटी खोपीको ढोकाभित्र हुर्याउँदै बिमलाले बिहानको तस्बीरको बारेमा फेरि सोधिन् । “म कोठी छोडेर हिँड्नु अगाडि कोठीको पालेले दिएको; यो तिम्रो ज्वाईं हो”, ठुलीले रुँदै भनी ।
“हाम्लाई पनि थाछ ! तर ज्वाईं त्यहाँ कसरी पुग्नुभो अनि किन दिने पालेले तँलाई वहाँको फोटो ?”
“मलाई बेच्ने गिरोहको नाइके उही रहेछ आमा ! मेरो श्रीमान्, तिम्रो ज्वाईं !”
बिमला दुवै हातले कान थुन्दै थ्याच्च भुईमा थेचारिइन् र रुँदै भनिन्, “के यो तेरो श्रीमान् हो ?”
“भर्खरै भनेकी हैनौ, आमा, हाम्लाई पनि थाछ भनेर ?” ठुलीले प्रतिप्रश्न गरिन् । “हो त यो मेरै लोग्ने तर, हिँड्ने बेलामा थाहा पाएँ दलालको नाईके रहेछ, साला रण्डो ! एकपटक मात्र भेट्न पाए मेरो शरीरको सबै रगत त्यसैलाई सुइ लगाएर मर्थेँ ।”
“मेरी छोरी” भनेर बिमलाले ठुलीलाई झ्याप्पै अंगालो हालेर रोइन् । एकक्षणपछि उनी अघिको तस्बिर लिएर बाहिरिइन् र मझेरीमा भित्तामा टाउको ठोकेर धेरैबेर रोइ रहिन् । आमाले किन यसो गर्दैछिन्, ठुलीले केही बुझिनन् ।
–अम्बिका धिताल, काभ्रेपलाञ्चोक
“आज पनि मदनको घरमा झगडा परेछ । बुढीचाहिँ रुँदै घरबाट निस्किएर गई रे ।” सुमनले बुढीलाई सुनाए ।
“किन सधैँ कलह मात्र हुन्छ तिनीहरुको घरमा ? त्यति कलिला बालबच्चा छन् ? बुढी नभएपछि घरको सारा काम मदनले कसरी भ्याउँछन् ? कता गइन् होली बुढी ? दुःख, पीडा र मनमा चोट नपरी त कसैले घर छोडेर हिँड्दैन त के भएछ ?” रुपाले जिज्ञासा राखिन् । सुमनले भने, “दुबै आगो आगो भएर हो, एउटा आगो अर्को पानी भएको भए किन यो अवस्था आउँथ्यो र !”
कुरा गर्दागर्दै मदन टुप्लुक्क आइपुगे र निन्याउरो मुद्रामा भने, “दाइ घरमा ठाकठुक भयो, बुढी घरमा छैन । सबैले हजुरको परिवारको चर्चा गर्छन् । कति मिलेका बुढाबुढी भन्छन् । कतिखुसी हुनुहुन्छ तपाईहरू दुबैजना ? केहो त्यसको रहस्य ? मेरो त भाग्य नै खोटो हो कि, बुढीलाई कहिल्यै खुसी राख्न सकिएन । आज म तपार्इँहरूबाट त्यो कुरा सिक्न आएको, जुन कुराले हाम्रो परिवार पनि तपाईंको जस्तै हाँसीखुसी रहन सकोस् ।”
मदनको कुरा सुनेर सुमनले भने, “चिन्ता नगर भाइ सब ठिक हुन्छ । भन् आज घरमा खाना कसले बनायो ?”
“कहाँ खाना बनाउनु दाइ त्यही निहुँमा झगडा भयो । म बजार गएर आउँदा बुढी घाँस काटेर आइपुगेकी रहिनछे । मैंले किन भात पकाउन ढिला गरको केटाकेटी भोकाइसके, आफूलाई पनि भोक लागिसक्यो भनेको जवाफ फर्काइहाली । अनि मैले !”
“हो यही नै तेरो ठुलो कमजोरी भयो भाइ ।”
“कसरी कमजोरी हुन्छ ? समयमा खाना नपकाउनु उसकै कमजोरी हो नि ।” मदन भन्दै थिए ।
“हेर् मदन, उसको कुनै कमजोरी छैन । के उसले तैँले जसरी बजारमा गएर नानाथरी गफ ठोक्दै चियाको चुस्की लगाएकी छ र ? बिहान चार बजेदेखि उठेर घरको लिपनपोतन, गाईभैँसी कुँडोपानी सारा काम गरेर घाँस काट्न जाँदा तँ चाहिँ ओछ्यानमा नै चिया पिएर बुढीले ठिक्क पारेको दुधको क्यान झुन्ड्याउँदै बजार गएको तीन घन्टा पछि भात पाकेन भन्दै आउँछस् । बुढीको ठाउँमा आफू बसेर हेर् त कति गाह्रो छ उसलाई ।”
मदनले भन्छन् “अँ...तर त्यो त महिलाले गर्ने काम हो नि ।”
सुमन केही झोँक्किएर बोले, “त्यही साघुँरो सोचले त घरमा किचलो हुन्छ । कहाँ लेखिएको छ, महिलाले मात्र गर्ने भनेर ? त्यस्तो सोच लिने हो भने तँ खुसी हुन सक्दैनस् । हामी त सँगै उठ्छौँ, मिलेर काम गर्छौँ, दुबैको सल्लाह र सहमतिमा निर्णय गर्छौँ, त्यसैले हामी खुसी र सुखी छौँ । अब जे गर्छस् तेरै इच्छा भाइ ।”
Bagbazar Kathmandu
Phone : 014226366, 014228298
Mobile : 9841293261, 9841206411
Email : [email protected]
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2022 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies