२०८२ जेठ ३ गते शनिवार / May 17 , 2025 , Saturday
२०८२ जेठ ३ गते शनिवार
Ads

‘पसिनाको क्यानभास’मा अमूर्त शब्दचित्र

२०८२ जेठ ३ गते ०६:२०
‘पसिनाको क्यानभास’मा अमूर्त शब्दचित्र

-चन्द्र खड्का

केही समयअघि बजारमा आएको एउटा कविता कृति पढेँ । विविध बाध्यताले प्रवासिएकाहरूको पसिनाको गन्ध मन्दमन्द भेटिने अलिक प्रेमिल काव्यशृंखलाझैं लाग्छ यो कृति ।

यस कृतिका सर्जक कवि कृसु क्षेत्री हुन् भने प्रकाशक शिखा बुक्स हो । साहित्यिक लेखनमा निकै सक्रिय देखिने कृसु सामाजिक संजालका माध्यमले अपडेट भइरहन्छन् ।

प्रस्तुत कृतिमा फरक खालका प्रेमका सन्दर्भहरू भेटिन्छन् । कहीँ आत्मिक, कहीँ भौतिकका साथै श्रम र देश अनेक प्रकारका प्रेमका फूलहरू अक्षरमा प्रस्तुत गरेका छन् कविले । उनकी आफ्नै जीवनसंगिनीप्रति भनिए पनि तमाम प्रवासी, सीमान्तकृत, देशको मायाले द्रविभूत मनहरूप्रति समर्पित कृति हो– ‘पसिनाको क्यानभास ।’

अधिकांश छोटा आकारका ६१ थान कविताको संग्रह हो यो । प्रा. डा. लक्ष्मणप्रसाद गौतमको करिब १७ पृष्ठ लामो विश्लेषणात्मक भूमिकाबाट कृति सुरु हुन्छ । कविले पहिलो कवितामा आध्यात्मिक आद्य बिम्ब महादेवलाई सन्दर्भित बनाएका छन् । आफूलाई सृष्टिकै पहिलो प्रेमीको संज्ञा दिँदै सतीदेवीको प्रेममा निर्लिप्त महादेवका रूपमा चित्रण गरेका छन् ।

असभ्य, असंस्कृत, सन्की, पागल प्रेमी आफूलाई पत्नीले गरेको अपार मायाबाट अनौठो आत्मिक शक्ति प्राप्त गरेको ठानेका छन् ।

कुहुँदै झरेका अंगअंगबाट पनि बेपर्वाह प्रेमको अनुपम सुवास अनुभूत गर्ने कविले सृष्टिको पहिलो प्रेमकाव्य रचना गरेको बताएका छन् ।

आकारमा सानो भए तापनि प्रभाव गतिलो देखिन्छ कृतिको दोस्रो कविता ‘रूख र मान्छे’ शीर्षकमा । कल्पनाशीलताको राम्रो नमुना छ यस कवितामा । मूक वस्तु हुनाले नै मान्छेले सिँयालमा बसेर त्यसैको हाँगा छिमल्दै त्यही रूख काट्ने बञ्चराको बिँड बनाउने गरेको व्यंग्य सटीक लाग्छ । कविले आजका मान्छेमा हुने स्वार्थी प्रवृत्तिलाई बिम्बात्मक रूपले कटु सत्य प्रस्ट्याएका छन् । 

कवि कृसु अधिक कवितामा बिम्बात्मक प्रस्तुतिमा रुचि राख्छन् । यस्ता बिम्ब निर्माणमा कतै अलिक दुर्बोध्य र कतै शालीन बन्छन् । ‘विरोधाभास’मा मिथझैं बनेको नांगो शासकको बिम्ब सम्प्रेष्य लाग्दैन तर ‘जुकाको देश’मा सहज, शालीन र भव्य लाग्छ । 

देशलाई खोक्रो बनाउन उद्यत् शासकहरू जुकाझैं ढाडिएर मात्रै छाड्ने गरेको वर्तमान नेपाली समाज दृष्टान्त हो । लगभग त्यही विषयलाई ‘मुर्दा’ शीर्षकको कविताबाट पनि पुष्टि गर्न खोजिएको देखिन्छ ।

संग्रहभित्र अधिक रचना प्रेम विषयक छन् । कवि आफ्नो प्रेम अजर अमर भएको हेर्न चाहन्छन् । आफ्नी प्रेमिका जस्तो अरू कोही नहुन् र सृष्टिकर्ताको हात काटेर उनी जस्तै प्रतिरूप सृष्टि हुनै रोक्न इच्छा प्रकट गर्छन् । 

अतिआलोचनाको विषय बनिरहेको हुन्छ प्रायः भ्यु टावरको सन्दर्भ । यसले समृद्धिको नाममा विकृति थपेको र एक नागरिक जीवनभर संघर्ष गरेर मर्दा संस्कारअनुरूप लास जलाउन दाउरासमेत किन्ने सामथ्र्य नभएकाहरूप्रतिको व्यंग्य ठान्छन् कवि ।

कविमा पुरुष अहं छ तर नारीका अघि नतमस्तक छ । पितृसत्ताका कारण आफू पुरुषको रूप आरूढ हुँदा सायद नारी हृदयमा प्रेमको सागर हुने भएकाले अविजित रहने गरेको स्वीकारेका छन् ।

समानताको नारा रटेर परम्परागत सोच र व्यवहारमा परिवर्तन नगर्नेहरूलाई व्यंग्यको झटारो कस्छन् । ‘म पति’, ‘तिमी पत्नी’ २ फरक शीर्षक भए पनि विषयको चुरो, भन्न खोजेको कुरो एउटै छ ।

कालीगण्डकी सभ्यता हो । पवित्रता र संघर्षको पर्याय हो । हिमालदेखि बग्दै पत्थरलाई शालिग्राम बनाउने कर्मी हो । फराकिलो फाँटबाट गल्छीको गर्भभित्रबाट निस्कँदै मानव मनको मैलो धोएर आफूलाई कालो बनाएर चुपचाप आफ्नै लयमा बगिरहने नियति हो कालीगण्डकी ।

सभ्यता, संस्कृति भुलेर दोहनमा आफूलाई विजयी ठान्ने मानवहरूलाई विकासका नाममा प्रकृतिको विनाश रोक्न ‘कालीगण्डकीको आह्वान’ छ । प्रकृति मानव जातिको रक्षाका लागि हो र यसको संरक्षण हाम्रो उत्तरदायित्वका रूपमा बुझ्न जरुरी देखाइएको छ ।

‘मासिकस्राव’ नियमित प्राकृतिक प्रक्रिया हो । यसलाई रोक्नु वा नबुझ्नु अबोधपनबाहेक केही हुन सक्दैन । आजको जमानामा सुनिता विलियम्स ९ महिना अन्तरिक्षमा बसेर आइसकेकी छन् । तथापि, नेपाली समाजमा छाउपडीमा रहँदा सर्पले टोकेर र हिंस्रक जनावरले घिस्याउन सुतेकै ठाउँमा आइपुगेको समाचार लेख्नु, पढ्नुपर्छ ।

कवि कृसु मासिकस्रावलाई सृष्टि सौन्दर्यको उत्सव मान्न आग्रह गर्छन् । महिलाको अवस्थाका बारेमा कवि कुन्ता शर्माका शब्दलाई सापटी लिएर प्रतिक्रियास्वरूप हिजोको समयमा परिवर्तन आइरहेको दाबी गर्छन् ।

अघिल्लो पुस्तामा यसको अवशेष रहे तापनि वर्तमान समाज समतामूलक बन्दै गएको सन्दर्भ ‘अन्योल’मा व्यक्त गरेका छन् ।

कवि कृसुले कृतिमा उल्लेख्य सन्दर्भ प्रायशः स्वयंलाई विषयवस्तु बनाएका छन् । आफू पुरुष हुनुले विपरीत लिंगीप्रतिको आकर्षण चुम्बकको नियमझैं ठान्छन् ।

‘नयाँ वर्षको प्रतिबद्धता’मा कहिल्यै पूरा नहुने योजनाहरू बुनिने बताउँछन् । परिवारलाई समय दिने, नित्यकर्ममा ध्यान दिने, अन्य स्त्रीमोह त्याग्ने, आफ्ना सबै खराब लत छाड्ने घोषणा आफू विलयन सिद्धान्तको कविले समेत सम्मिलन गर्न नसकेकामा ग्लानिबोध गरेका छन् ।

मूलतः कविले व्यक्तिगत स्वार्थबाट माथि उठ्न नसक्ने आममानिसलाई जागृतिको सन्देश दिन खोजेका छन् ।

कवि कृसु बारम्बार प्रेमको परिभाषा दिन उद्यत् छन् । उनी कहिले मिलनमा भन्दा वियोगमा असली प्रेम भेटिने कुरा गर्छन् । कहिले उक्लनै नसकिने शिखर, अथाह सागर, अनन्त आकाश र स्पर्श गर्न नसकिने प्रेमसँग तुलना गर्छन् ।

वास्तवमा धरतीको एक मात्र अनुत्तरित प्रश्न, अपरिभाषित एवं अपरिमेय वस्तु प्रेम रहेको निष्कर्षमा कृसु पुग्छन् । झन्डै १ दर्जन लामा–छोटा कविताका शीर्षक र विषय सन्दर्भ ‘प्रेम’मा केन्द्रित छन् ।

आफू जन्मे, हुर्केको माटो हरकोहीलाई अविष्मरणीय लाग्छ । कवि कृसुले नेपालको पूर्वी भूगोलको माटोको सुगन्ध खोजेका छन् । ‘एउटा पान्थरे लिम्बू’मा पहिचानको खोजी, विचलन, पुस्तान्तरको सन्दर्भ खोतल्दै विकृतिको चिरफार र नयाँ पिँढीलाई सकारात्मक एवं उत्प्रेरणात्मक सन्देश दिन खोजिएको छ ।

कविले कवितामा आयामेली सन्दर्भ, मुन्धुम, याक्थुङ र सिरिजङ्गा लिपिसँगै हाक्पारे र पालामको जीवन्तता पस्केका छन् । हरेक कुराको अन्त्य हुने भएकाले रूप, बैंस, चर्चा–परिचर्चाको पनि सीमा हुने तथ्यलाई अर्को शीर्षकमा समेटिएको छ ।

समग्रमा, कवि कृसुलाई ‘पसिनाको क्यानभास’मा हेर्दा सर्वाधिक विषय प्रेममा अल्झिएका देखिन्छन् । देश, परदेश, लोकतन्त्र, शासक, कुशासक–प्रशासक, जाति, धर्म, मिथक, श्रमिक र श्रमजीवी, लैंगिकता जस्ता विषय समेटिएका छन् ।

लैंगिकतामा पनि खुलेरै गे–लेस्बियन–ट्रान्सजेन्डर जस्ता एलजीबीटीक्यूका सामयिक सन्दर्भ छुटेका छैनन् । विसंगति र विकृतिका पहाडलाई सुन्दर ढंगले उधिनेका छन्, जसमा चाहे नाबिलकाहरू हुन् वा वृद्धा हजुरआमाहरू बलात्कारका सिकार हुन पुगेका पीडादायी विषयले मथिंगल सलबलाउँछ ।

समाजमा नकारात्मक विषयको खेती गर्नुभन्दा आशावादी जीवनदृष्टि प्रस्तुत गर्न कवि आह्वान गर्छन् ।

६१ थान कविताको संग्रहमा पस्किएका केही कविता अलिक सतही लाग्छन्, जसले कृतिको आकार बढाउनबाहेक विशेष अर्थ राख्दैनन् । तथापि, अधिक कवितामा आएका बिम्ब, मिथकको पुनः सृजना र सामयिक सन्दर्भले पाठकलाई गहिरो छाप र सन्देश सम्प्रेषण गर्न सफल छन् ।

मूलतः ‘मुग्लान’, ‘द्वन्द्व’, ‘बलात्कारी पुरुषका नाममा’, ‘एउटा पान्थरे लिम्बू’ जस्ता कविताहरूको काव्यिक उच्चताले पाठकमा दरिलो छाप छाड्छन् । १० वटा कृति प्रकाशन र उति नै संख्यामा सम्पादन गरेका कृसु दर्जनौं साहित्यिक पुरस्कार र सम्मान पाउनुका साथै प्रबल जनसेवाश्रीले विभूषित भइसकेका छन् ।

रसिक कविको छवि बनाएका उनीबाट गहकिला आकार र फरक स्वादका सिर्जना पाठकका लागि निरन्तर अपेक्षित रहने छन् ।

ADV

सम्बन्धित खबर