-दुर्गा तिवारी राजन
शहरमा घर मात्रको भीड होइन, पानीको पनि भीडभाड हुन्छ ।
चैत–वैशाखको अत्यधिक गर्मी मौसममा पानी पर्ने र शीतलता दिने छाँट देखिँदैन । घुमफिरमा रमाउन र छुट्टी मनाउन निस्के । शहरको व्यस्त ठाउँमा पुग्दा पानीले पानी बोकी पानीलाई नै बेच्नेहरूको दृश्य आँखामा र मन–मस्तिष्कमा पर्यो । पानी बेच्न हिँडेकाहरू निकै असिनपसिन गर्दै प्यासलाई बिर्संदै भीडहरूमा पानी किनिदिन आग्रह गर्दै थिए ।
ओठ–तालु सुकाई तिर्खाले नीलो ओठ पारेको एउटा सुक्न लागेको पानीलाई लगलग काम्दै भीडका पानीहरूमा आफ्नो पानी किनिदिन आग्रह गरेको दृश्य धेरै अगाडिदेखि म पानीले नियालिरहेको थिएँ । विचार उठ्यो आफैंले बेच्ने पानी आफैंले पिउँदा त आफ्नै प्यास मेटिन्छ र शीतल भई जोस आउँछ । म पानी नजिकै त्यो पानी बेच्ने आयो र मलाई पानी किनिदिन आग्रह गर्यो । मैले ‘कति पैसा ?’ भनेर सोधें । ‘३० रुपैयाँ’, उसले भन्यो ।
म पानीले बोतल खोलें । उक्त सुक्न लागेको पानीलाई पिउन भने ।
उसले भन्यो, ‘यो त तपाईंको हो, मैले पिउन सक्दिनँ ।’
तब मैले भनें, तपाईंको पैसा मैले दिइसकें, अब किन आफूलाई सुकाउनुहुन्छ ? पिउनुस् । त्यसपछि मैले पिँऊँला ।’
धेरै आग्रहपछि सुक्न लागेको पानीले आँखाबाट बलिन्द्र आँसु झार्दै पनि पियो । म पानीले त्यो सुक्न लागेको पानीको अनुहार हेर्दै बोतलको पानी घटघट पिएँ । त्यो पानीले म पानीलाई हेर्दै भन्यो, ‘ताजा हुनेहरूले सुक्न लागेकाको मर्का, पिर बुझ्न सके पो ताजा, नत्र केको ताजा ?’
त्यो पानीको यस्तो कुराले म पानीलाई उहिलेको भनाइको झल्को आयो– बाह्र छोरा, तेह्र नाति, बूढाको धोक्रो काँधैमाथि ।